देश/प्रदेश

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे दुई गैँडा

By खबरहब

November 17, 2023

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट साढे ३ किलोमिटर किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी ६ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन् । दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन् । 

६ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को खाल्डो तुलनात्मकरूपमा केही पुरानो देखिएको सूचना अधिकारी तिवारीले जानकारी दिए । 

सानो गैँडा अन्दाजी तीन दिन पहिले र ठूलो गैँडालाई १० दिन जति पहिला खाल्डोमा पारिएको अनुमान गरिएको छ । बिहीबार साँझमात्र घटनाको विवरण आएलगत्तै अनुसन्धान थालिएको तिवारीको  भनाइ छ । 

यस वर्ष निकुञ्जमा चोरी–सिकारीबाट पहिलोपटक गैँडा मरेका हुन् । प्राकृतिक कारणले पाँचवटा गैँडा मरेका छन् । गत वर्ष तस्करले अमलटारी क्षेत्रमा दुईवटा गैँडा मारेका थिए ।