फाइल फोटो

देश/प्रदेश

रूपन्देहीमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु

By खबरहब

September 19, 2023

रूपन्देही– रूपन्देहीको तिलोत्तमा नगरपालिकामा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका–९ केउलानीमा गएराति दुई समूहबीच झडप हुँदा हेटौँडा घर भई रूपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङताङको मृत्यु भएको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते स्याङताङको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार एक होटलमा बसी मदिरा सेवन गरिरहेका उनीहरूबीचमा सामान्य विवाद बढ्दै जाँदा झडप भएको थियो । झडपका क्रममा घाइते भएका तीन जनामध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइते हुनेमा काठमाडौँ महानगरपालिका–१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार विभिन्न जिल्लाबाट रूपन्देहीमा आएर मजदुरी गर्दै आएका समूहबीच झडप भएको हो ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले केहीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।