काठमाडौं– साहित्यतर्फ नोबेल पुरस्कार विजेता रुसी साहित्यकार मिखाइल शोलोखोभले सन् १९५६ मा ‘मान्छेको भाग्य’ कथा लेखेका थिए । जर्मनीमा हिटलरका सैनिकबाट बन्धक बनाइएका एकजना देशभक्त रुसी नागरिक कसरी मातृभूमि फर्किए भन्ने शोलोखोभको कथामा पढ्न पाइन्छ । गत कात्तिकमा रुसी सेनामा भर्ती भएका एक नेपालीले त्यस्तै बहादुरी प्रदर्शन गरेका छन् । भाडाको सिपाही (वाग्नर) बनाइएका यी पूर्वप्रहरी रुसी सेनाको पञ्जाबाट फुत्किएर नेपाल फर्कन सफल भएका छन् ।
यो दर्दनाक कथा हो, गुल्मीका सी. क्षेत्रीको । (सुरक्षाको दृष्टिले उनको वास्तविक नाम गोप्य राखिएको छ ।)
नेपाली सेनाबाट सशस्त्र प्रहरीमा रुपान्तरण भएर पेन्सन पकाएका गुल्मी निवासी क्षेत्री आफ्ना भाइसहित दुई महिनाअघि किन र कसरी रुस पुगे ? युक्रेन विरुद्धको लडाइँमा उनी कसरी प्रयोग भए ? रुसी सेनामा भर्ती भएका नेपालीहरुको अवस्था कस्तो छ ? अनि, मस्कोमा भेटिने नेपाली दलालहरूले आफ्नै देशका नागरिकलाई कसरी बन्धक बनाएर पैसा लुटिरहेका छन् ? क्षेत्रीले खबरहबसँग यी सम्पूर्ण रहस्यको एकमुष्ट पोको खोलेका छन् ।
रुसले युक्रेनविरुद्धको लडिरहेको लडाइँको औचित्यमाथि नै क्षेत्रीले प्रश्न उठाएका छन् । लडाइँमा रुसले मानिसहरूलाई भाडामा प्रयोग गरेर अमानवीय एवं गलत तरिका अपनाइरहेको उनको आरोप छ ।
रुसको रोस्तोवबाट भागेर काठमाडौं आइपुगेका क्षेत्री आइतबार दिउँसो सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटिए । ‘हामी त मृत्युको जोखिम मोलेर भाग्न सफल भयौँ, अछाम घर भएका एकजना नेपाल आर्मीका भाइ येल्लो जोनमा हातमा ग्रिनेट पड्केर घाइते अवस्थामा छन्’ क्षेत्रीले भने, ‘उसले मलाई स्वदेश फिर्ता गराउनुपर्यो भनिरहेको छ, म परराष्ट्र मन्त्रालयमा यही कुरा राख्न आएको हुँ ।’
सुनौं, क्षेत्रीको सनसनीपूर्ण खुलासा, उनकै शब्दमा–
खाडी जान खोज्दा रसिया पुगियो
म गत भदौमा आफ्नो भाइलाई खाडी मुलुक पठाउनका लागि पासपोर्ट बोकेर काठमाडौंको एक म्यानपावरमा गएँ । त्यहाँ म्यानपावरको मानिसले खाडी मुलुकमा २०–४० हजार कमाउन जानुभन्दा रसियन आर्मीमा काम गर्ने अवसर छ, त्यहाँ जानोस् भन्यो । उसले मेरो उमेर सोध्यो, ४९ वर्षसम्मको व्यक्तिलाई रसियन आर्मीमा लिन्छ, तलब पनि राम्रो हुन्छ भन्यो । त्यसपछि भाइसँगै मैले पनि जाने आँट गरेँ ।
कसैको रायसल्लाह, घरसल्लाह नलिई हामीले दाजुभाइ दुबैले रसियन आर्मीमा जाने निर्णय गर्यौँ । भदौको अन्तिमतिर प्रक्रिया शुरु गरेर हामी असोजको ३० गते काठमाडौं त्रिभुवन विमानस्थलबाट उड्यौं । सबै प्रक्रिया मिलाउन लगभग एक महिनाजति लाग्यो । १५ दिनमै भिसा लाग्यो । काठमाडौंमा रहेको रसियन दूतावासले नै हाम्रो पासपोर्टमा २७ दिनको टुरिस्ट भिसाको स्टाम्प लगाइदिएको हो ।
असोज ३० गते बेलुका हामीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याइयो । टोलीमा हामी दुई दाजुभाइ र अरु ६ जना समेत गरी ८ जना नेपाली थियौं । यहाँको म्यानपावरले नै टिकट मिलाइदिएको थियो ।
हामीलाई निश्चित समयमा एयरपोर्टभित्र छिराइयो । एउटा समयसम्म बाहिरै होल्ड गरेर राखियो । यताउता केही हर्कत नगर्नु भनिएको थियो । राति ठीक सवा ८ बजे हामी विमानस्थलभित्र छिर्याैँ । त्यही टाइममा म्यानपावरका मान्छेले भित्र सेटिङ मिलाएका रहेछन् ।
विभानस्थलभित्र प्रहरीले करिब आधा घण्टा होल्ड गर्यो। म अगाडि गएँ । मलाई पठाएपछि ट्रायल पनि हुने भयो । प्रहरीले डकुमेन्ट एकछिन होल्ड गर्यो । सादा पोशाकका व्यक्तिले मलाई कहाँ जाने भनेर सोधे । मैले रुस घुम्न जान लागेको भनेँ । शायद उनलाई सबै कुरा थाहा भइसकेको थियो ।
त्यसपछि हामी बोर्डिङमा गयौँ । कर्मचारीहरूले केही सल्लाह गरेजस्तो गरे, अनि हामीलाई बोर्डिङ पास दिए । बोर्डिङ पास लिइसकेपछि हामी अध्यागमनमा गयौँ ।
अध्यागमनले पनि केही समय होल्ड गर्यो । त्यहाँ एकैछिन बसेपछि भित्र लगेर हाकिमकहाँ हामीलाई पेश गरियो । उनले रसिया घुम्न जाने हो ? भनेर सोधे । हामीले हो भन्यौँ । त्यहाँ एउटा पेपरमा हस्ताक्षर गराइयो । अनि हामी एयर अरेबियाको जहाजबाट युएईको शारजाह एयरपोर्टका लागि उड्यौं ।
शारजाह विमानस्थलमा १६–१७ घण्टाको ट्रान्जिट परेकाले रोकियौं । त्यहाँ रहँदा मस्कोका नेपाली दलालहरूले हाम्रा सबै मोबाइल फरम्याट गर्न लगाए ।
१९ दिन ‘सेलेक्सन सेन्टर’ मा
