ब्रेकिङ स्टोरी

ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिटमा आज पनि सुनुवाइ हुने

By खबरहब

July 19, 2023

काठमाडौँ– बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा हिजो बहस हुँदाहुँदै समय सकिएपछि उक्त रिटमा आज पनि सुनुवाइ हुने भएको हो ।

सञ्चार सचिव कृष्णबहादुर राउतसहितका व्यक्तिहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबारदेखि निरन्तर सुनुवाइ भइरहेको छ ।

उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरु गरेपछि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरिएको थियो ।

उनीहरुले रिट निवेदनमा आफूहरुलाई बिनाशर्त थुनामुक्त गर्न माग गरेका छन् ।

सर्वोच्च अदालतले सो विवादसम्बन्धी छ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ।