समाचार

वडामै पुगेर योजना सम्झौता

By खबरहब

December 19, 2023

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ । योजना सम्झौताका लागि गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्राविधिक र बैंकका कर्मचारी वडामै पुग्न थालेका हुन् । वडा कार्यालयमा योजना सम्झौताको व्यवस्था मिलाएपछि उपभोक्ताको समय र खर्च बचत भएको अन्नपूर्ण–८ राम्चेको देउराली आधारभूत विद्यालयको भवन निर्माण समितिका अध्यक्ष फासबहादुर गर्बुजाले बताएका छन्  ।

 ‘हाम्रो वडाका बासिन्दालाई गाउँपालिकाको केन्द्र जान, योजना सम्झौता गर्न र घर फर्कन रु १४ हजार गाडीभाडा र कम्तीमा पूरै दिन लाग्ने गरेको थियो,’ उनले भने ‘वडामै योजना सम्झौता गर्न पाउँदा गाउँगाउँमा सिंहदरबार आएको महसुस भयो ।’ योजना सम्झौता र बैंक खाता खोल्न उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष गाउँपालिकाको कार्यालयमा जान आउन गाडीभाडा, खाना, खाजाको खर्च व्यक्तिगत रुपमा व्यहोर्नुपर्छ । कुनै कागजात नमिलेपछि फर्किएर सिफारिस बनाउन वडामा आउने जाने गर्दा झन्झट हुन्थ्यो । 

गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, योजना अधिकृत हरिकृष्ण आचार्य, वरिष्ठ लेखा सहायक प्रेम पराजुली र प्रभु बैंकको पोखरेबगर शाखाका प्रबन्धक सुमन घर्तीको टोली राम्चे पुगेको थियो । आइतबार र सोमबार सञ्चालन भएको शिविरमा ८ योजनाको उपभोक्ता समितिसँग सम्झौता भएको वडा अध्यक्ष खमबहादुर गर्बुजाले बताए । विकट र दुर्गम क्षेत्रका उपभोक्ता समितिका पदाधिकारीलाई सहज भएको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत सुवेदीले गाउँपालिकाको आठ वटै वडामा पुगेर योजना सम्झौता गरिने बताएका छन् । 

‘सर्वेक्षण र समिति गठनको काम सकिएपछि पदाधिकारीलाई वडा कार्यालयमा बोलाएर योजना सम्झौता गर्न थालेका हौँ,’ उनले भने ‘योजना कार्यान्वयनको नीतिगत, व्यवस्थापकीय र लेखा व्यवस्थापनसम्बन्धी तालिम पनि दिन्छौँ ।’ वडामा पुगेर योजना सम्झौता र उपभोक्ता समितिका पदाधिकारीलाई प्रशिक्षण दिइने गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताए । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा करिब एक सय पचास वटा योजना कार्यान्वयन गर्दैछ । 

तीन लाखभन्दा कम बजेटका योजना तथा कार्यक्रमको सम्झौता गर्ने अधिकार वडा सचिवलाई प्रत्यायोजन गरिएको छ । बेरुजु आउन नदिने, प्राविधिक र व्यवस्थापकीय त्रुटि न्यूनीकरण गर्न उपभोक्ता समितिलाई अभिमुखीकरण गरिएको हो ।