सांकेतिक तस्बिर

देश/प्रदेश

लागूऔषधसहित चार जना पक्राउ

By खबरहब

August 18, 2023

काठमाडौँ- देशका विभिन्न स्थानबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित पर्सा बहुदरमाई नगरपालिका २ बस्ने २३ वर्षीय चन्दन कुमारलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले ना ६ ख ९३६१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस्तै, मोरङको विराटनगर महानगरपालिका १५ स्थित एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ३ ग्राम ४१ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका १९ बस्ने २१ वर्षीय अशोक राई र सोही उपमहानगरपालिका २० बस्ने २१ वर्षीय विश्वराज राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले प्रदेश १ ०२ ०४४ प ३५८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यसैगरी, कैलालीको टीकापुर नगरपालिका ४ अस्नेरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्रामसहित सोही नगरपालिका २ बन्दिपुर बस्ने २९ वर्षीय अशोक थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।