काठमाडौँ – पछिल्लो समय नेपालमा महिला प्रजनन स्वास्थ्यमा धेरै समस्याहरू देखा परेका छन् । त्यसै मध्ये एक हो कम तौल भएको बच्चा जन्मिनुलाई पनि लिएको छ । बच्चाको कम तौल हुनुमा प्रमुख कारणका रूपमा महिना नपुगी जन्मिनुलाई लिएको चिकित्सकहरूको भनाइ छ । नवजात शिशुको मृत्युको विभिन्न कारणमध्ये महिना नपुगी जन्मिनु पनि एक हो । त्यसैले किन र कसरी कम तौल भएको बच्चा जन्मिन्छ त ? कसरी हेरचाह गर्ने लगायतका विषयमा आधारित रहेर वरिष्ठ महिला तथा प्रजनन रोग विशेषज्ञ डाक्टर जागेश्वर गौतमसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:
कम तौल भएको बच्चा कसरी जन्मिन्छ ? साधरणतया १०० जना बच्चा जन्मिँदा ७ देखि ८ जना बच्चा कम तौल भएको हुन्छन् । मुख्य कारण भनेको महिना नपुगी जन्मिनु हो । बच्चा भित्र राम्रोसँग नबढेर पनि तौल कम हुन्छ । योनी र पाठेघरमा संक्रमण भयो भने व्यथा छिटो लाग्छ, जम्ल्याहा र तिम्ल्याहा बच्चा हुँदा, ढिलो विवाहले पनि पेटमा बच्चा बस्दैन र त्यसको लागि उपचार हुन्छ । ओभिलेशन इन्डक्सन भन्ने औषधि हुन्छ जसले धेरै अण्डा उत्पादन गर्दछ र धेरै बच्चा बस्न सक्छन् । त्यस्तो मा पनि छिटो बच्चा जन्मिन्छ । सामान्यतया महिलाको बच्चा जन्माउन उपयुक्त उमेर भनेको २० देखि ३० वर्ष हो । अहिले मान्छेले आफ्नो करियर बनाउँदा ढिलो विवाह गर्ने र आमामा डायबिटिज,प्रेसर, उच्च रक्तचाप लगायतका समस्याहरू हुने हुँदा तौल कम भएको बच्चा जन्मिन्छ ।
समय पुगेर पनि कम तौलको बच्चा किन जन्मिन्छ ? बच्चा नबढ्ने धेरै कारणहरू हुन्छन् । एउटा त बच्चा आफैमा समस्या, आमा समस्या, महिलामा आराम कम भयो भने, धेरै बच्चा हुँदा सानो सानो बच्चा जन्मिन्छन् ।
वास्तविक तौलमा जन्मिएको बच्चा र कम तौल भएको बच्चामा कस्तो फरक हुन्छ ? पेटभित्र बच्चाले आमाको शरीरबाट अक्सिजन, खानाहरू सबै पाउँछ । तर बाहिर आए पछि हरेक कुरामा उसले संघर्ष गर्नु पर्दछ, रोग लाग्ने सम्भावना बढी हुन्छ, तौल बढ्दैन । त्यसैले बच्चालाई सानो छ भने उपचार गर्नु पर्दछ । सामान्य बच्चा छ भने ठिक्क दूध खुवाउनु पर्दछ सानो बच्चा छ भने छिन छिनमा खुवाउनु पर्दछ, खोपहरू समयमा लगाउनु पर्दछ । तातो चिसोबाट बचाउनु पर्दछ । त्यो बच्चामा बंशाणुगत रोग छैन भने सामान्य हुन्छ ।
बच्चाको वास्तविक तौल कति हो ? बच्चाको वास्तविक तौल दुई किलो हुन्छ । त्यो भन्दा तलकोलाई सानो भनिन्छ र १ केजी ५०० ग्राम भन्दा सानो भयो भने त्यसलाई हामी धेरै लो भन्छौँ । त्यस्तो बच्चालाई बचाउन गाह्रो हुन्छ ।
एनआइसीयूमा कति समयसम्म राखेर ख्याल गर्नु पर्दछ ? सानो हुँदा उसलाई श्वास फेर्न गाह्रो हुन्छ । कसैलाई अक्सिजनले मात्र पनि हुन्छ तर कसैमा भेन्टिलेटरमा नै राखेर उपचार गर्नु पर्ने हुन्छ । फोक्सोको राम्रो विकास नभएको हुँदा सरफ्याक्टेन भन्ने औषधि दिनु पर्दछ । त्यो महँगो छ तर नेपालमा छ । खान सक्दैन उसलाई नशा र नाकबाट खुवाउनु पर्दछ । उसलाई पानी र अक्सिजन सबै चाहिन्छ । उसलाई इन्फेक्सन हुने सम्भावना धेरै हुन्छ । त्यसैले यस्ता सेवा दिन एन आइसियुको आवश्यकता पर्दछ । आफै खान सक्छ श्वास को मात्रा हावामा नै पुगेको छ भने आमालाई नै दिएर उपचार गर्छौँ । सानो बच्च छ भने हामी कङ्गारु मदर केयर भन्छौँ । त्यो भनेको आमाको छातीमा नै टाँसेर राख्ने प्रविधि हो ।
