ब्रेकिङ स्टोरी

पर्यटनमन्त्रीद्वारा विमान दुर्घटनाबारे संसदलाई जानकारी

By खबरहब

January 19, 2023

काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक पर्यटनमन्त्री सुदन किराँतीले १ माघमा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परि निधन भएकाको शव आफन्तलाई बुझाउने कार्य भइरहेको जानकारी दिएका छन् ।

अहिले जारी प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रमेश लेखकले विमान दुर्घटनाबारे संसदलाई जानकारी गराउन माग गरेपछि सभामुखको भूमिका निर्वाह गरेका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले विमान दुर्घटनाबारे जानकारी गराउन मन्त्री किराँतीलाई समय उपलब्ध गराएका थिए ।

त्यसक्रममा मन्त्री किराँतीले विमान दुर्घटनामा परेर ज्यान गुमाएकाको शवको पोष्टमार्टम पोखरा मेडिकल कलेज र त्रिवि शिक्षण अस्पतालमा भएको जानकारी गराएका छन् । पोष्टमार्टमपछि शव आफन्तलाई बुझाउने कार्य भइरहेको पनि उनले बताए ।

दुर्घटनामा ७२ यात्रुको मृत्यु भएकोमा एक शिशुको शव फेला पर्न नसकेको उनले जनाए । उद्धारमा सरकारले सक्दो काम गरेको र मृतकका आफन्तलाई बिमाबापतको रकम भुक्तानीको विषयमा पनि सरकारले चासो राखेको उनले सुनाए ।