हामी जहाज चढेर मस्को पुग्यौं । मस्को विमानस्थलमा चेकिङका क्रममा हाम्रा पासपोर्ट र मोबाइल सबै लगियो । अध्यागमनले एक-एक गरेर मोबाइलहरु चेक गर्यौँ । नेपाली दलाल शोभराज भन्ने मनोजकुमार जोशीले त्यहाँको अध्यागमनमा कुरा गरिसकेको रहेछ, खुशीका साथ हामीलाई भित्र लगियो ।
तल गेटमा पुग्दैगर्दा गाडी स्ट्यान्डबाई थियो । गाडीले २०-२५ मिनेटको यात्रापछि मस्कोकै एउटा होटलमा पुर्यायो । त्यहाँ एक-दुईघण्टा बसेपछि बिहानको उज्यालो भयो । त्यसपछि हामीलाई करिब एक घण्टाको बाटोमा सेलेक्सन सेन्टरमा लगियो ।
सेलेक्सन सेन्टरमा नेपाली दलालहरू थिएनन्, हामी रसियनसमक्ष ह्याण्डओभर भइसकेका थियौं । त्यहाँ रसियन भाषाबाट अंग्रेजी अनुवाद गर्ने ट्रान्सलेटर थिए । रसियनले हाम्रो बायोडाटा लिए । मोबाइलको सिम लिन लगाए । बैंक खाता खोलेर कार्ड बनाउन लगाए ।
त्यहाँ मेडिकल जाँच लिइँदोरहेछ । एचआईभी र टीबी लागेको छैन भने रुसी सेनाका लागि योग्य भइँदोरहेछ । हामीभन्दा अगाडिको टोलीका एकजना नेपालीमा एचआइभी भेटिएकाले उनलाई फिर्ता पठाइएको सुनियो । हामी सबैको मेडिकल रिपोर्ट राम्रो आयो । अर्कोदिन हामीलाई करिब डेढ घण्टाको यात्रामा एउटा आर्मीको स्कुलमा पुर्याइयो । होस्टेलसहितको स्कुल । त्यहाँ हामी १९ दिन बस्यौँ ।
त्यहाँ १९ दिन रहँदा हामीलाई लडाइँका ट्याक्टिकल पोजिसनहरु सिकाइयो । हतियारका बारेमा सिकाइयो । ड्रोनका सम्बन्धमा पनि सिकाइयो । मेडिकलसम्बन्धी कुराहरू सिकाइयो । भाषाका लागि अंग्रेजी अनुवादक थिए । रसियनहरुले आफ्नो क्षतिका बारेमा केही देखाएनन् तर युद्ध जितेका दृश्यहरू देखाए । हामीले सोध्दा पनि उनीहरूले हारेका दृश्य देखाउन चाहेनन् ।
त्यहीँ रहेका बेला हामीलाई कन्ट्राक्ट साइन (करार सम्झौतामा हस्ताक्षर) गराइयो । कन्ट्राक्ट साइन नगर्दै आफ्नो फेमिली प्रोब्लम देखाएर म फर्कन्छु, सेनामा काम गर्दिनँ भन्दा उसले युनिफर्मसमेत गिफ्ट लिएर जा भन्दोरहेछ । तर, कन्ट्राक्ट साइन गरिसकेपछि सकियो ।
मस्कोबाट रोस्तोव चलान कन्ट्राक्ट साइन गराइसकेपछि हामीलाई रातारात १६ घण्टासम्म बसमा राखेर युक्रेनको नजिकै वारजोनतिर लगियो । हामीलाई ब्ल्याक सीको रोस्तोव भन्ने ठाउँमा पुर्याइयो ।
रोस्तोव असाध्यै हिलो ठाउँ । पानी असाध्यै पर्ने । एकदिन घाम लाग्यो भने अर्कोदिन पानी परिहाल्ने । मस्को भन्दाचाहिँ अलि कम चिसो ठाउँ । रोस्तोवमा हामीलाई ओढ्ने ओछ्याउने लजिस्टिक सामानहरू दिइयो । बेलुका खाना खायौँ, सुत्यौं ।
अर्कोदिन बिहान सबैलाई सोझै फायरिङमा लगियो । असाध्यै फायरिङ गरायो । एके–१२ राइफल दिइएको थियो । यो एके–४७ कै कपी हो । यो बन्दुकका साथमा चारवटा म्यागेजिन दिइयो । एउटा म्यागेजिनमा १२० वटा बुलेट हुन्छन् ।
यो हिसाबले एकजनाले एक दिनमा ४८० राउण्ड गोली पड्काउनै पर्ने । एकठाउँ गएर सिंगल शट, अर्को ठाउँमा गएर डबल, अर्को ठाउँ गएर ब्रस्ट । यसरी पहिलो दिन हामीले एउटा ट्रेञ्चमा दिनभर असाध्यै फायरिङ गर्यौँ ।
बायाँ हातले, दायाँ हातले । उतापट्टि टार्गेट छ, आफूले कम्फर्टेबल हिसाबले कमान्ड लिएर फायरिङ् गर्ने काम गर्यौँ । गोली चाहिँ नसकिएसम्म पड्काउनुपर्ने रहेछ । एउटाले सकेन भने अर्कोले गएर पनि पड्काइदिनुपर्यो । ब्रष्ट हानेर सिध्याउनैपर्यो।
म त फायरिङ जानेको मान्छे । कोही नेपालीहरू त थुरथुर काँप्थे । कामेर बन्दुकले आफ्नै मान्छेलाई हान्ला जस्तो गर्थे । जानेकाहरुले तिनलाई कन्ट्रोल गरायौँ । दोस्रो दिन पनि हामीलाई मेडिकल सम्बन्धी सिकाउने काम गरे । आरएलदेखि लिएर स्नाइपर इत्यादि । टेक्निकल एवं मुभमेन्ट सम्बन्धी कुराहरु सिकाइयो । टैंकका साथै अन्य हतियारहरू पनि पड्काउन सिकाइयो ।
हामीले असाध्यै फायरिङ गर्यौँ । केही दुई–चार प्रतिशत मानिसहरु त खुशी नै देखिन्थे तर, त्यहाँ बुझिसकेपछि मान्छेहरू नेपाल फर्कन चाहिरहेका छन् । सरकारले पहल गर्यो भने हामी फर्कन्छौँ भन्नेमा छन् । पैसा जति गयो, गयो, अब नेपाल फर्कन्छौँ भन्नेमा छन् ।
त्यहाँ इन्डियन आर्मीमा काम गरेका नेपाली मूलका व्यक्ति पनि थिए । हाम्रो दुई-अढाई सयजनाको समूहमा एकजना इन्डियन मूलकै व्यक्ति पनि थिए । तर, उनी खुशी देखिन्थे ।
एकजना चाइनिज पनि थिए, उनी पनि खुशी देखिन्थे । पार्टनरले करोडौं रुपैयाँ डुबाइदिएपछि उनी रसियन आर्मीमा भर्ना भएका रहेछन् । त्यहाँ तुर्कमेनिस्तान, काजकिस्तानतिरका मानिस पनि थिए । रुस वरिपरि छरिएका छिमेकी देशका कलर मिल्ने, भूपूहरु त्यहाँ आएको देखियो ।
खानेकुराको त कुरै नगरौँ !
रोस्तोवको बसाइ, खुवाइ असाध्यै झूर । अलिकति गहुँ दिने, त्यो पनि काँचै हुने । अलि ढिलो पुगियो भने हामीलाई दिँदै नदिने । पाइँदै नपाइने, मक्किने । हामी लाइनमा बसेका छौं, रसियनहरु अगाडि आएर खाने, सकिदिने, लिएर जाने । हामी नेपालीहरु हेरेको हेर्यै ।
एकदिन त हामी नेपालीहरू भोकै सुत्यौं । विडम्बना ! बाहिर जाऔँ भने कहाँ जाने ? गए पनि अलि टाढा छ । चाउचाउ ल्याएर खाँदा पनि जम्मै बिफ । चिकेन पाउन अलि जटिल । चिकेन चाउचाउ पाइयो भने खुशी हुँदै उमालेर खाएर सुतिन्थ्यो ।
कहिले त पाउरोटी मात्रै खाएर पनि सुतियो । पाउरोटी पनि यस्तो थर्ड क्लास कि सम्भवतः त्यो बङ्गुरले पनि खाँदैन ।
फस्ट क्याम्पको बसाइ राम्रै थियो । होस्टल भएकाले व्यवस्थित घर थियो । शौचालय, किचेन सबै व्यवस्थित थियो । सेकेन्ड क्याम्पको सुताइ पालमा । हिलै हिलो । गम्बुट लगाएर हिँड्नुपर्ने । समुद्रको नजिक । पानी परिरहने । हावा उत्तिकै चल्ने । खान पनि राम्रोसँग नपाइने, मर्न अगाडि जानुपर्ने ।
हामीले क्याम्पमा यसैगरी ११ दिन बितायौं । हामी वारजोन मध्ये ग्रिनजोनमै थियौं, येल्लो जोनमा गएनौँ । येल्लोपछि रेडजोनमा जानुपर्ने हुन्थ्यो । रेडजोनमा गएपछि अट्याकमा जानुपथ्र्यो । अट्याक पोजिसन भनेको असाध्यै क्रिटिकल ।
भाग्ने असफल योजना
अगाडि रहेका इन्डियन साथीले हामीलाई इन्फरमेशनहरु दिन्थे, जसबाट हामीलाई प्लान बनाउन सजिलो भयो । तर भाग्ने कुरा लिक हुनेबित्तिकै पासपोर्ट थुतेर राखिन्थ्यो र थुनामा परिहालिन्थ्यो । भाग्ने दिनसम्म पासपोर्ट हामीसँगै थियो, यो फस्ट रेकर्ड नै होला भन्ने लाग्छ ।
एक दिन फाइरिङबाट फर्किएपछि हामीले गोप्य तरिकाले भाग्ने योजना बनायौँ । मस्कोमा जो चार–पाँचजना नेपाली दलालहरु थिए, तिनलाई सम्पर्क गर्यौँ र भन्यौं– ‘ल भाइ हो, तिमीहरू नेपाली हौ, नेपालीले नेपालीलाई सहयोग गर, हाम्रो उद्धार गर । हामी नबुझिकन आयौं । अहिले असाध्यै अप्ठ्यारोमा पर्यौँ, हाम्रो उद्धार गर, हामी जे जति पैसा लाग्छ, दिन्छौं ।’
उनीहरूले प्रतिव्यक्ति १२ सय डलर मागे । यदि १२ सय डलरका दरले दिने हो भने भाग्नका लागि गाडी पठाइदिन्छौं भने । हामीले १२ सय डलर दिन सक्दैनौं, एक हजार डलर दिन्छौं भन्यौँ । कसैले ८ सय, कसैले ७ सय मात्र दिन सक्छु भनेर बार्गेनिङ गरेपछि प्रतिव्यक्ति ७ सय डलर तिर्ने शर्तमा हामी तयार भयौँ ।
नेपाली दलालहरूले राति २ बजेसम्म क्याम्पमा तिमीहरूलाई लिन गाडी आउँछ भने । तर, गाडी आएन । हामी भित्रपट्टि सिभिल ड्रेस र बाहिर युनिफर्म लगाएर तयारी अवस्थामा बसेका थियौं । टोपी आर्मीकै लगाउने । बाहिर हिँड्दा युनिफर्ममा जाने, ट्याक्सीमा चढेपछि फुकालेर फाल्ने । हाम्रो प्लानिङ त्यस्तो थियो ।
हामी एउटा पालका ६ जना र अर्को पालका दुईजना तयारीका साथ बस्यौँ । तर, गाडी आएन । त्यसपछि अब त मरियो भनेर हाम्रो मनोबल नै डाउन भयो ।
दोस्रो योजना
अब कसरी भाग्ने ? सोच्नु त पर्यो । रोस्तोवको मैदानी भाग । आँखाले देखिनेजति सबै आर्मीको एरिया छ । १८ किलोमिटर त बाटै छ । बाटोभन्दा बाहिर हिँड्नै सकिन्न, हिलो छ । भागौँ भने क्रिटिकल छ । पैदल भाग्दा सेनाले समातिहाल्छ । समातेर क्याम्पमा बुझाइदियो भने भगौडाका रुपमा जेलसम्म हाल्न सक्छ ।
एकचोटिलाई वार्निङ दिएर अर्कोचोटि यसो गरिस् भने जेल हाल्छु भनेर अल्टिमेटम पनि दिन सक्छ । नरजबन्दमा पनि राख्न सक्छ । हामीभन्दा पछाडिका त यसै गरी समातिइसके । अर्को दिन हामी दुईजना पेट दुःखेको बाहना गरेर फायरिङ गर्न नगई बिदामा बस्यौँ । दिउँसो क्यान्टिन चलाइरहेकी रुसी महिलालाई भेट्न गयौँ ।
ती महिलाका पतिले रोस्तोव सुपरमार्केटबाट क्यान्टिनलाई चाहिने सामान ढुवानी गर्थे । त्यो गाडीलाई सेनाले चेकिङ नगरी फ्याट्ट गेट खोलिदिने गरेको हामीले देखेका थियौं । त्यो सुरक्षा चुक हामीले पहिल्यै पत्तो पाइसकेका थियौं ।
