ब्रेकिङ स्टोरी

देउवासहित कांग्रेस शीर्ष नेताहरु बालुवाटारमा, राष्ट्रपतिको विषयमा छलफल

By खबरहब

February 19, 2023

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटवार्तामा राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने विषयमा छलफल भइरहेको छ ।

भेटवार्तामा देउवासहित कांग्रेस नेताहरु रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका शीर्ष नेताहरु सहभागी छन् । २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । फागुन १० गतेसम्म माओवादीलाई कांग्रेस उम्मेदवारको पक्षमा उभ्याउन कांग्रेस नेताहरूले प्रयास गरिरहेका छन् ।

माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न सोमबार पदाधिकारी बैठक बोलाएको छ। बैठक बस्नुअघि कांग्रेस सभापति देउवा र प्रधानमन्त्री प्रचण्डबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।