मनोरञ्जन

मेनुकालाई यसरी सम्झन्छन् यताका संगीत स्रष्टा

By संगम ढकाल

December 17, 2023

काठमाडौं– ‘कलामा कुनै सीमा, देश, धर्म, जात, लिङ्ग हुँदैन’ यो भनाइलाई फेरि एकपटक मेनुका पौडेलले पुष्टि गरेकी छन् । उनले भारतको प्रतिष्ठित गायन रियालिटी शो ‘इन्डिय आइडल’ आफ्नो कलाले भारतीय दर्शक र कलाकारको मन जितेकी छिन् । मेनुकाको गायकीबाट नेपालका संगीत सर्जकहरु ओतप्रोत बनेका छन् । नेपाली चेलीका लागि आफ्नो कला विश्वव्यापीकरण गर्ने मौका रहेको विश्लेषण उनीहरुको छ ।

गायनमा आवश्यक पर्ने सुर पक्का, शब्दको लय, भाव र संगीतमा डुबानको सुमिश्रणले मेनुका आज यो स्थानमा पुगेको वरिष्ठ संगीतकार आलोकश्रीको विश्लेषण छ । मेनुकासँग आफ्नो व्यक्तिगत चिनजान नभए पनि उनको प्रस्तुति प्राविधिकरुपले अति उत्कृष्ट रहको उनी बताउँछन् ।

उनी थप्छन्, ‘मैले जगदिश सिंहको एरादेखि अहिले समीक्षा अधिकारीसँग काम गरेको छु । मेनुकाको स्वर ओजस्वी छ । म उहाँको गायनबाट लाजवाब छु । उहाँको आवाजको सही सदुपयोग गर्न सकियो भने नेपाल संगीतमा मात्र नभएर भारतवर्षमै पनि उहाँको स्वरले ठूलो स्थान पाउँछ ।’

मेनुकालाई संगीतमा एकाग्रपन र शब्दको भावनासँग डुब्न सक्ने क्षमता उनको गायिकीको अर्को राम्रो पक्ष भएको आलोक विश्लेषण गर्छन् । उनको आवाजको ‘टेक्स्चर’ नै प्रतिभा बुझ्नेका लागि काफी रहेको उनको तर्क छ ।

भारतीय कलाकारबाट मेनुकाले पाएको तारिफबारे आलोक थप्छन्, ‘भारतमा कलाको ठूलो इज्जत छ ।’ अबका दिनमा आफ्नो माग बुझेर काम गर्न मेनुकालाई आलोकश्री सुझाव दिन्छन् । उनी उदितनारायण झाको उदाहरण दिँदै भन्छन्, ‘भारत भनेको डेढ अर्ब जनसङ्ख्या भएको देश हो । नेपाली बजार सानो छ । कुनै बेला उदितजी नेपालमा मात्रै सीमित हुनुहुन्थ्यो, जब उहाँ भारत जानुभयो आफ्नो स्वरलाई विश्वव्यापीकरण गर्ने मौका पाउनुभयो ।’

त्यस्तै, अर्का वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा भने मेनुकालाई गालामा सरस्वती बसेर र आत्माले गाउन गायिका रुपमा लिन्छन् । गायनको प्राविधिक पक्षमा पनि उनले राम्रो दख्खल रहेको उनको विश्लेषण छ ।

बास्कोटा थप्छन्, ‘उनको लयको पाटो त उत्कृष्ट छँदै छ उनले गीतको मार्मिक पक्षलाई आवाजबाट प्रस्तुत गरेकी छिन् । लय, स्केल, सुर ताल सबैमा दख्खल राम्रो छ ।’ जसको मूल्याङ्कनमा उनी आजको स्थानमा पुगे पनि उनी हरेका पक्षबाट त्यसको लायक रहेको बास्कोटाको विश्लेषण छ । र अबको दिनमा उनी हाल रहेको भारतीय मञ्चलाई सदुपयोग गर्न उनी सुझाव दिन्छन् ।

