समाचार

गर्भवती र सुत्केरी महिलालाई पोषण सामग्री वितरण 

By खबरहब

December 19, 2023

दोलखा–  दोलखाको वैतेश्वर गाउँपालिकाले वडा नम्बर-१ गैरिमुदिका गर्भवती तथा सुत्केरी अवस्थामा रहेका स्थानीय महिलालाई पोषण सामग्री वितरण गरेको छ ।

पालिकाले हजार दिने आमा तथा गर्भ अवस्थामा रहेका महिलालाई पोषण सामग्री अन्तर्गत पर्ने हर्लिक्स,चना, दुई क्रेटका दरले अन्डा, गेडागुडी, साबुनलगायतका सामग्री वितरण गरेको हो ।

पालिकाको चालु वर्षकाे महिला तथा बालबालिका लक्षित कार्यक्रम अनुसार वडा नम्बर-१ का दुई वर्ष मुनिका बालबालिका र गर्भवती महिलालाई उक्त सामग्री वितरण गरिएको वैतेश्वर गाउँकार्यपालिकाकी सदस्य ठुलिकान्छी विकले जानकारी दिइन् ।

पोषण सामग्री वितरण कार्यक्रम वैतेश्वर गाउँपालिका-१ का वडा अध्यक्ष भिमबहादुर तामाङको अध्यक्षयता तथा पालिका अध्यक्ष छवि लामा र उपाध्यक्ष कल्पना उप्रेतीको उपस्थितिमा वितरण गरिएको थियो ।

पोषण सामग्री वितरण गर्दै पालिका अध्यक्ष लामाले गाउँपालिकाले वडा नम्बर-१ मात्रै नभई सबै वडामा यस पोषण कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।