फाइल फोटो

समाचार

विद्युत् प्राधिकरणलाई विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता 

By खबरहब

January 19, 2023

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ । प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावट घटाएर सात दशमलव ४९ प्रतिशतमा झारेको छ । 

नियमितरूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले गत वर्षको मङ्सिरसम्मको वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष एक दशमलव ७४ प्रतिशत बिन्दुले घटाइएको छ । गत वर्ष मङ्सिरसम्मको वितरणतर्फको विद्युत् चुहावट नौ दशमलव २३ प्रतिशत थियो । गत आर्थिक वर्ष २०७८-७९ मा वितरणतर्फको समग्र विद्युत् चुहावट १० दशमलव ८६ प्रतिशत थियो ।

चालू आवको मङ्सिरसम्ममा वितरण प्रणालीमा चार अर्ब १४ करोड ७५ लाख युनिट विद्युत् प्राप्त भएकामा तीन अर्ब ८३ करोड ६७ लाख युनिट विद्युत् बिक्री भएको छ । एकतीस करोड सात लाख ७९ हजार युनिट विद्युत् चुहावट भएको छ । मङ्सिरसम्म प्रसारण लाइनतर्फको चुहावट चार दशमलव ५६ प्रतिशत छ । प्रसारण र वितरणतर्फ गरी मङ्सिरसम्ममा समग्र प्रणालीको विद्युत् चुहावट १२ दशमलव शून्य पाँच प्रतिशत छ । गत असारसम्ममा समग्र प्रणालीको विद्युत् चुहावट १५ दशमलव ३८ प्रतिशत थियो ।

प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत् चुहावटलाई १४ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई आठ दशमलव पाँच प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करिब सात वर्षअघि वितरणतर्फको चुहावट झण्डै २२ प्रतिशत रहेकामा अहिले घटाएर सात दशमलव ४९ प्रतिशतमा झार्न सफल हुनु ठूलो उपलब्धि भएको जानकारी दिए । प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने गरी सम्पूर्ण टोली परिचालन गरिएको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे ।

‘यस अवधिमा नयाँ सबस्टेसन निर्माण सम्पन्न भएको, सञ्चालनमा रहेका सबस्टेसनको स्तरोन्नति गरिएको, औद्योगिक क्षेत्रमा विद्युत् खपत बढेको, मिटर रिडिङलाई प्रभावकारी बनाउँदा ग्राहकमा सञ्चित रहेको युनिट बिलिङ हुँदा  चुहावट घटेको हो’, घिसिङले भने ।

हुकिङलगायतबाट हुने विद्युत् चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारवाही, ओभरलोड भएका सबस्टेसन र फिडर लाइनको सुदृढीकरण तथा नयाँ सबस्टेशनको निर्माण, कन्डक्टर, ट्रान्सफर्मर फेर्नेलगायतका काममा गरिएको ठूलो लगानीको नतिजा देखिएको उनको भनाइ छ ।

जाडोमा पहाडी र गर्मीमा तराई क्षेत्रमा प्राविधिक चुहावट केही बढ्नसक्ने उल्लेख गर्दै घिसिङले यसलाई ध्यान दिँदै चुहावटलाई वाञ्छित सीमाभन्दा तल झार्ने गरी काम भइरहेको बताए।

सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको हो । गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महशुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइएको छ ।

सबैभन्दा बढी विद्युत् चुहावट मधेस प्रदेशमा

प्राधिकरणका सात प्रादेशिक कार्यालय र दुई प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरको रहेको  छ । प्रादेशिक कार्यालय जनकपुर मातहतका २३  वितरण केन्द्रको मङ्सिरसम्ममा समग्र विद्युत् चुहावट १२ दशमलव ८० प्रतिशत छ । अघिल्लो वर्ष सोही अवधिमा १२ दशमलव ९७ प्रतिशत थियो । सर्लाहीको मलङ्गवा वितरण केन्द्रको सबैभन्दा बढी ४४ दशमलव ८३ प्रतिशत विद्युत् चुहावट रहेको छ । गत वर्ष मलङ्गवा वितरण केन्द्रको विद्युत् चुहावट ४३ दशमलव ८२ प्रतिशत थियो ।

रौतहटको मौलापुर वितरण केन्द्रको विद्युत् चुहावट ४० दशमलव ५५ प्रतिशत रहेको थियो । गत वर्ष त्यस केन्द्रको चुहावट सात दशमलव २२ प्रतिशत थियो । बाराको सिम्रौनगढ वितरण केन्द्रको विद्युत् चुहावट ३७ दशमलव ८२ प्रतिशत छ । गत वर्ष त्यस केन्द्रको चुहावट ३९ दशमलव ८० प्रतिशत थियो । महोत्तरीको जलेश्वर वितरण केन्द्रको चुहावट गत वर्ष ३७ दशमलव ६१ प्रतिशत रहेकामा यस वर्ष ३४ दशमलव ५१ प्रतिशत रहेको छ ।

प्रदेश नं १ प्रादेशिक कार्यालय विराटनगर मातहतका २४ वितरण केन्द्रको मङ्सिरसम्मको समग्र विद्युत् चुहावट सात दशमलव ४२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा चुहावट नौ दशमलव ९४ प्रतिशत थियो । प्रादेशिक कार्यालयअन्तर्गत सबैभन्दा बढी विद्युत् चुहावट मोरङको रङ्गेली वितरण केन्द्रको छ । यस केन्द्रको विद्युत् चुहावट २० दशमलव ५२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष १५ दशमलव ६० प्रतिशत थियो ।

बागमती प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय हेटौँडा मातहतका छ  वितरण केन्द्रको अघिल्लो वर्षको मंसिरसम्ममा चार प्रतिशत रहेको समग्र विद्युत् चुहावट यस वर्ष सोही अवधिमा चार दशमलव ५३ प्रतिशत रहेको छ । डिभिजन कार्यालयअन्तर्गत सबैभन्दा बढी मकवानपुरको पालुङ वितरण केन्द्रको २४ दशमलव ६४ प्रतिशत विद्युत् चुहावट रहेको छ । गत वर्ष त्यस केन्द्रको ३० दशमलव १४ प्रतिशत चुहावट थियो ।

बागमती प्रदेश प्रादेशिक कार्यालय काठमाडौँ मातहतका २० वितरण केन्द्रको समग्र विद्युत् चुहावट पाँच  दशमलव ३३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सात दशमलव ४७ प्रतिशत थियो । प्रादेशिक कार्यालय काठमाडौँ मातहत सिन्धुपाल्चोक वितरण केन्द्रको सबैभन्दा बढी २१ दशमलव ३७ प्रतिशत चुहावट रहेको छ । अघिल्लो वर्ष त्यस केन्द्रको ३१ दशमलव ९३ प्रतिशत चुहावट थियो ।

गण्डकी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय पोखरा मातहतका १२ वितरण केन्द्रको गत वर्षको मङ्सिरसम्मको समग्र विद्युत् चुहावट सात दशमलव ९१ प्रतिशत रहेकामा यस वर्ष छ दशमलव ४३ प्रतिशत रहेको छ । कार्यालयअन्तर्गत सबैभन्दा बढी चुहावट म्याग्दीको तातोपानी वितरण केन्द्रको छ । सो केन्द्रको चुहावट अघिल्लो वर्ष पाँच दशमलव ७१ प्रतिशत रहेकामा यस वर्ष बढेर ४१ दशमलव ७८ प्रतिशत पुगेको छ ।

लुम्बिनी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय बुटवल मातहतका ११ वितरण केन्द्रको समग्र विद्युत् चुहावट छ दशमलव शून्य दुई प्रतिशत रहेको छ । गत वर्ष नौ दशमलव ४८ प्रतिशत थियो । उक्त कार्यालयअन्तर्गत सबैभन्दा बढी चुहावट गुल्मी वितरण केन्द्रको १९ दशमलव ७९ प्रतिशत रहेको छ । गत वर्ष केन्द्रको चुहावट १९ दशमलव ९९ प्रतिशत थियो ।

लुम्बिनी प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय नेपालगञ्ज मातहतका नौ वितरण केन्द्रको गत वर्षको मङ्सिरसम्ममा सात दशमलव ८० प्रतिशत रहेकामा यस वर्ष तीन दशमलव ९७ प्रतिशत रहेको छ । सो कार्यालयअन्तर्गत सबैभन्दा बढी विद्युत् चुहावट रोल्पा वितरण केन्द्रको १४ दशमलव ९० प्रतिशत रहेको छ । अघिल्लो वर्ष त्यस केन्द्रको चुहावट १९ दशमलव २९ प्रतिशत थियो ।

कर्णाली प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय सुर्खेत मातहतका सात वितरण केन्द्रको समग्र विद्युत् चुहावट १० दशमलव ५८ प्रतिशत रहेको छ । गत वर्ष १३ दशमलव ३२ प्रतिशत थियो । सो कार्यालयअन्तर्गत सबैभन्दा बढी चुहावट रुकुम(पश्चिम) वितरण केन्द्रको रहेको छ । उक्त केन्द्रको चुहावट गत वर्ष २७ दशमलव १३ प्रतिशत रहेकामा यस वर्ष बढेर ३६ दशमलव ६५ प्रतिशत पुगेको छ ।  

सुदूरपश्चिम प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय अत्तरिया मातहत १२ वितरण केन्द्रको मङ्सिरसम्मको समग्र विद्युत् चुहावट पाँच दशमलव ९८ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा चुहावट पाँच दशमलव ७६ प्रतिशत थियो । सो कार्यालयअन्तर्गत सबैभन्दा बढी चुहावट बझाङ वितरण केन्द्रको रहेको छ । गत वर्ष १९ दशमलव ७७ प्रतिशत रहेको उक्त केन्द्रको चुहावट यस वर्ष बढेर २१ दशमलव ९१ प्रतिशत पुगेको छ ।