देश/प्रदेश

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

By खबरहब

June 18, 2023

दिनभर आज समाजवादी मोर्चाको घोषणा भोलि हुने, नेतृत्वमा आलोपालो, अध्यक्ष ओली र वामदेव गौतमबीच भेटवार्ता, महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्न मेयर शाहको निर्देशन, ताप्लेजुङ अपडेट : एक जनाको शव भेटियो, सुनको भाउ दुई सय रुपैयाँले बढ्योलगायत समाचारले प्रमुख स्थान पाए । 

समाजवादी मोर्चाको घोषणा भोलि हुने, नेतृत्वमा आलोपालो

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चाको घोषणा भोलि हुने भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकले भोलि मोर्चा घोषणा गर्ने निर्णय गरेको हो ।

मधेस प्रदेशसभाका पाँच समितिमा सभापति चयन

मधेस प्रदेशसभा अन्तर्गतका सात विषयगत समितिमध्ये पाँच समितिले सभापति पाएका छन् । तीमध्ये तीन समितिमा महिला सभापति चयन भएका छन् ।

प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४६ बमोजिम गठित विषयगत समितिमध्ये विकास, अर्थ तथा योजना, प्राकृतिक स्रोत तथा वातावरण, सार्वजनिक लेखा र महिला, बालबालिका तथा सामाजिक न्याय समितिको सभापति सर्वसम्मत चयन गरिएको हो ।

अध्यक्ष ओली र वामदेव गौतमबीच भेटवार्ता

एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता अभियानको संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न आइतबार गौतम च्यासलस्थित एमाले मुख्यालय पुगेका थिए ।

एमामाले फर्किन लागेको चर्चाबीच ओलीलाई भेट्न गौतम च्यासल पुगेका हुन् । एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतमलाई एमालेमा फर्किन बाटो खुला भएको थियो ।

शून्य समय : सामुदायिक विद्यालयका कर्मचारीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

सांसद ठाकुरप्रसाद गैरेले भारतले कपिलवस्तु र लुम्बिनीलाई आफ्नो सदनमा नक्सांकन गरी अत्यन्तै गलत काम गरेको टिप्पणी गरेका छन् ।

संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद गैरेले आदिपुरुष सिनेमामा सीता भारतकी छोरी हुन् भन्ने अर्को भ्रमपूर्ण समाचार प्रवाह गर्नेसमेत गरेको भन्दै आपत्ति जनाए। उनले भने, ‘सिनेमाका लेखकले नेपाल भारतकै अंग हो भनेर अत्यन्त गलत अन्तर्वार्तामा अभिव्यक्ति दिइरहेका छन्, नेपाल सरकार के गर्दै छ ? के भारत सुघौली सन्धिबाट पछाडि हटेको हो रु सरकार स्पष्ट हुन जरुरी छ, यदि भातरले त्यसो गर्न खोजेको हो भने नेपालको रक्षाको निम्ति जुनसुकै मूल्य चुकाउन तयार छ ।’ नेपालको एक इञ्च भूमि पनि कसैलाई सुम्पिन तयार नभएको भन्दै उनले मुलुकको लागि एकजुट हुनुपर्नेमा जोड दिए ।

पर्यटन मन्त्रालयको शीर्षकमाथिको छलफल कार्यसूचीबाट हटाइयो

विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफलअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफल कार्यसूचीबाट हटाइएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले शीर्षकमा प्रदेशको नामको सट्टा अंक उल्लेख भएको भन्दै नियमापत्ति जनाए। सचेतक बर्तौलाको नियमापत्तिका सन्दर्भमा सभामुख देवराज घिमिरेले पर्यटनमन्त्री सुदन किरातीलाई सोबारे स्पष्ट पार्न समय दिएका थिए ।

भ्रष्टाचार नियन्त्रणमा कठिनाइ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारका स्वरुप परिवर्तन भएकाले नियन्त्रणमा कठिनाइ भएको बताएका छन् ।

सिंहदरबारमा आइतबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राईले भ्रष्टाचारको रकम भुक्तानी गोष्ठी वा अरु कुनै कार्यक्रमका नाममा अन्तर्राष्ट्रिय क्षेत्र पुग्ने र प्रविधिको समेत दुरुपयोग हुने गरेकाले नियन्त्रणमा कठिनाइ भएको बताएका हुन् ।

नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो

नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । भन्सार कार्यालय नेपालगञ्जको तथ्यांक अनुसार गत वर्षको भन्दा चालु आर्थिक वर्षको वैशाखसम्म नेपालगन्ज नाका हुँदै आयात हुने वस्तुको सूचीमा सबैभन्दामाथि रहँदै आएको पेट्रोलियम पदार्थको आयात घटेको पाइएको छ ।

पछिल्लो १० महिनाको तथ्यांक अनुसार नेपालगञ्ज नाका हुँदै भारतबाट रु १२ अर्ब ९६ करोड १० लाख बराबरको एक लाख आठ हजार तीन सय २८ किलोलिटर डिजल आयात भएको छ । डिजल आयातबाट कार्यालयलाई रु चार अर्ब ६२ करोड २९ लाख राजस्व प्राप्त भएको नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत डिल्लुप्रसाद शर्माले जानकारी दिए। गत वर्ष सो अवधिमा रु १३ अर्ब ११ करोड तीन लाख बराबरको एक लाख ४१ हजार पाँच सय २८ किलोलिटर डिजल आयात भएको थियो । यसबाट कार्यालयले रु पाँच अर्ब ५४ करोड २७ लाख राजस्व असुल गरेको थियो । वैशाखसम्म रु तीन अर्ब ८६ करोड ९७ लाख ८४ हजार मूल्य बराबरको ३८ हजार आठ सय ७६ किलोलिटर पेट्रोल आयात भएको छ । यसबाट रु दुई अर्ब २२ करोड ५२ लाख राजस्व असुली भएको छ ।

महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्न मेयर शाहको निर्देशन

काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिइसकिएको मेयर बालेन्द्र शाहको सचिवालयले जनाएको छ ।

मेयर शाहको निर्देशनपछि नगर प्रहरीले आइतबार बेलुकासम्म सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिने भएको छ ।

दाङ र कालीकोटमा दादुराका बिरामी फेला

दाङ र कालीकोटमा दादुराका बिरामी फेला परेका छन् । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा निर्देशक डा विबेककुमार लाल दाङको बंगाललाचुली नगरपालिका पाँच जना र कालीकोटको खडाचक्र नगरपालिकामा चार जनामा दादुराको सङ्क्रमण देखिएको जानकारी दिए ।

उनले ती दुवै ठाउँका शंकास्पद बिरामीको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा दादुराको सङ्क्रमण पुष्टि भएको बताए । कालीकोटमा नौ जना र दाङका आठ जना शंकाशपद बिरामीको नमुना परीक्षण गरिएको थियो ।

सेयर बजारमा ५२.२६ अंकको वृद्धि

सेयर बजारमा उत्साह आउनेक्रम आइतबार पनि जारी रहेको छ । यस दिन नेप्से सूचक ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा आएको छ । १४ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथि वृद्धि भएको छ ।

सूचकका साथमा कारोबार रकमले पनि साथ दिँदै गएको छ । यस दिन २८० कम्पनीको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँ कारोबार भएको छ ।

सुनको भाउ दुई सय रुपैयाँले बढ्यो

चालु साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोला दुई सय रुपैयाँले बढेको छ ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

हेवाखोलाको बाढीमा बेपत्ता सबैको पहिचान खुल्यो

पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम–५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन् । उनीहरुलाई हेवाखोलाले हेवाखोला पुल क्षेत्रबाट बगाएको प्रहरीको अनुमान छ ।

ताप्लेजुङ अपडेट : एक जनाको शव भेटियो

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका–६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ ।

पहिरोमा परी बेपत्ता भएका ३० वर्षीय गणेश तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता तीन जनाको खोजीकार्य भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले मेहेलेमा भालुखोपका एकै परिवारका तीन जना बेपत्ता भएका जानकारी दिए । उनका अनुसार बेपत्ता हुनेमा यादव बुढा क्षेत्रीको ६३ वर्षीया श्रीमती भगीमाया बुढा क्षेत्री, उनकी बुहारी ३० वर्षीया सन्ध्या बुढा क्षेत्री र नाति नौ वर्षीय प्रज्वल बुढा क्षेत्री रहेका छन् । उनीहरुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिए ।