राजनीति

मधेस प्रदेशका सभामुख र उपसभामुखद्वारा शपथ

By खबरहब

January 18, 2023

महेन्द्रनगर– मधेस प्रदेशसभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत इशरले पद तथा गोपनीयताको शपथ लिएका छन् । मधेस भवनमा आज उनीहरूलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ गराए ।

सभामुख र उपसभामुखको शपथ कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, विना विभागीयमन्त्री सरोजकुमार यादव लगायतको उपस्थिति थियो । मण्डल र इशर मंगलबार नै मधेस प्रदेशको सभामुख र उपसभामुखमा निर्वाचित भएका हुन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा मण्डललाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्तावको पक्षमा ७४ मत अर्थात् बहुमत सदस्यको समर्थन प्राप्त भएको थियो । कूल एक सय सात सदस्यीय प्रदेशसभामा एक सय तीन सदस्यले मतविभाजन प्रक्रियामा सहभागिता जनाएका थिए ।

मण्डललाई सत्ता गठबन्धन दल नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र), जनमत, लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र स्वतन्त्रको समर्थन थियो । यसैगरी जनमत पार्टीका उम्मेदवार इशरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने पक्षम ७२ मत प्राप्त भएको थियो । उनको विपक्षमा २९ मत खसेको थियो । उपसभामुखको निर्वाचन प्रक्रियामा एक सय एक सदस्यले सहभागिता जनाएका थिए ।