त्यसकारण यही गाडीबाट भाग्न सहज छ भन्ने हामीले इन्फर्मेसन पायौँ । आफ्नो एकजना भाइ बिरामी भएकाले तत्काल बाहिर जानुपर्ने भयो भनेर ती रुसी महिलालाई भन्यौँ । त्यसपछि दिउँसो ११ बजे २ जना त्यहाँबाट रोस्तोव सुपर मार्केटसम्म उम्कन सफल भयौँ ।
त्यो दिन अरु साथीहरूको आरएल फायरिङ थियो । यो भनेको एन्टी ट्यांक बम हो । यो नेपालमा आर्मीसँग होला, प्रहरीसँग छैन । हाम्रो टोलीलाई फाइरिङबाट दिउँसो २ बजे क्याम्पमा फिर्ता गरियो । सबै खाना खान गए, हामीमध्येका तीनजना खाना नखाई भित्र सिभिल कपडा र बाहिर युनिफर्म लगाएर स्टाण्डबाई बस्यौं । तर, हामीलाई फेरि नाइट फाइरिङमा लैजाने संकेत आयो ।
सायद दुईजना नेपाली बाहिर गएको थाहा पाएर नाइट फायरिङको सेड्युल बनाएको हुन सक्छ । त्यति गर्दा पनि चार बजेतिर मसहित तीनजना त्यही सामान ढुवानी गर्ने ट्याक्सी चढ्न सफल भयौँ । रोस्तोव सुपरमार्केटबाट मस्को जाने टोलीमा हामी पाँचजना भयौं ।
तर, एउटा ट्याक्सीमा तीन जनाभन्दा बढी चढ्न नपाइने । त्यहाँ पनि पैसा नै चाहियो । ५५ हजार लेउ भन्छ, कहिले ७० हजार भन्छ । बार्गेनिङ गर्दागर्दै बेलुका ७ बज्यो ।अन्ततः साँझ सवा ७ बजे बढी रकम तिरेर हामी पाँचैजना रोस्तोव सुपरमार्केटबाट मस्कोका लागि तयार भयौँ ।
मस्कोबाट नेपाली दलालले मलाई अन द स्पट ३० हजार रुबेल हालिदियो । मैले हामी आपत पर्यौँ, तपाइको शरणमा आउँदैछौँ भनेर असाध्यै अनुनय गरेपछि उसले त्यति पैसा मेरो खातामा हालिदिएको हो । मसँग साथमै ३ हजार रुबेल थियो । यही पैसाबाट हामी ५ जना एउटै ट्याक्सीमा मस्को आयौं ।
सोल्मा असाध्यै मीठो !
ट्याक्सीमा रोस्तोवबाट मस्को करिब १२–१३ घण्टाको बाटो रहेछ । ट्याक्सी प्रतिघण्टा १८० किलोमिटरको गतिमा हिँड्छ ।
बाटोमा क्रस चेकिङको सवालमा हामीसँग पासपोर्ट थियो । हामी आपराधिक क्रियाकलापमा परेका मान्छे पनि भएनौँ । हामीले सातवटा चेकपोइन्ट क्रस गर्दा ड्राइभरले ३५ सय रुबेल ट्याक्स तिरेको हामीलाई सुनायो ।
हामीले ट्याक्सीवालासँग सौहार्द व्यवहार गर्यौँ। जहाँ रोकिन्छौं, कफी, खाजा खुवायौं । रोटीमा चिकेन राखेको सोल्मा भन्ने हुँदोरहेछ, असाध्यै मीठो, त्यो खुवायौं । अनि इनर्जी जुस । ठूलो सुख्खा रोटीभित्र तरकारी, चिकेन राखिएको सोल्मा असाध्यै मीठो ! बाटामा उसलाई खुवाउँदै ल्यायौं, ऊ असाध्यै खुशी भयो ।
हामी भागेको भन्ने कुरा उसलाई शायद थाहा थियो । तर, उसले व्यक्त गरेन । भाषाको पनि समस्या थियो ।
बाटैबाट तेस्रो टोलीको उद्धार
हामी मस्कोतर्फ लागिसकेका थियौं । क्याम्बाट सुपरमार्केट आउँदा हामीले ट्याक्सीवालालाई पहिलोपटक २५ सय दियौं, दोस्रोपटक ३ हजार । तेस्रोचोटि ४ हजार दिन्छौं, तिमी गएर अरु साथीहरूलाई पनि क्याम्पबाट निकालेर ल्याऊ भन्यौँ ।
सामान ओसार–पसारमा हिँडिरहने उसको ढुवानीवाला गाडी आयो कि चेकिङमा रहेको आर्मीले फटाफट गेट खोलिहाल्थ्यो । शायद त्यो पहिलो घटना थियो । उसले फोनबाटै मिलाएर राति १०ः४० मा अर्को ग्रुपलाई रोस्तोव सुपर मार्केटसम्म निकाल्यो । त्यो ग्रुपमा मेरो भाइ, इन्डियन आर्मीमा काम गरेको नेपाली र अर्का एकजना नेपालीसमेत थिए । उनीहरु तेस्रो लटमा सुपर मार्केटमा आइपुगे ।
राति फायरिङ् गरेर आएपछि उनीहरूले आफ्ना बन्दुक बुझाए । हामीले जिम्मा लगाएका बन्दुक पनि बुझाए । तर, शुरुमा उनीहरुले ट्याक्सी पाएनन् । राति साढे ९ बजेसम्म त उनीहरु बन्दुक बुझाउँदै थिए । ट्याक्सी बाहिर खडा भइसकेको थियो ।
