फाइल तस्वीर

समाचार

सभापति देउवाद्वारा मेहताको निधनप्रति दुःख व्यक्त

By खबरहब

December 18, 2023

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सुनसरीका पार्टी नेता लालीप्रसाद मेहताको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाका तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी कांग्रेस सुनसरीका नेता एवं देवानगञ्ज गाउँपालिकाका निवर्तमान अध्यक्ष मेहताको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

 सभापति देउवाले स्व मेहताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका मेहताको ७८ वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय मेहताले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै उनको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।