देश/प्रदेश

दसैँमा चङ्गा उडाउने संस्कृति लोप हुँदै

By खबरहब

October 19, 2023

पाल्पा– दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने जमात हिजोआज देखिँदैन । दसैँको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चङ्गा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको  छ । 

विभिन्न रङरोगनले सिँगारिएका बस्ती, बाटो, घर वरपर सरसफाइले सुन्दर बनेका गाउँबाट आकाशमा चङ्गा उडाउँदा दसैँको रमझम बढाउने गरेको लेखनाथ शर्मा मरासिनी बताउँछन् ।

‘चाडपर्वमा सबैसँग जमघट हुने, गाउँघरदेखि टाढा भएका आफन्त, परिवार, साथीभाइ भेटघाटको समयमा चङ्गा बनाएर कसले माथि पुर्‍याउने भन्दै आकाशमा उडाउँदा चाडपर्वको उमङ्ग बढाउँथ्यो, अहिले त चङ्गा उडाउने गरेको देखिनै छोड्यो’, उनले भने ।

खुला आकाशमा चङ्गा उडाउँदा वातावरण नै सुन्दर बन्थ्यो । नयाँ पुस्तामाझ दसैँमा चङ्गा उडाउने संस्कृतिबारे जानकारी नै छैन । पुरानो संस्कृतिलाई अनुशरण गर्दै हिजोआज भने केही विद्यालयमा तल्ला कक्षामा पढ्ने सानासाना बालबालिकालाई दसैँका बेला चङ्गा बनाएर देखाउन थालिएको छ ।

खुला आकाशमा चङ्गा उड्दा गाउँमा निकै रमाइलो उत्साह छाउँथ्यो । मनोरञ्जन मात्रै नभई परिवारमा खुसी, साथीभाइबीच सम्बन्ध प्रगाढ बनाउने गरेको सुदीप गैरे बताउँछन् । 

हिजोआज बढ्दो सूचना प्रविधिको विकासले आकाशमा प्रतिस्पर्धात्मक रुपमा चङ्गा उडाएर मनोरञ्जन लिने चलन कतै देखिँदैन । यस्ता पुराना संस्कृति लोप हुन पुगेका छन् ।