ट्याक्सीवालाले हामीलाई खबर गरिरहेको छ । हामी ओके ब्रदर, १० मिनेट पर्ख भनिरहेका छौं । बिचरा, त्यो ट्याक्सीवालाले असाध्यै धर्म गर्यो। राति ९ बजे रोलकल हुन्थ्यो, केही छनक पाएर होला, त्यो दिन रोलकल पनि गरेन रे । पछि बुझ्दा ८ जना नेपाली भागे भन्ने संकेत पाएपछि रुसी सेनाले अरुको पासपोर्ट थुतिसक्यो भन्ने सुन्यौं । हाम्रो पालका ६ जना फायरिङमा छन् भन्ने भयो, सेकेन्ड पालका दुईजना भागेको उनीहरूले सुइँको पाए । हामी भागेपछि त्यहाँ रहेका साथीहरूलाई अप्ठ्यारो पर्यो ।
मेरो भाइसहित तीनजना साथीहरू रातारात सुपरमार्केटसम्म त निस्किए तर उनीहरूले मस्को आउने ट्याक्सी पाएनन् । बाहिर चिसोमा राखौं, मान्छे मरिहाल्छ, पुलिसले भेट्टायो भने लगिहाल्छ । फरक कलर छ, भाषा छैन । उनीहरुले एउटा होटल स्टे गरे । हामीलाई मस्को ल्याउने ट्याक्सीवालाले सहयोग गर्यो । होटलवालासँग फोनमा कुरा गर्यौँ। हामीलाई चाहिँ के लाग्यो भने अब तिनीहरु समातिन्छन् । ट्याक्सी पनि पाएनन्, होटलमा पनि ओभरस्टे छ ।
हामीले कन्भिन्स गरेपछि हाम्रो ट्याक्सीवालाले बाटैबाट राति तीन बजे आफूले चिनेको होटलमा सिफ्ट गरायो । यसबापत हामीले १० हजार तिर्यौँ । भोलिपल्ट बिहान उनीहरु तीनैजना ५५ हजारमा ट्याक्सी रिजर्भ गरेर मस्कोतिर आए । हामी एउटै होटलमा बस्यौँ ।
मस्कोमा अर्को फन्दा
मस्कोमा हामी फेरि अर्को फन्दामा पर्यौँ । हामीलाई त्यहाँ नेपाली दलालहरूले समाए । तपाईँहरूलाई अब भिजिट भिसामा अल्बानिया पठाउँछौं भने । ग्रिस जानुहुन्छ भने मासिक ६ सय युरो कमाइ हुन्छ भने । अथवा, जर्मनी पठाउन सकिन्छ भने । यसरी प्रलोभनमा पारेर हामीबाट फेरि पैसा झार्ने षड्यन्त्र रचे ।
हामीले पनि बुझ्नै पर्यो । दलालको विश्वास नगरौँ भने दलालले नै यहाँसम्म ल्याएका छन् । एउटा ग्रुपले जर्मनीतिरको कुरो बुझ्ने भन्यो, अर्को ग्रुपले ग्रिसतिरको बुझ्ने भन्यो । हामी दुईवटा समूहमा बाँडियौँ । जर्मनीको बुझ्न अर्को होटलमा निस्किएको टोलीले साह्रै दुःख पायो । रक्सी र बंगुर खाँदाखाँदै ल पुलिस आयो, भागौँ भनेका छन्, होटल सरेको छ । हामीलाई बरु त्यसो गरेनन् ।
हामी एक हप्तासम्म मस्कोमै रिङ्गियौं । त्यसपछि बल्ल ल अब यसरी हुँदैन, यिनीहरूले फसाउँछन्, नेपालै फर्कनुपर्छ भन्ने निधो गर्यौँ । यिनीहरूले केही नलागेपछि त्यहाँको पुलिस लगाएर हामीलाई समाएर पैसा खाने अथवा रोस्तोवतिरै फर्काइदिने स्थिति सिर्जना गर्लान् भन्ने मलाई आशंका भयो । म पूर्वप्रहरी भएको नाताले यस्तो शंकालु सोच पलायो । हामीले जसरी पनि स्वदेश फर्कनुपर्छ भन्ने सोच्यौँ ।
मस्कोमा नेपालीबाटै लुटिन्छन् नेपाली
हामीले मस्कोमा नेपालीहरूबाट असाध्यै अप्ठ्यारो स्थिति भोग्यौँ । शनिबारको दिन, नेपालबाट पैसा पठाउने अवस्था पनि छैन । ग्रिस, जर्मनी पठाउँछु भन्दै दलालहरूले धेरै नेपालीलाई बन्धक बनाएर राखेको सुनियो ।
राति ११ बजे (नेपालको २ बजेतिर) दलालहरू हामी दाजुभाइ बसेको होटलमा आए । ल, यहाँ खतरा छ, तपाईँहरूले होटल छोड्नुपर्यो भने । त्यहाँबाट फेरि एक हजार जरिवाना तिरेर अर्को होटलमा सिफ्ट भइयो ।
हामी रातभरि सुतेनौँ । तीनजना इन्डियनहरू आफ्नो मान्छेलाई सम्पर्क गरेर राति नै टिकट काटेर २ बजेको एयर अरेबियामा उडिहाले । हामी दुई भाइ दोस्रो होटलमा आएर बस्यौँ । एयरपोर्ट नजिक भएको हुनाले होटलमा मानिसहरु आउँदा जाँदा मलाई एकदम डर लाग्न थाल्यो । मेरो त मोराल नै डाउन भयो । दिमागले पनि काम गर्न छाड्यो ।
राति ३ बजे फेरि दलालहरू होटलमा आए । उनीहरूले ढोका ढकढक गर्दा मेरो होस गयो । आयो पुलिस भन्ने भयो । ठीकै छ, अब मरिन्छ भने पनि ठीकै छ भनेर ढोका खोलेँ । ढोका खोल्दा त दलालहरू पो आएका रहेछन् ।
तिनीहरूले नेपालीलाई ओसार–पसार गर्ने, अनि पैसा लुट्ने । पैसा नदिनेहरूको ‘यी मसँग ८ जना नेपालीको पासपोर्ट छ’ भन्दै मलाई देखाए । पैसा नदिनेलाई त यस्तो गर्छु नि मैले भन्छन् ।
