देश/प्रदेश

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

By खबरहब

August 19, 2023

दिनभर आजमा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आइतबारदेखि बस्ने, भोलिदेखि संसद् खुल्नेमा आशावादी छु : प्रधानमन्त्री, ‘संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत छैन’  सरकार, सदन र सडकको मोर्चा समाजवादको आधार : गृहमन्त्री, नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमाममा उडान गर्दै, लुम्बिनी प्रादेशिक मिडिया सम्मेलनमा १३ बुँदे घोषणापत्र जारीलगायतका समाचारले प्रमुख स्थान पाए ।

भोलिदेखि संसद खुल्नेमा आशावादी छु: प्रधानमन्त्री प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झण्डै एक महिनादेखि अवरुद्ध संसद भोलिदेखि हट्ने बताएका छन् ।

आज स्वर्गीय रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा आयोजित श्रद्धाञ्जली अर्पण कार्यक्रममा उनले पहल भइरहेका भोलिदेखि अवरोध हट्ने विश्वास व्यक्त गरे ।

महाकाली पुल सुदूरपश्चिम समृद्धिको मेरुदण्ड : मन्त्री ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल सुदूरपश्चिम प्रदेशको समृद्धिको मेरुदण्डका रुपमा रहेको बताएका छन् ।

महाकाली पुलको आज यहाँ स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले पुल निर्माणपछि मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए।

सरकारद्वारा ५ प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा, उपत्यका प्रमुखमा दीपक थापा

सरकारले ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कार्यालयमा कार्यरत एआईजीहरूको सरुवा गरेको हो । पदस्थापन भएको ५ महिना नपुग्दै सरकारले उनीहरूको सरूवा गरेको हो। सरकारले उनीहरूको गत चैत १४ गते पदस्थापन गरेको थियो।

संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत छैन : सुवास नेम्वाङ

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत नभएको बताएका छन् । संघीय संसद्द्वारा आज यहाँ आयोजित ‘संसद् र सञ्चार सम्बन्ध’ विषय अन्तरक्रियामा उनले मुलुकको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध नियमसँग नभएको उल्लेख गरे ।

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आइतबारदेखि बस्ने

सत्तासाझेदार नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्युरो बैठक यही भदौ ३ गतेदेखि सुरु हुने भएको छ।

शनिबार काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्युरो बैठक बस्ने निर्णय गरेको हो।

सरकार, सदन र सडकको मोर्चा समाजवादको आधार : गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार, सदन र सडक तीनवटै मोर्चाको संयोजनबाट समाजवाद निर्माणको आधार तयार गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई आज पोखरामा सम्बोधन गर्दै पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका गृहमन्त्री श्रेष्ठले सङ्घ, प्रदेश र स्थानीय तह तीनै तहका सरकारको मोर्चा नै अहिले मुख्य रहेको र सदन सहयोगी रहेको उल्लेख गरे। उनले नेपाली जनताको जीवनमा तात्कालिक आवश्यकता पूरा गरेर नयाँ जीवन दिनुपर्नेमा जोड दिए ।

सामुदायिक विद्युतीकरणलाई थप विस्तार गर्छौँ : मन्त्री बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार सामुदायिक ग्रामीण विद्युतीकरण अभियानलाई थप व्यवस्थित गर्न तयार रहेको बताएका छन् ।

दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडमार्फत विद्युतीकरणको १९औँ वर्ष पूरा भएको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उनले जनतालाई विकास अभियानको साझेदार बनाउने पद्धतिलाई थप विस्तार गरिने विश्वास दिलाए ।

पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण सहज बनाइने

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण व्यवस्थित र सहज बनाउने गरी काम अघि बढाइएको बताएका छन् ।

नेपाल आयल निगम वीरगञ्ज शाखाले आजदेखि पुनः सञ्चालन गरेको पेट्रोलियम पदार्थ बिक्री वितरण बिलिङ कार्यको उद्घाटन गर्दै मन्त्री रिजालले पेट्रोलियम पदार्थको चुहावट नियन्त्रण गरिने उल्लेख गर्दै बिक्री वितरणलाई पनि सहज बनाइने बताए ।

सुशासनका पक्षमा सरकारले गरेको कामलाई सफल बनाउन सबैको साथ आवश्यक नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले सुशासनका पक्षमा सरकारले गरेको कामलाई सफल बनाउन सबैले साथ दिनुपर्ने बताएका छन् ।

माओवादी केन्द्र बागमती प्रदेश सम्पर्क समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै नेता पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले मुलुकमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन सहितको समृद्धिको लक्ष्य लिएको भन्दै सरकारको लक्ष्यलाई सफल बनाउन सबैले साथ दिनुपर्ने बताएका हुन् ।

भ्रष्टाचारमा मुछिएकाहरूको भारी बोकिन्न : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूको भारी आफ्नो पार्टीले बोकेर नहिँड्ने बताएका छन् ।

ललिता निवास प्रकरणमा संलग्न भनिएकाहरूको फाइल नखोल्ने भनेर बाहिर आएको समाचारप्रति महामन्त्री थापाले गठबन्धनमा रहेर यस्तो निर्णय गर्न नहुने बताए ।

पर्यटन र जलविद्युत् प्रदेश सरकारको मुख्य प्राथमिकतामा : मुख्यमन्त्री थापा

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन र जलविद्युतको विकास प्रदेश सरकारको मुख्य प्राथमिकता भएको बताएका छन् ।

नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको ११औँ वार्षिक साधारणसभा तथा सातौँ वार्षिक अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले प्रदेशमा २० हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादन हुने विश्वास व्यक्त गर्दै त्यसको सदुपयोग गर्ने बताएका छन् ।

लुम्बिनी प्रादेशिक मिडिया सम्मेलनमा १३ बुँदे घोषणापत्र जारी

बुटवलमा आयोजना गरिएको प्रादेशिक मिडिया सम्मेलनले समानुपातिक विज्ञापन वितरण प्रणालीलाई नीतिगतरूपमा व्यवस्था गरी कार्यान्वयन गर्न माग गरेको छ ।

सम्मेलनले सञ्चारगृहमा हाल देखिएको आर्थिक संकट समाधानका लागि तीनै तहका सरकारले मिडिया सरलीकरणका कार्यक्रम सञ्चालन गर्न पनि माग गरेको छ ।

नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमाममा उडान गर्दै

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाडौँबाट दमाममा नियमित सिधा उडान गर्ने गरी आजदेखि टिकट बुकिङ खुला गरिएको हो । नेपाल एयरलाइन्सको यो ११औँ अन्तर्राष्ट्रिय उडान गन्तव्य हो । यसअघि निगमले साउदी अरेबियाको रियादमा पनि उडान गरिरहेको थियो ।