तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

भारतको पञ्जाबमा खलिस्तान राज्यको माग गर्दै जुलुस निकाल्ने पृथकतावादी नेताको खोजी जारी

By खबरहब

March 19, 2023

काठमाडौँ- भारतमा पृथक मातृभूमिको माग गर्दै उत्तरी राज्य पञ्जाबका ग्रामीण क्षेत्रमा जुलुसको नेतृत्व गर्ने एक जना सिख कट्टरपन्थीको खोजीलाई भारतीय प्रहरीले तीव्र बनाएको छ ।

मोबइल फोनमा इन्टरनेट सेवा बन्द गरेर शनिबारदेखि जारी खोजीका क्रममा हालसम्म ७८ जना पक्राउ परेका छन् । यद्यपि छुट्टै ‘खलिस्तान’ राज्यको माग गर्दै जुलुसको नेतृत्व गरेको आरोप लागेका अमृतपाल सिंह भने अझैसम्म पक्राउ परेका छैनन् ।

गत महिना एकजना आफ्ना समर्थकलाई अपहरणको प्रयास गरेको आरोपमा पक्राउ गरिएपछि ३० वर्षीय सिंह र उनका एक जना सहयोगीसहित धेरै समर्थकले तरबार, बन्दुक र चक्कु लिएर प्रहरी चौकीमा आक्रमण गरेका थिए । अमृतसरको बाहिरी क्षेत्रमा भएको उक्त आक्रमणपछि सिंहविरुद्ध कारबाही गर्न पञ्जाब प्रहरीले खोजी अभियान थालेको हो ।

पञ्जाबका ग्रामीण क्षेत्रहरूमा सुरक्षाकर्मीहरूको ठूलो उपस्थिति छ । उनीहरूले राज्यको समग्र स्थिति नियन्त्रणमा रहेको बताउँदै सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न आग्रह गरेका छन् ।

सोमबारदेखि मोबाइल इन्टरनेट पुनः सञ्चालन हुने अधिकारीहरूले बताएका छन् । गलत सूचना र अफवाह रोक्ने उद्देश्यले इन्टरनेट सेवा बन्द गरिएको उनीहरूले बताएका छन् ।