ब्रेकिङ स्टोरी

एमालेले छिचोलेको मध्यपहाड : १० सिटमा कति थपिएला ?

By ज्ञानु घिमिरे

December 19, 2023

काठमाडौं – नेकपा एमालेले महाकाली–मेची यात्राका क्रममा मध्यपहाडी लोकमार्गमा पर्ने  २६ जिल्ला छिचोल्यो । समृद्धिका लागि जनताका समस्या सुन्न यात्रा गरिएको भनिए पनि यसको मुख्य उद्देश्य हो– आगामी चुनावमा पहाडी जिल्लाबाट सिट संख्या बढाउने ।

नेकपा एमालेले छिचोलेका मध्यपहाडका २६ जिल्लामा प्रतिनिधिसभाका ३८ सिट छन् । तीमध्ये उसले ०७९ को आम चुनावमा १० सिट मात्र जितेको थियो ।

यी जिल्लामा प्रदेशसभातर्फ ७६ सिट छन् । जसमध्ये एमालेले गत चुनावमा प्रदेशसभातर्फ १२ सिटमात्र जितेको थियो ।

आगामी चुनावमा एकल बहुमत ल्याउने दाबी गरिरहेको नेकपा एमालेका लागि मध्यपहाडका यी ३८ निर्वाचन क्षेत्रहरु रणनीतिक महत्वका मानिन्छन् । त्यसैले अहिले उसले अभियान चलाएर यहाँ सिट संख्या थप्ने नीति लिएको हो ।

एमालेले प्रतिनिसिधामा जितेका मध्यपहाडका १० निर्वाचन क्षेत्रभित्र पाँचथर, धनकुटा, उदयपुर–२, काभ्रेपलाञ्चोक–२ र लमजुङ पर्छन् । त्यसैगरी कास्कीका तीनवटै निर्वाचन क्षेत्र उसले जितेको छ भने पर्वत र बैतडीबाट पनि एमालेले ०७९ को प्रतिनिधि सभा निर्वाचन जितेको छ । बाँकी २८ निर्वाचन क्षेत्रमा एमालेले गत चुनावमा हार व्यहोरेको थियो ।

पाँचथरका दुवै प्रदेशसभा निर्वाचन क्षेत्रमा हार खाएको एमालेले तेह्रथुममा पनि शून्यमा चित्त बुझाउनुपरेको थियो । धनकुटामा क्लिन स्वीप गरेको एमालेले भोजपुरमा शुन्य स्थान पाएको थियो । खोटाङमा प्रतिनिधिसभामा पराजित भए पनि एउटा प्रदेश जितेको एमालेले ओखलढुङ्गामा एउटै सिट जितेन । उदयपुरमा दुईवटा क्षेत्रमध्ये एमालेले १ स्थानमा जितेको थियो तर प्रदेशतर्फ भने ४ वटै सिट गुमाएको थियो ।

सिन्धुलीमा प्रतिनिधि सभाका दुबै निर्वाचन क्षेत्रमा एमालेले हार व्यहोरेको थियो । प्रदेशतर्फ पनि एमालेले सिन्धुलीबाट खाता खोलेको थिएन ।

रामेछापमा शुन्य नतिजा ल्याएको एमालेको प्रतिष्ठा काभ्रेपलान्चोकमा गोकुल बास्कोटाले बचाइदिएका थिए । काभ्रेमा प्रदेश सभाका चारवटै सिट एमालेले गुमाएको थियो । सिन्धुलाल्चोकबाट एमाले संघ र प्रदेश दुबैमा एकसिट पनि जितेको थिएन ।

विष्णु रिमालको गृहजिल्ला नुवाकोटका दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभामध्ये एमालेको नतिजा शुन्य आएको थियो । धादिङमा पनि नुवाकोटकै जस्तो शून्यसिटमा चित्त बुझाउनुपरेको थियो । दुई निर्वाचन क्षेत्र रहेको गोर्खामा पनि एमालेको नतिजा शून्य आएको थियो ।

