राजनीति

मुलुकमा संघीय जनगणतन्त्रसहितको नयाँ संविधान आवश्यक : मोहन वैद्य

By खबरहब

November 17, 2023

काठमाडौँ– नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले मुलुकमा संघीय जनगणतन्त्रसहितको नयाँ संविधान आवश्यक भएको बताएका छन् ।

नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाः ले शुक्रबार ललितपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा वैद्यले अहिलेको व्यवस्थाले संघीयताका नाममा जनतालाई झुक्काउने काम भइरहेको भन्दै संघीय जनगणतन्त्रसहितको नयाँ संविधान आवश्यक भएको बताएका हुन् ।

उनले अहिलेको राज्यसत्ता भत्काएर नयाँ राज्यसत्ता बनाउन जनताको साथ लिएर अघि बढ्ने जिकिर गरे । संविधान र संसदीय व्यवस्थाको अन्त्य अहिलेको आवश्यकता रहेको उनले बताए ।

वैद्यले संघीयता मान्ने तप्काहरु सरकारमा रहेपनि आवश्यक कानून बनाउन नसकेको आरोप लगाए । उनले रवि लामिछानेको पार्टी पश्चिमा साम्राज्यवादको विकल्प भएको तर्क गरे । वैद्यले नेपाल संवतलाई पूर्णत कार्यान्वयनमा लैजान संघर्ष गर्नुपर्ने धारणा राखे ।