देश/प्रदेश

आजको मौसम : कहाँ कहाँ हुँदैछ वर्षा ?

By खबरहब

September 18, 2023

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ । नेपालमा हाल राजस्थानको दक्षिण पूर्वी भूभाग र मध्य प्रदेशको पश्चिमी भूभाग आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

आज देशका केही भूभागमा वर्षाको सम्भावना रहेको जनाइएको छ । बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षाका कारण नदीको जलसतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा असुविधाको सम्भावना रहेको विभागको भनाइ छ ।