देश/प्रदेश

मलेसिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

By खबरहब

April 18, 2023

काठमाडौँ- वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्सा जिल्ला बहुदरमाई गाउँपालिका ५ भौराटार घर भई हाल किर्तिपुर बस्ने हिरालाल महतो नुनिया रहेको प्रहरीले जनाएको छ । ६ जनालाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु, मलेसिया पुगेपछि राम्रो कम्पनीमा काम लगाइदिन्छु भनी पैसा लिएर उनी सम्पर्कविहीन भएका थिए ।

उनले ठगी गरेको भनी वैदेशिक रोजगार विभागले पत्राचार गरेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई चोभारबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाइएको छ ।