समाचार

भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कार खारेजीको माग गर्दै आजपाको धर्ना

By खबरहब

December 17, 2023

काठमाडौं- भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजीको माग गर्दै प्रभु साह नेतृत्वको आम जनता पार्टीले भन्सार विभागमा धर्ना दिएको छ ।

४५ प्रतिशत पुरस्कारको व्यवस्थाले कर्मचारी पोस्ने काम मात्रै भएको र जनतालाई कुनै राहत नभएको भन्दै उक्त पार्टीले आइतबार काठमाडौंको त्रिपुरेश्वरस्थित भन्सार विभागमा धर्ना दिएको हो ।

सरकारी कर्मचारीमार्फत राजस्वमा हुने ४५ प्रतिशतको कमिसन व्यवस्था गलत भएकाले खारेज हुनुपर्ने भन्दै आन्दोलन गरिएको आम जनता पार्टीका स्थायी समिति सदस्य बृजु प्रसाद यादवले बताए ।

भन्सार नियमावलीमा गरिएको व्यवस्था अनुसार कुनै चोरी निकासी वा पैठारीको माल समान पक्राउ गरी भन्सार कार्यालयमा बुझाउनेलाई ३० प्रतिशत र त्यसको सुराक दिनेलाई १५ प्रतिशत गरी कुल रकमको ४५ प्रतिशत रकम पुरस्कार स्वरूप व्यक्तिलाई दिने व्यवस्था छ ।

नियमावलीमा पुरस्कारको गलत प्रावधानले देशको राजस्व सरकारी ढुकुटीमा जम्मा हुनुको सट्टा राजस्व संकलनमा संलग्न कर्मचारी र सुरक्षाकर्मीहरुको निजि खातामा गइरहेको सो पार्टीको भनाइ छ ।