मैले ठीकै छ हजुर गर्नोस् भनेँ । म हजुर–हजुर गरेर, असाध्यै अनुनय गरेर बसेँ । उनीहरूलाई आक्रमण गर्न त सकिन्थ्यो, तर त्यसो गर्नेबित्तिकै पुलिस आउँछ, हामीलाई कैदी बनाएर लैजान्छ । हामी आर्मी क्याम्पबाट भागेर ७ दिन सम्पर्कविहीन भएका छौं ।
मैले त्यो दलाल केटालाई भनें, ‘ल भाइ तिमी नेपाली हौ । एक नेपाली भएका हिसाबले हामीलाई सहयोग गर । हामी अब अन्तिम अवस्थामा भयौँ । तिमीले सहयोग गर्यौँ भने बाँचेर नेपाल जाऔँला । नेपाल आमा, नेपाली धर्तीमा पुग्न पाऔँला । तिमीले सहयोग गरेनौ भने पुग्दैनौँ । विकल्प यत्ति दुईटा छन् ।’ मैले यत्ति भनिसकेपछि उसले भन्यो, ‘हैन, तपाईँहरूलाई गाह्रो छ । हाम्रा मान्छेले यहाँ हात्ती छिराउँछन् । एउटा कागज बनाउनुपर्छ, पैसा लाग्छ ।’
मैले भनें, ‘हुन्छ, जति लाग्छ दिन्छु तर आज शनिबार छ, नेपालबाट पैसाको काम हुँदैन, भोलि आइतबार खातामा पैसा पठाइदिएपछि पैसा के कति लाग्छ, हामीलाई नेपाल पठाइदिनोस् ।’
पैसा मगाउनुपर्ने भएपछि मैले उसलाई ४९ सय रुबेल जति दिनुपर्ने देखियो । तर, उसले १५ हजार लिनुपर्ने भन्यो । मैले तत्कालै १५ हजार रुबेल दिएँ । उसले जति भने पनि त्यहाँ मैले आफ्नो प्राणका लागि दिनैपर्थ्यो । त्यसपछि ऊ गयो ।
हामी होटलमा दुईजना मात्र छौं । भाइसँग मैले के सल्लाह लिनु ? अनभिज्ञ छ, व्यवहारमा परेको पनि छैन । अझ ऊ यति गरिसकेपछि केटाहरूले नेपाल पठाउँछन्, विश्वास गरौँ भन्छ । मलाई एकदमै अप्ठ्यारो महसुस भयो । रातभरि सुतिनँ ।
नेपालमा एकजना कन्सल्टेन्सीको साथी चिनेको थिएँ, राति नै उसलाई टिकट हेर्न लगाएँ । उसले टिकट छ भन्यो । पैसा नेपाल आएर व्यवस्था गर्छु, नभए मेरो घरमा गएर लैजाऊ भनेपछि उसले दुईवटा टिकट हाल्दियो ।
हामीले दलालहरूलाई छक्याउन तीन दिनका लागि होटल बुकिङ गरेका थियौं । दलालहरू निदाइरहेका थिए, त्यहीबेला हामी दुबै दाजुभाइ होटलबाट बाहिर निस्कियौं । बिहानको राति छ ।
दो ब्रोए उत्रा !
नेपालमा ‘पठाओ’ भनेजस्तै मस्कोमा ‘गो टु’ भन्ने छ । साथमा रहेको मोबाइलबाट ‘गो टु’ गर्छु, मरेकाटे हुँदैन । ढंग पुगेन । बेल्चाले बाटोको आइस पन्छाउने मानिस होटल अगाडि काम गरिरहेको अवस्थामा भेटिए । दो ब्रोए उत्रा ! मैले रसियन भाषामै ‘गुड मर्निङ’ भनेपछि उसले ओके–ओके भन्यो ।
मैले भनें– ट्याक्सी, एयरपोर्ट । उसले अंग्रेजी बुझ्दैन तर एयरपोर्ट भनेको त बुझ्छ । ट्याक्सी भनेको पनि बुझ्छ । ‘ओके ट्याक्सी’ भन्दै यसले मेरो मोबाइल माग्यो । तर, मेरोमा त अनलाइन छैन । त्यसपछि उसले आफ्नै मोबोइलबाट ‘गो टु’ गर्दियो ।
हिउँमा कोरेर १५ मिनेटपछि ट्याक्सी आउँछ लेख्यो । त्यो १५ मिनेट हामीलाई १५ घण्टाजस्तो लाग्यो । झोला पनि छैन, एउटा प्लाष्टिक छ । एउटा ट्याक्सीको छेउमा ओत लागेर बसेका छौं । ट्याक्सी आयो । ट्याक्सी ००१६ नम्बरको आउँछ भनेर उसले आइसमा लेखेको छ । १२ सय दे भनेर आइसमै लेख्यो । अनि हामी सरर ट्याक्सी चढेर २५/३० मिनेटमा एयरपोर्ट आयौं र गेटभित्र छिर्यौं ।
अर्को जुनी पाइयो
एयरपोर्टभित्र पसिसकेपछि हामी एयर अरेबियाको बोर्डिङ पासमा गयौँ । बोर्डिङ पास सट्ट दिइहाल्यो । माथि चढ्यौं । अध्यागमनमा हामीलाई एकछिन रोक्यो । पासपोर्ट खिच्यो र हामीलाई कुर्सीमा राख्यो । रोक्छ होला भन्ने लाग्यो । तर, जे पर्छ पर्छ, हामीले एक किसिमको आँट गर्यौँ । १५ मिनेटपछि कर्मचारी पासपोर्ट लिएर आयो । हाम्रो अगाडि–पछाडि एकदम हेर्छ ।
पासपोर्ट हेर्छ, मान्छे हेर्छ । समात्छ जस्तो गर्छ । तर, ठ्याक्क पासपोर्ट दियो । हाम्रो प्राण आयो । हामी शारजाह ट्रान्जिट हुँदै नेपाल फर्कियौँ ।
शारजाह एयरपोर्टबाट मैले मस्कोमा फोन गरेर त्यो नेपाली दलाललाई थर्काएँ । तँ त हात्ती छिराउने मान्छे, तँ जति समय मस्कोमा बसेको छन्, म त्यति बसेको भए तेरो पिस–पिस बेचेर निस्किने थिएँ । तँ हात्ती छिराउँछु भन्थिस् तैँले थाहै नपाई छिरेँ । अब मेरो पैसा फिर्ता गर्छन् कि के गर्छस् ?
