समाचार

अहिलेको व्यवस्थाविरुद्ध असन्तुष्टि पैदा भएको छ : महासचिव पोखरेल

By खबरहब

December 19, 2023

काठमाडौँ– नेकपा एमाले महासचिव शंकर पोखरेलले सरकार सबै क्षेत्रमा असफल भइसकेको कारण अहिले व्यवस्था विरुद्ध असन्तुष्टि पैदा भएको बताएका छन् ।

एमालेले आयोजना गरेको १८ दिने पुष्पलाल लोकमार्ग केन्द्रित संकल्प यात्राका बारेमा जानकारी दिन मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सरकारप्रतिको अविश्वास र वितृष्णालाई व्यवस्थाको विरोधमा प्रयोग गर्न नहुने समेत बताएका छन्  । 

उनले अहिले कै संविधान अनुसार कुनै एक दलको बहुमत आउन सक्ने सम्भावना रहेको बताउदै जनताले नीतिगत र दूरदर्शी नेतृत्व भएको बलियो राष्ट्रिय शक्तिलाई निर्वाचित गराउन विवेक प्रयोग गर्नुपर्ने बताए । महासचिव पोखरेलले कोशी प्रदेशको नामाकरण संवैधानिक र कानुनी प्रक्रिया पुर्‍याएर भएकाले यसबाट एमाले पछि नहट्ने स्पष्ट पारे । 

एमाले मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव शंकर पोखरेलले हिमाल, पहाड र तराई मधेस जोड्ने गरी आगामी दिनमा पनि संकल्प यात्राहरु आयोजना गरिने जानकारी दिएका छन् ।