एउटा निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रतिनिधि सभातर्फ एमालेले जितेको थियो भने प्रदेशका दुबै सिट गुमेका थिए । तीन सिट रहेको कास्कीमा भने एमालेले तीनै सिट जितेको थियो । प्रदेशतर्फबा ६ मध्ये ४ सित एमालेले जितेको थियो ।

एक सिट रहेको पर्वतमा एमालेले संघ र प्रदेशका सबै सिट जितेको थियो भने दुईवटा चुनाव क्षेत्र रहेको बाग्लुङमा एमालेको नतिजा शून्य थियो । त्यस्तै पूर्वी रुकुम, पश्चिम रुकुम र जाजरकोटमा पनि एमालेको नतिजा शुन्य थियो । दैलेखमा प्रतिनिधिसभाका दुई र प्रदेशसभाका ४ मध्ये एमालेले एउटा प्रदेश सभा सदस्यमा चित्त बुझाउनुपरेको थियो ।

दुईवटा निर्वाचन क्षेत्र रहेको भीम रावलको गृहजिल्ला अछाममा एमालेको नतिजा शुन्य थियो भने  डोटीमा एउटा प्रदेश सभा सदस्य मात्र एमालेले जितेको थियो ।

शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा पनि एमालेको नतिजा शून्य आएको थियो । बैतडीबाट भने एमालेले प्रतिनिधिसभा र प्रदेशसभाका एक/एक सिट जितेको थियो ।

गत चुनावको यो तथ्यांक विश्लेषण गर्दा  मध्यपहाडी क्षेत्रमा एमालेको शक्ति निकै नै कमजोर देखिन्छ । विशेष गरेर सुदुरपश्चिम र कर्णालीमा एमाले निकै कमजोर देखिन्छ ।

यही कारणले गर्दा आगामी चुनावमा विगतको जस्तो अवस्था नहोस् भन्ने उद्देश्यले नै एमालेले महाकाली मेची यात्रा गरेको नेताहरुको स्वीकारोक्ति छ ।

एमाले नेताको दाबी

मध्यपहाडी जिल्लामा एमालेले चलाएको अभियानले राजनीतिक उपलब्धी हासिल हुने नेताहरुको दाबी छ । उनीहरु आगामी चुनावमा यहाँबाट सिट थपिने विश्वासमा देखिन्छन् ।

मध्यपहाडी लोकमार्गको यात्रामा शुरुदेखि अन्त्यसम्म खटिएका एमाले महासचिव शंकर पोखरेल यो अभियानबाट निकै उत्साहित देखिएका छन् । खबरहबसँग कुरा गर्दै महासभिव पोखरेल भन्छन्,‘जनतामा ठूलो उत्साह देखियो, आगामी चुनावमा नेकपा एमालेको एकल बहुमत आउँछ ।’

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य धुलिखेलबाट यात्रामा सहभागी भइन् । उनले महाकाली–मेची जागरण यात्राले एमालेलाई नयाँ ऊर्जा दिएको बताइन् ।

शाक्यले खबरहबसँग भनिन्, ‘समृद्धिका लागि संकल्प यात्रामा एमालेले निकै ठूलो उपलब्धि हाल पारेको छ । यसले आगामी हुने ०८४ को निर्वाचनमा एमालेको आकारलाई ठूलो बनाउँछ ।’

शाक्यले थपिन्, ‘पहाडी भेगमा अनेकौं समस्या रहेछन् । हामीले यो यात्रा ०७५ तिरै गर्नुपर्ने रहेछ । अब ०८४ को लक्ष प्राप्त गर्नका लागि जनताले हामीसँग यो यात्रामा राखेका मागहरू पूरा गर्नुपर्ने दायित्व हामीसँग छ ।’

शाक्यले अगाडि भनिन्, ‘यो यात्राले हामीलाई जनताको भावना बुझेर काम गर्न बाटो देखाएको छ । हामी निरन्तर यसमा लाग्यौं भने आगामी निर्वाचनमा एमालेले राम्रो नतिजा दिन्छ ।’

