औषधी/उपचार

चिसो बढेपछि गर्भवतीको नियमित चेकजाँच नै छुट्छ

By खबरहब

December 17, 2023

गर्भवती, प्रसूति र सुत्केरी अवस्था महिलाको लागि विशेष अवस्था हो। यो बेलामा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ। स–साना गल्तीका कारण आमा र बच्चाको ज्यान समेत जोखिममा पर्नसक्ने भएकाले एकदमै सचेत रहनुपर्छ। गर्भावस्था र सुत्केरी अवस्थामा कस्ता खालका जटिलता आउने गर्दछन् ? के कारणले जटिलता आउँछन् ? नेपालका दुर्गम क्षेत्रका गर्भवती र आमाको अवस्था के छ ? राज्यले ग्रामीण क्षेत्रमा यसका लागि कस्तो सुविधा दिएको छ ? स्थानीय तहले गर्भवतीका लागि के गरिराखेका छन् ? यी र यस्तै विषयमा आधारित भएर जिल्ला अस्पताल डोल्पाका मेडिकल अधिकृत डा. अखण्ड उपाध्यायसँग खबरहबका लागि पवन मुडभरीले गरेको कुराकानीको सम्पादित अंशः

डोल्पामा गर्भवती र सुत्केरीको सेवामा सक्रिय हुनुहुन्छ, त्यहाँको अवस्था कस्तो छ ? म यो क्षेत्रमा आएर काम गरेको करिब दुई वर्ष भयो। गाउँ गाउँमा स्वास्थ्य चौकी र बर्थिङ सेण्टर छन्। तर त्यहाँ नियमित कर्मचारीको अभाव हुन्छ। जाडोको मौसममा कर्मचारी बस्न नै समस्या हुन्छ। कर्मचारीलाई राख्न त्यहाँ तातोको लागि कुनै पनि व्यवस्था हुँदैन। जसका कारण स्वस्थ्य चौकी र बर्थिङ सेण्टरमा सुत्केरी गराउन वा सेवा लिन स्थानीय जाँदैनन्। जिल्ला अस्पतालसम्म आइपुग्न कतिपयलाई दिनभर हिड्नुपर्ने बाध्यता छ। नियमित चेकजाँचका लागि गर्भवती न्युन मात्रामा आउने गरेका छन्। त्यसैले यो क्षेत्रका आमालाई नियमित रुपमा गर्भको जाँच र बर्थिङ सेण्टरसम्म आएर बच्चा जन्माउनु चुनौतीकै विषय हो।

कतिपय स्थानीय तहले घरमै गएर सेवा दिने काम गरिरहेका छन्। तर त्यो सुविधा पनि भौगोलिक विकटता र यातायातको अभावका कारणले सबै पालिकामा पुग्न सम्भव छैन।

अहिले धेरै स्थानीय तहले गर्भवतीको चेकजाँच घरमै पुगेर गर्ने व्यवस्था गरेका छन्, त्यहाँको अवस्था के छ ? कतिपय स्थानीय तहले घरमै गएर सेवा दिने काम गरिरहेका छन्। तर त्यो सुविधा पनि भौगोलिक विकटता र यातायातको अभावका कारणले सबै पालिकामा पुग्न सम्भव छैन। जनचेतनाको विस्तार हुन सकेको छैन। जसले गर्दा नियमित चेकजाँच गर्नुपर्छ भन्ने कुराको ज्ञान कतिपय गर्भवतीलाई नै हुँदैन। अर्को पालिकामा कर्मचारी नियमित रुपमा बस्न सक्ने वातावरण पनि छैन। माथिल्लो डोल्पाको कुरा गर्ने हो भने कार्तिकबाट नै हिउँ पर्न सुरु हुन्छ। हिउँ परेपछि कर्मचारी त्यहाँ बस्न नै सक्दैनन्। चिसो बढेसँगै गर्भवतीको नियमित चेकजाँच नै छुट्छ। कर्मचारी नै नभएपछि गर्भवतीको नियमित जाँच नै हुँदैन। कुनैकुनै पालिकाले गर्भवतीलाई आइरन र क्याल्सियम किनेरै दिने गरेका छन्। कतिपय त घरमै गएर चेकजाँचको सुविधा दिन पुग्छन्। तर यो सेवा सबै पालिकाबाट सम्भव देखिएको छैन। केही पालिकाले राम्रो गरे पनि सबै पालिकाले गरेका काम चित्तबुझ्दा छैनन्।

डोल्पामा शल्यक्रिया गरेर सुत्केरी गराउने व्यवस्था छ कि छैन ? नेपाल सरकारले सुत्केरी गराउँदा केही जटिलता आयो भने शल्यक्रिया गर्न भनेर जिल्ला अस्पताललाई तोकेको हुन्छ। लामो समयसम्म प्रसव व्यथा भयो र बच्चा निस्किन सकेन भने शल्यक्रिया हुन्छ। यसका पनि विभिन्न मापदण्ड छन्। बच्चा उल्टो छ भने जिल्ला अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्माइन्छ। त्यस्तै भौगोलिक विकटता, यातायातको अभाव जस्ता कारणले समयमा अस्पताल पुग्न नसकेका आमा पाठेघर च्यातिएको, फुटेको जस्ता समस्या लिएर आउँछन्। उनीहरुको उपचार पनि जिल्ला अस्पतालमै हुने गरेको छ। तर सकेसम्म हामीले नर्मल सुत्केरी नै गराउने प्रयास गर्छौ। एकदमै जटिल अवस्था आयो भने मात्रै शल्यक्रियामा जाने हो।