हुन्छ सर, फिर्ता गर्छु भन्यो, पछि इन्डियाको खाता नम्बर दिएपछि १० हजार पठाएछ । त्यस्ता बदमास नेपालीहरूबाटै ज्यान जोगाएर आफ्नो मातृभूमिमा आइयो ।
सबैमा मेरो अनुरोध के छ भने अरु नेपालीहरू रसिया नजाउन् । यसका लागि सरकारले पहल गरोस् भन्न चाहन्छु । त्यहाँ रहेका नेपालीलाई फर्काउनुपर्यो र थप जानबाट रोक्नुपर्यो । रसियन दूताबासले सहज हिसाबले टुरिस्ट भिसा दिन्छ, त्यही लिएर नेपालीहरू गइरहेका छन् ।
कन्ट्याक्ट साइन नगरीकन हो भने ऊ फर्कन सक्छ तर कन्ट्याक्ट साइन गर्यो कि ऊ फस्यो । कन्ट्याक्ट साइन गर्नु नै फस्नु हो । अब नेपाल सरकारले यसलाई रोक्नुपर्छ । त्यहाँ गएको मान्छे एकजना फर्कँदैनन्, यो कुरा लेखेर राख्नोस् ।
नेपाल सरकारले फर्कायो भने फर्कायो, नत्र लडाइँ सफल भएर ऊ फर्कने चान्सै छैन । त्यहाँको अवस्था हेर्दा त म बाँचेर आउँछु भन्ने आशै थिएन । अर्को जुनी लिएर आइयो ।
धेरै नेपाली मरिसकेका छन्
रसियन आर्मीमा भर्ती भएका अहिलेसम्म ७ जना मात्र होइन, धेरै नेपालीहरू मरिसकेका छन् । करिब डेढ–दुईसय नेपालीहरू हताहत भएको हुन सक्छ । हामी रोस्तोभको क्याम्पमै दुई अढाइ सय नेपाली थियौं । हामी जुन दिन भाग्यौं, त्यो दिनमात्रै ८० जना मानिसहरु क्याम्पमा पुगेका थिए ।
हामी काठमाडौंबाट हिँड्दा ८ जना गयौँ, क्याम्पमा पुग्दा २६ नेपाली भइसकेका थियौं । शारजाह एयरपोर्टबाट केही थपियौं, सेलेक्सन सेन्टरमा गइसकेपछि नेपाली नै नेपाली भए ।
जहाँ हामी फस्ट क्याम्पमा गयौं, त्यहाँ त दुई अढाइ सय नेपालीहरू पुगिसकेका थियौं । त्यहाँबाट छनोट भएर सेकेन्ड क्याम्पमा पुग्नेहरू पनि प्रशस्त थिए ।
तलबको भ्रम
तलबको कुरो गर्दा म्यानपावरको दलालले हामीलाई मासिक १ लाख ९५ हजार हुन्छ भनेका थिए । तर, तलब विशुद्ध ३४ हजार रुबेल रहेछ । ३४ हजार रुबेल भनेको करिब ५० हजार नेपाली रुपैयाँ हो ।
हामीले खान नपुगेर चाउचाउ, चिजबल र पानीसमेत किनेर खायौँ । पैसाले नपुगेर मैले ४ सय डलर घरबाट मगाएँ । डलर पनि कमिसनमा । नेपालमा सय डलरको मूल्य १३ हजार छ, दलालहरुले ७ हजारका दरले दिन्छन् । त्यहाँ नेपालीहरूलाई असाध्यै पीडा छ ।
रसिया र नेपालबीच पैसा पठाउने कुनै संयन्त्र छैन । पैसा झिकाउँदा दलालहरूले त्यहाँ पुगेका नेपालीसँग डलर साट्छन् । हामीले तिनै दलालका माध्यमबाट लिने र यता नेपालमा आफन्तलाई पैसा तिरिदिने । डलरको भाऊ १३ हजार छ, उता हामीले ७ हजार पाइन्छ । यसमा पनि दलालले मोटो रकम कमिसन खान्छन् ।
रुसमै बैंक खाता त खोलिएको हुन्छ र त्यहीँबाट नेपालमा पैसा पठाइन्छ भन्ने कुरा वाहियात हो । त्यसरी प्रत्यक्ष पैसा पठाउने संयन्त्र नै छैन । भारतमा चाहिँ सोझै पठाउन सकिन्छ ।
नेपालीको खातामा आउने तलब दलालहरूलाई उनीहरूले मागे अनुसारको कमिसन दिएर उब्रेको पैसा इन्डिया पठाउने, अनि इन्डियाबाट नेपाल पठाउने हो ।
मस्कोमा नेपाली दलालहरुको बिगबिगी रहेछ । शोभराज उपनाम गरेका मनोजकुमार जोशी काठमाडौंको बालाजुतिर घर बताउँथे । उदयपुर घर बताउने रसिया पढ्न गएका अनुप दनुवार पनि दलाली र ब्ल्याकमेलिङको धन्दामा लागेका रहेछन् ।
नेपालबाट रसियामा हात्ती छिराउँछौं भन्ने रुपन्देहीका ‘आलम सर’ भनेर चिनिने युवक डाक्टरी पढ्न गएका, दलालीमा पीएचडी गरेर निस्किएछन् । सन्दीप कार्की भन्ने अर्का नेपाली दलाल पनि मस्कोमै भेटिए, जसले काठमाडौंमा ‘विवेक भाञ्जा’लाई पैसा जम्मा गर्ने कार्यमा खटाएको पाइयो । यसरी नेपालीले नै नेपाली दाजुभाइलाई लुटेको देख्दा असाध्यै दुःख लाग्यो ।
बाध्यताले गइयो, टिकटकले फसायो
दलालहरू धेरै बाठा रहेछन् । तर, मेरो आफ्नो व्यक्तिगत समस्या पनि हो । मेरो एउटा छोरो छ, एउटा छोरी । पेन्सन पर्याप्त छैन । छोराछोरीले राम्रो स्कुल पढ्छौं भन्छन् । म घरको जेठो छोरो हुँ । बुबाआमा, भाइ बहिनीहरूको दायित्व मैसँग छ ।
यही भएको हुनाले जाऔँ न त, सैन्यसम्बन्धी मलाई ज्ञान पनि छ । म आफैंले आफैंलाई बन्दुक हानेर भए पनि सुरक्षित हुन्छु भन्ने कुराले पनि आँट दियो । म आफैंलाई गोली हान्न सक्छु र म सुरक्षित रहन सक्छु, यही आँट बोकेर गएँ । तर, जोशले मात्रै नहुनेरहेछ ।
