खेलकुद

हृदयघातपछि मैदानमै ढले लुटन टाउनका कप्तान

By खबरहब

December 17, 2023

काठमाडौँ– प्रिमियर लिग अन्तर्गत खेल खेलिरहेका बेला लुटन टाउनका कप्तान टम लकयरलाई हृदयघात भएको छ । गएराती लुटन टाउन र बोर्नमाउथबीचको खेल जारी रहेको बेला खेलको ६०औँ मिनेटमा टम मैदानमै ढलेका थिए । मैदानमै अचानक ढलेपछि उनलाई खेलाडीले तुरुन्त खेल रोकेर सहयोग गरेका थिए ।

उनलाई मैदानमै  प्राथमिक उपचार गराएपछि अस्पताल लागिएको थियो । प्रिमियर लिगले कप्तान टमलाई हृदयघात भएको र उनको अवस्था ठिक रहेको बताइएको छ । सो घटनापछि रोकिएको खेल पछि स्थगित गरिएको थियो ।

क्लब लुटन टाउनले टमको अवस्था ठिक रहेको जानकारी दिँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ । टम यसअघि च्याम्पियनसिप प्लेअफको फाइनलमा समेत यसरी नै मैदानमा ढलेका थिए । त्यसपछि पनि उनलाई अस्पताल लागिएको थियो ।

गत जुनको सो घटनापछि उनलाई चिकित्सकले अप्रेसन पछि फेरी खेल्न अनुमति दिएका थिए ।