माथिल्लो डोल्पाको कुरा गर्ने हो भने कार्तिकबाट नै हिउँ पर्न सुरु हुन्छ। हिउँ परेपछि कर्मचारी त्यहाँ बस्न नै सक्दैनन्।  कर्मचारी नै नभएपछि गर्भवतीको नियमित जाँच नै हुँदैन।

अस्पतालमै आएर सुत्केरी गराउनेको संख्या कस्तो छ ? पहिले जिल्ला अस्पतालमै पनि सुत्केरी हुनेको संख्या एकदमै न्युन थियो। अहिले नियमित चेकजाँच गर्ने र सुत्केरी हुनका लागि स्वस्थ्य संस्थामै जानुपर्छ भन्ने छ। सरकारले स्वास्थ्य संस्थामै सुत्केरी हुनेलाई निश्चित सुविधा पनि दिएको छ। त्यसमा नगद सुविधासमेत समेटिएको छ। डोल्पामा खाद्य संस्थानले चामल पनि निःशुल्क गरेको छ। त्यसैले पनि अस्पतालमै आएर सुत्केरी गराउनेको संख्या बढ्दै गएको छ। ग्रामीण क्षेत्रमा अहिले पनि घरमै सुत्केरी गराएकै कारण बच्चा र आमाको मृत्यु हुने गरेको छ। तर पहिलेको तुलनामा सुधार भएको छ।

स्थानीय, प्रदेश र केन्द्र सरकारले यो क्षेत्रमा अझै गर्नुपर्ने केही कुराहरु छन् ? सरकारले सबै क्षेत्रमा एउटै खालका बर्थिङ सेण्टर बनाएको छ। हिमाली क्षेत्रमा एकदमै जाडो हुन्छ। ती बर्थिङ सेण्टरमा सुत्केरीलाई तातो बनाउन हिटिङको व्यवस्था गरिदिने हो भने अझ सहज हुन्छ। सुत्केरी आमालाई लुगा मात्रै दिएर पुग्दैन। डेलीभरी कोठा नै तातो बनाइदिने मेकानिजम बनाइदिने हो भने अस्पतालमै आएर सुत्केरी गराउने आमाको संख्या अझ बढाउन सकिन्छ। लोकप्रियताका लागि स्थानीय तहहरुको होडबाजीका कारण जता पनि बर्थिङ सेण्टरहरु खोल्ने र भनेजस्तो सेवासुविधा दिन नसक्ने समस्या छ। त्यसले गर्दा थप जटिलता ल्याएको छ। त्यसैले सरकारले यसमा नीति, नियम ल्याएर पायक पर्ने हिसाबले जनसंख्याको आधारमा सुविधा सम्पन्न बर्थिङ सेण्टर बनाउनु राम्रो हुन्छ। सरकारले सञ्चालन गरेको राष्ट्रपति महिला उद्धार कार्यक्रमले हिमाली भेग अर्थात् दुर्गम क्षेत्रका सुत्केरी आमालाई ठुलो राहत भएको छ। जटिल अवस्थामा हेलिकोप्टरमार्फत् तत्काल उद्धार गरेर प्रदेश अस्पताल सुर्खेत लगेर उपचार गरिन्छ। यो चाहिँ सरकारले गरेको एकदमै राम्रो काम हो।

पहिले जिल्ला अस्पतालमै पनि सुत्केरी हुनेको संख्या एकदमै न्युन थियो। अहिले नियमित चेकजाँच गर्ने र सुत्केरी हुनका लागि स्वस्थ्य संस्थामै जानुपर्छ भन्ने छ। सरकारले स्वास्थ्य संस्थामै सुत्केरी हुनेलाई निश्चित सुविधा पनि दिएको छ।

गर्भावस्था र सुत्केरी अवस्थामा कस्ता जटिलता आउने गर्दछन् ? गर्भावस्थाको सुरुवाती अवस्थामा रक्तश्राव हुने, प्रेसर, सुगर, हातगोडा सुन्निने, पिसाब रोकिने, जस्ता समस्या देखिन्छन्। सुत्केरी अवस्थामा अत्याधिक रक्तश्राव हुने, कम उमेरमा आमा बन्दा बच्चा सजिलै जन्मिन नसक्ने, टाउको अड्किने, आमालाई कम्पन आउने, आमा बेहोस हुनसक्ने र आमाको ज्यान जान सक्नेसम्मका जटिलताहरु आउन सक्छन्।

के कारणले यस्ता जटिलता आउने गर्दछन् ? कसैमा वंशाणुगत गुणले पनि यस्ता समस्या आउने गर्दछन्। जस्तै पे्रसरको समस्या पनि वंशाणुगत समस्या हो। गर्भवती आमाले समयमै औषधि खाएनन्, राम्रोसँग चेकजाँच गरेनन् भने प्रेसरकै कारण अन्य समस्या आउन सक्छन्। हातगोडा सुन्निने समस्या चाहिँ गर्भमा बसेको बच्चाको सालको कारणले हुन्छ।

डा. अखण्ड उपाध्यायसँगको कुराकानी