ब्रेकिङ स्टोरी

सर्वोच्चमा प्रस्तावित न्यायाधीशको सकियो सुनुवाइ, अनुमोदन बुधबार हुने

By खबरहब

December 18, 2023

काठमाडौं – सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका ६ जनाको संसदीय सुनुवाइ सकिएको छ ।

गत शुक्रबारबाट सुरु भएको संसदीय सुनुवाइ आज कानुन व्यवसायीवाट सिफारिस भएका वरिष्ठ अधिवक्ता सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको नाममा सुनुवाइ भएसँगै सकिएको हो ।

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि उच्च अदालतका न्यायाधीशहरू सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गाना तथा कानुन व्यवसायीबाट सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।

न्याय परिषदको सिफारिसमाथि संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिमा सुनुवाइ भएको थियो ।

संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वानसमेत गरेको थियो । समितिमा उजुरी परेका प्रस्तावित न्यायाधीशहरुले संसदीय सुनुवाइका क्रममा सांसदहरुले राखेका प्रश्नको जवाफ पनि दिएका थिए ।

संसदीय समितिमा सुनुवाइ सकिएपछि अब उनीहरुको नाम समितिबाट अनुमोदन हुनुपर्नेछ । अनुमोदनका लागि समितिको बैठक बुधबारका लागि बोलाइएको छ ।

उनीहरूको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा राष्ट्रपतिबाट शपथ लिई सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज गर्न पाउनेछन् ।