तर, एमालेले महाकाली–मेची रुटका २६ जिल्लाका ३८ निर्वाचन क्षेत्र मध्ये गत चुनावमा १० स्थान मात्रै  जितेको रहेछ नि ? यो प्रश्नको जवाफमा शाक्यले भनिन्, ‘यो त पार्टी विभाजनको असर हो । अब ०८४ मा हेर्नुहोस् न हाम्रो नतिजा ।’

जनतामा एमालेप्रतिको मोह घटेको छैन : ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली गत चुनावमा प्रत्यक्षतर्फ कमजोर नतिजा आए पनि समानुपातिकतर्फ एमालेले राम्रो नतिजा ल्याएको दाबी गर्छन् । अहिले पनि जनतामा एमालेप्रतिको मोह नघटेको उनको दाबी छ ।

ज्ञवाली खबरहबसँग भन्छन्, ‘यो अभियानमा हामीलाई जनताले तीनवटा विषयमा बढी केन्द्रित गराउनुभएको छ । रोजगारी सिर्जना गर्ने, स्थानीय उत्पादनको बजार मूल्य निर्धारण गर्ने र सुशासन कायम गर्ने । यी गम्भीर विषयहरू हामी पूरा गर्ने लाग्छौँ ।’

एमालेको अभियान सुरु भएको दिन मंसिर १४ देखि पुस २ गतेसम्मै ज्ञवाली यात्रामा सहभागी थिए । उनले संसदीय अंकगणितमा २६ जिल्लाका ३८ निर्वाचन क्षेत्र मध्ये १० स्थानमा मात्रै जितेको भए पनि समानुपातिकतर्फको नतिजा राम्रो भएको दाबी गरे ।

ज्ञवालीले भने, ‘रुकुम पूर्व र रुकुम पश्चिममा हाम्रो अवस्था राम्रो थिएन । सुदूर पश्चिममा पनि केही गडबड थियो । तर अन्य क्षेत्रमा समानुपातिक मतमा एमाले बलियो थियो ।’

ज्ञवाली थप्छन्, ‘त्योबेला हामीविरुद्ध चौतर्फी घेराबन्दी भएकाले कमजोर भएका रहेछौँ । यो यात्राले थाहा भयो कि एमालेप्रति जनताको उत्साह र मोह घटेको छैन ।’

प्रदेश र प्रतिनिधि सभामा शून्य नतिजा भएका जिल्लाहरू डडेलधुरा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, अछाम, डोटी, धादिङ, गोरखा, ओखलढुङ्गा, सिन्धुली, नुवाकोट, तेह्रथुम र भोजपुर लगायतका जनताले निर्वाचित जनप्रतिनिधिले काम नगरेको दुखेसो एमालेलाई पोखेको ज्ञवालीले सुनाए ।

ज्ञवाली भन्छन्, ‘हामी निर्वाचित नभएको क्षेत्रमा त अझ जनतामा अथाह दःुख पीडा रहेछन् । त्यहाँका जनताले आफ्ना जनप्रतिनिधिले कुरा नसुनेको गुनासो गर्नुभयो । ती जिल्लाहरूमा समानुपातिकमा राम्रो मत हाम्रो थियो । तर, प्रतिनिधि र प्रदेश सभामा गठबन्धनले घेराबन्दीमा पारे । जनताले हामीसँग ठूलो गुनासो गर्नुभयो ।’

एमाले नेता ज्ञवालीले जनताबाट आएका मागहरूको सम्बोधन गर्न कुनै कसुर बाँकी नराख्ने बताए । जनताका माग पूरा गर्न एमालेले अब दबाब र जनसहभागिता परिचालन गर्ने उनले बताए ।

एमालेले २६ जिल्लामा यात्रा गर्ने तालिका बनाए पनि रुट भन्दा बाहिरका थप चार जिल्लामा पनि अभियान चलाएको थियो । सुर्खेत, सल्यान, दोलखा र गुल्मी जिल्लामा पनि कार्यक्रम गरिएको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।