ब्रेकिङ स्टोरी

काम गर्न खोज्दा मुद्दा हालेर अल्झाउन खोजियो : बालेन

By खबरहब

December 18, 2023

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले महानगरपालिकाको काममा केन्द्र र प्रदेश सरकारले अवरोध गरेको गुनासो गरेका छन् ।

आज ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा ललितपुरमा आयोजित समारोहमा प्रमुख बालेनले केही काम गर्न खोज्दा मुद्दा हाल्ने गरिएको गुनासो गरे । उनले संघ र प्रदेशले गर्ने काम स्थानीय सरकारले गर्दा खुसी हुनुपर्नेमा झनै अल्झाउने काम भइरहेको दुखेसो पोखे ।

उनले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि आवश्यक कानुन निर्माणमा सरकारले कुनै पहल नगरेको टिप्पणी गर्दै  पाँच मिनेटदेखि एक घण्टामा हुने काम पनि संघ सरकारले नगरेको आरोप लगाए ।

प्रमुख बालेनले बञ्चरेडाँडाको फोहोर व्यवस्थापनका लागि कानुनी अड्चन रहेकाले त्यसलाई फुकुवा गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे । उनले काठमाडौँका खोला अतिक्रमणमुक्त बनाउन सरकारले आवश्यक पहल गर्नुपर्ने बताए ।

प्रमुख साहले भने, ‘कुनै अतिक्रमण स्थानीय तहले रोक्न सक्छौँ तर खोला अतिक्रमण सम्माननीयज्यूले चाहनुभयो भने अर्को कार्यक्रममा जान लाग्ने समय जतिमा समाधान हुन्छ । पाँच मिनेटदेखि एक घण्टामा सकिन्छ ।’

उनले उपत्यकाको सुन्दरतालाई बढाउन उपत्यकाका सबै महानगरपालिकाको विकास एकैपटक हुनुपर्नेमा सङ्घीय र स्थानीय कानुन बाझिएका कारण असहज भएको बताए । उनले काठमाडौँ महानगरलाई उज्यालो बनाउन खोज्दा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टि व्यक्त गरे ।