नेपालमा टिकटक बन्द भएर राम्रो भएको छ । टिकटकका कारणले पनि हामी रुसी सेनामा भर्ती हुन गएका हौं । ड्रेस पनि आकर्षक, तलब पनि आकर्षक, अत्याधुनिक हतियार चलाउन पाइने भन्दै टिकटक बनाएर नाचेको देखेपछि म पनि प्रलोभनमा परेँ ।
१९ लाख सकियो
म ७ लाख रुपैयाँ बुझाएर गएँ । आउँदाखेरि ९४ हजार टिकट लाग्यो । ब्ल्याक सीको रोस्तोवबाट मस्को आउँदा मैले १४ हजार र भाइले २४ हजार खर्च गर्याैँ । हामी दाजुभाइको जोड्दा १९ लाख बराबरी खर्च भयो । कमाइ त एक महिनामा जिरो । पानीसमेत किनेर खाइयो । घरबाटै पैसा पठाउनुपर्यो ।
मस्कोमा सात दिन बस्दा हामीले नेपाली दूताबासमा सम्पर्क गरेनौं । दूताबासमा सम्पर्क नगरी नेपाल फर्कन सम्भव पनि भयो । दूताबासका कर्मचारीसमेत कतै नेपाली दलालहरुसँग मिलेका छन् कि भन्ने डर लाग्यो । काठमाडौं फर्केपछि प्रहरी कार्यालयमा केही दलालहरुको नाम र नम्बर लिएर गएको थिएँ, तर प्रहरीले खासै वास्ता गरेन । एयरपोर्टबाट सजिलै मान्छे छिराउन सक्ने दलालहरुको सेटिङ सबैतिर छ जस्तो लाग्यो ।
भिसाको म्याद सकिए पनि समस्या भएन
मेरो टुरिस्ट भिसा २७ दिनको लागेको थियो । मस्कोमा रहँदा १३ दिन ओभर स्टे भैसकेको थियो । रुसमा धेरै अवैध मानिसहरु बस्दारहेछन् । त्यहाँ बाहिरका मान्छेहरु धेरै रहेछन् । उनीहरूले आपराधिक काम गरेका छैनन् भने भिसाको म्याद सकिए पनि असर गर्दोरहेनछ ।
हामी ओभर स्टे भए पनि एक सातासम्म ट्याक्सीमा मजाले मस्को घुम्यौं । आर्मीबाट भागेको मानिस त ब्ल्याक लिस्टमा हुनुपर्ने हो, तर त्यहाँको सिस्टम लथालिंग रहेछ । शायद युद्धले गर्दा यस्तो भएको होला । खासमा भन्ने हो भने त हामी आर्मी नै हैन । हामी विशुद्ध वाग्नर ।
युक्रेनमाथिको आक्रमण बेकार
रुसले युक्रेनविरुद्धको लडाइँमा कैदीहरूलाई प्रयोग गरेको पाइयो । प्रत्येक घरका एकजनालाई अनिवार्य सेनामा पठाउनैपर्ने रहेछ । साइक्याट्रिक, दाँत नभएका, खुट्टा छोटा भएका, आधा खुट्टा मात्रै भएका मानिसहरु पनि ट्रेनिङमा गएको अवस्था देखियो । यस्ता मान्छे लिएर लडाइँ जितिन्न भन्ने हामीले यकिन गर्यौँ ।
तलब नदिई भातका भरमा युद्धमा पठाएर मान्छे मारेर युक्रेनका ड्रोन, हतियारमा क्षति पुर्याउने अहिलेको रसियाको रणनीति देखियो । यस्तो पाराले युद्ध जित्ने सम्भावना शून्य दशमलव शुन्य प्रतिशत मात्र छ । किनभने, युक्रेन अत्याधुनिक हतियारसहित बंकरमा छ । अहिलेसम्म रुसले ३३ प्रतिशत भूमि कब्जा गर्न सफलता पाए पनि युक्रेन बंकरभित्र सुरक्षित छ ।
युक्रेन देश जोगाउन लडिरहेको छ, यता भाडाका सिपाहीहरुसँग मनोबल नै छैन । नेपालीहरुको पनि मनोबल छैन, अरु देशका भाडाका सिपाहीको पनि मनोबलै छैन । मर्ने मान्छे, ऊ आफैं अशक्त छ । हतियार चलाउनै जान्दैन । यो स्थितिमा कसरी रुसले युद्ध जित्छ ?
नेपालबाट जाँदा मेरो बुझाइ के थियो भने अत्याधुनिक हतियार र मिसायल हानेर क्लियर गर्न जाने होला । तर, त्यो गलत रहेछ । विशुद्ध हामी चौरमा हुन्छौं, युक्रेनचाहिँ बंकरमा छ । मैले सोचेको थिएँ, रसियासँग त्यत्रो अत्याधुनिक हतियार छन् । धनी राष्ट्र छ । त्यसैले अत्याधुनिक तरिकाले लडाइँ लडौंला, खाना पनि प्रोफेसनल देला ।
तर, ट्रेनिङ गराउने ठाउँ बरु नेपालमा व्यवस्थित छ । पानी छ, नुहाउने व्यवस्था छ । त्यहाँ त नुहाउनका लागि एकहप्ता कुर्नुपर्छ । एउटा गाडी आउँछ, त्योभित्र छिरेर ८ जनाले नुहाउने हो । ११ दिनमा एकदिन नुहाउन पाइयो । जुम्रा पर्ने अवस्था छ । खानेपानी पनि छैन । पौष्टिक आहार त परको कुरा ।
मलाई त रुसले युक्रेनमाथि गरिरहेको आक्रमण नै बेकार हो जस्तो लाग्यो । त्यत्रो भूमि छ, रुससँग । यो साम्राज्यवाद हो, एकात्मक चिन्तन हो जस्तो लाग्यो मलाई । यो लडाइँ आवश्यकजस्तो देखिनँ ।
मैले युक्रेनतर्फ पनि नेपालीहरू छन् रे भन्ने सुनेको छु । नेपालीहरू हुनु त्यो राम्रो पक्ष होइन । रुसले अत्याधुनिक हतियारबाट आक्रमण गर्यो भने युक्रेनमा रहेका पनि बाँच्दैनन् । बंकर नै आइस बनाइदिने खालका हतियार छन् रसियासँग । यो अवस्थामा दुवैतिरका नेपालीहरू मर्छन् ।