सांकेतिक तस्बिर

देश/प्रदेश

हुण्डी कारोबार गरेको आरोपमा ३ जना पक्राउ

By खबरहब

April 19, 2023

काठमाडौँ- वीरगञ्जमा हुण्डी कारोबार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । वीरगञ्ज–८ मा चेकजाँच गर्ने क्रममा प्रहरीले नगदसहित बारा परवानीपुर गाउँपालिका–३ लिपनीमाल बस्ने कृष्णप्रसाद सोनार र सुनिल साह कानुलाई प्रहरीले पक्राउ गरेको हो । दुवै जनाको साथबाट स्रोत नखुलेको साढे पाँच लाख रुपैयाँ बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।

यस्तै, वीरगञ्ज–११ स्थित सडकखण्डमा प्रदेश ३–०३–००१ प १२३३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ बस्ने छठु महतोलाई स्रोत नखुलेको चौध लाख रुपैयाँसहित पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको गिरीले बताए ।