काठमाडौं- मोटरसाइकल चोरीमा संलग्न एक जनालाई सोमबार काठमाडौंको टोखाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिका ७ घर भइ हाल काठमाडौं बस्दै आएका २८ वर्षीय मान बहादुर तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।
बागमती प्रदेश ०२–०३६ प ५१९२ नम्बरको मोटरसाइकल काठमाडौंको भिमसेनस्थानबाट हराएको भनी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन प्राप्त भएको थियो।
वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०३८ प ६७१६ नम्बर राखी चलाइरहेको अवस्थामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाइबाट खटिएको टोलीले मोटरसाइकलसहित फेला पारी चोरीमा संलग्न तामाङलाई टोखाबाट सोमबार नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा आएका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जनसेवा पठाइएको छ।