उनी भन्छन्, ‘नेपाली छोरी हुन् यहाँ जहिले आएर गाउँदा पनि हुन्छ । जुन अहिले संसारभर पुग्ने मञ्चमा छिन् उनी त्यस अवसरलाई सदुपयोग नै गर्नुपर्ने देखिन्छ ।’ भारतका दिग्गज संगीतकर्मीका अगाडि उनले निर्धक्क प्रतिभा पस्कँदा व्यक्तिगत रुपमा आफूलाई पनि गर्व महसुस भएको बताउँछन् ।

झापाको निम्न मध्ययम वर्गीय परिवारमा जन्मिएकी मेनुकालाई यस प्रतियोगिताको फाइनललिस्टका रुपमा हेरिएको छ । शारीरिक रुपमा फरक क्षमताकी मेनुकाको हरेक प्रस्तुतिमा जजहरु प्रभावित छन् । उनको पछिल्लो प्रस्तुतिलाई उनीहरुले भनेका छन्– मेनुका तपाईंको आवाज दैविक वरदान हो, यसको मूल्याङ्कन गर्ने क्षमता हामीसँग छैन ।

गोल्डेन माइक पाएर सीधै उत्कृष्ट १५ मा स्थान बनाएकी मेनुकाको हरेक प्रस्तुति विशेष छन् । जजहरुबाट ‘स्टान्डिङ अवेसन’ त उनका लागि सामान्य भइसक्यो । प्रतियोगितको मञ्चमा पुगेका गेस्टबाट विशेष तारिफ पाउने उनको प्रस्तुतिको अनिवार्य कर्म जस्तै देखिन्छ ।

भारतको वरिष्ठ ‘प्लेब्याक’ गायक कुमार सानुले गायन क्षमतालाई सम्मान गर्दै मेनुकाको हात ढोगेका छन् । १८ हजार बढी गीत गाएका कुमारबाट यस्तो तारिफ पाउनु उनको लागि अर्को सफलता हो । कुमार तीनै गायक हुन् , जसले एकै दिन २८ वटा गीत गाएर विश्व रेकर्डसमेत राखेका छन् । भारतीय सुगम सङ्गीतमा उनी ‘मेलोडी किङ’का रुपमा परिचित छन् ।

यही प्रतियोगिताबाट उनी भारतमा ‘जुनियर लता मंगेस्कर’ भनेर चिनिन लागेकी छिन् । भारतीय सुपस्टारहरुले समेत ‘सङ्गीतकी देवी’ उनको पाउ छोएका छन् । उनको प्रतिभालाई विस्तार गर्ने अवसर पनि दिएका छन् । अर्थात् उनले बलिउडमा डेब्यू समेत गरेकी छन् । फिल्म ‘सलार’ को गीतमा उनले आवाज दिने अवसर पाएकी छन् । जुन गीत सार्वजनिकसमेत भइसकेको छ ।

‘सारेगमप’ ले समेत चिनेको कलाकार

भारतको अर्को चर्चित रियालिटी शो सारेगमपमा मेनुका सन् २०१८ मा सहभागी भएकी थिइन् । त्यसबेला पनि उनी टप ११ बाट बाहिरिएकी थिइन् ।

उनलको गायन क्षमता उत्कृष्ट भएकै कारण अरबमाथि जनसङ्ख्या भएको देशमा त्यो स्थानमा पुगेकी हुन् । उनले त्यस प्रतियोगितामा आफ्नो क्षमताले नै नेपाली गुडिया उपनाम पाइन् । तर, उनी क्षमताअनुसार अगाडि बढ्न नसकेको प्रतिक्रिया धेरै आएको थियो ।

मेनुकालाई स्कुलमा अध्यापन गराउने शिक्षकका खिलप्रसाद सिवाकोटीका अनुसार यस प्रतियोगितामा नेपालीहरुले अनावश्यक राष्ट्रवाद जोडेका कारण अगाडि बढ्न समस्या भयो ।

उनी थप्छन्, ‘भारतविरोधी नेपाली राष्ट्रवाद भएका नकारात्मक भिडियो प्रशारण हुँदा मेनुकाको चरित्रमा प्रश्न उठ्यो । निर्माण पक्षले यस्ता कुरालाई ध्यानमा राखेर अगाडि बढाउने कि नबढाउने निर्णय गर्दो रहेछ । यसले गर्दा क्षमता अनुसार अगाडि बढ्न नपाउने नेपालीकै लागि दुखको कुरा हो ।’