एनआइसियुबाट निकालेर घरमा लैजाँदा कसरी केयर गर्ने ? डाक्टरले आमालाई यसरी खुवाउने, यसरी नुहाउने भनेर सबै कुरा सिकाउनु हुन्छ । घरमा धेरै जोखिममा हामी घर पठाउँदैनौँ । बच्चाले समयमा खाएन भने, दूध चुसेन भने, धेरै दिसा गर्याे भने फोन गरेर ल्याउनु भन्छौँ ।
पछाडि कुनै असर गर्छ कि ? धेरै समय अक्सिजन दिएकोलाई आँखाको समस्या हुन सक्छ । त्यस्तोलाई हामी बिच बिचमा आँखाको डाक्टरलाई देखाई रहन्छौँ, श्वास फेर्न समस्या हुन सक्छ, तौल कम बढ्न सक्छ । जन्मिँदा सानो भयो भने पछि सामान्य पनि हुन्छ । अरूको दाँजोमा थारै समस्या हुन सक्छ ।
कम तौल भएको बच्चा नजन्मियोस् भनेर आमाले पहिला नै के के कुरामा ध्यान दिने त ? पहिला अलि युवा उमेरमा नै बच्चा जन्माउने । बच्चा सही विकास भएको छ कि छैन भनेर बेला बेला जाँच गर्ने, पर्याप्त मात्रामा खाना र आराम लिने, आमामा कुनै समस्या रोग छ कि छैन भनेर हामी जाँच गर्छौ । राती ८ घण्टा र दिउसो २ अण्डा सुत्नु पर्दछ गर्भवती महिला । आइरन क्याल्सियम र पहिलो ३ महिना फोलिक एसिड खायो, समयमा खोप लगाउँदा यस्तो समस्या हुँदैन । पाठेघरको योनिको मुखको इन्फेक्सन भयो भने त्यसको पनि जाँच गर्नु पर्दछ । त्यस्तो उपचार गर्दा महिना नपुगी बच्चा जन्मिने समस्या कम हुन्छ ।
घर परिवारले कस्तो ख्याल गर्नु पर्दछ ? यो गर्भावस्थालाई घरपरिवारले राज्यले पनि विशेष ध्यान दिनु पर्दछ । पोसिलो खाना खानु पर्दछ भनेर मात्र हुँदैन खाना पर्याप्त मात्रमा खुवाउनु पर्याे । अहिलेको २१ औँ शताब्दीमा जन्मेको बच्चा राम्रो र स्वस्थ हुनु पर्यो। ताकि भविष्यमा उसले राम्रो गर्न सकोस् । त्यसैले स्वस्थ हुन पहिला पेटबाट नै स्वस्थ हुनु पर्यो। राज्यले पनि स्वाथ्यलाई प्राथमिकतामा राख्नु पर्यो । विदेशमा स्विडेनमा १ वर्ष सुत्केरी बिदा दिन्छ राज्यले मजाले दूध खुवाउन । हुन त हाम्रोमा पनि ९८ दिन दिएको छ तर यतिले पुग्दैन, कम्तीमा पनि ६ महिना हुनु पर्यो। गर्भवतीलाई चाहिने सबै सामग्री औषधि घरमा नै पुर्याउनु पर्यो । जन्मिने बच्चा स्वास्थ्य भएन भने राष्ट्र कसरी स्वस्थ हुन्छ ।
एउटा वरिष्ठ प्रजनन् रोग विशेषज्ञ भएको नाताले के सन्देश दिन चाहनु हुन्छ ? गर्भवती महिला स्वस्थ हुन बेलैमा विवाह गर्ने र बच्चा ३० वर्ष भन्दा अगाडि नै जन्माउने, बच्चा बस्नु भन्दा अगाडि प्री नेटल काउन्सिलिङ एक पटक गर्नु पर्दछ । फोलिक एसिड खाने, यन्टीनेटल केयर घरपरिवारले राम्रो ध्यान दिने, गर्भ अवस्थाको ८ पटक जाँच गराउने व्यवस्था सरकारले गराउनु पर्दछ । बच्चा ठिक छ कि छैन भनेर अल्ट्रासाउन्ड गर्ने, राम्रो सुविधा भएको अस्पतालमा सुत्केरी गराउने ।
(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)