काठमाडौँ- अफ्रिकी मुलुक मालीस्थित संयुक्त राष्ट्रसङ्घीय शान्ति ‘मिशन’ थप कर्मचारी र सैनिक बिना दिगो हुन नसक्ने निष्कर्षसहित राष्ट्रसङ्घले प्रतिवेदन निकालेको पाइएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले फेला पारेको उक्त प्रतिवेदनमा यस मिशनलाई सुदृढ तुल्याउन सेना र कर्मचारी थप्नुपर्ने सुझाव दिइएको पाइएको छ । प्रतिवेदनमा उक्त मिशनका मुख्य शर्त पालना नभएमा सेना फिर्ता गर्नेसम्मका सुझाव पनि दिइएको छ ।
अतिवादी इस्लामिक लडाकुको निरन्तर आक्रमणका कारण पतनको बाटोमा रहेको मालीलाई जोगाउन शान्ति मिशन स्थापना गरिएको भए पनि त्यहाँको सुरक्षा स्थिति निरन्तर बिग्रँदै गएको बताइएको छ ।
उक्त देशको वर्तमान अवस्थालाई लिएर महासचिव एन्टोनियो गुटरेसले सुरक्षा परिषद्मा पेस गरेको प्रतिवेदनमा पनि यसलाई स्वीकार गरिएको छ । महासचिवले प्रतिवेदनमा मालीको वर्तमान स्थिति दिगो नरहेको उल्लेख गरेका छन् । शान्ति स्थापनाका निम्ति खडा गरिएको मिशन नै अशान्त रहेको आशय प्रतिवेदनमा व्यक्त गरिएको छ ।
करिब नौ वर्षदेखि मालीमा सबैभन्दा धेरै सैनिक परिचालन गरेको राष्ट्र फ्रान्स गत अगस्ट महिनामा फिर्ता भएपछि यस मिशन बढ्दो दबाबमा परेको छ ।
उक्त मिशनले परिषद्ले दिएको कार्यादेश कार्यान्वयन नभएकामा पनि महासचिव असन्तुष्ट रहेको बताइएको छ । यसअघि थप आर्थिक व्ययभार नपर्ने गरी मालीको केन्द्रीय क्षेत्रलाई मिशनअन्तर्गत समावेश गर्न निर्देशन दिइएको थियो ।
सुरक्षा परिषद्को कार्यादेश कार्यान्वयन नहुँदा मालिका जनता तथा अधिकारीले पनि उक्त मिशनको आलोचना गरेका छन् । महासचिवले समस्याको समाधानका निम्ति तीन वटा प्रस्ताव पनि अघि सारेका छन् ।
माली मिशनलाई सबै क्षेत्रमा सैनिक परिचालनलगायत कार्यादेश कार्यान्वयनका निम्ति पूर्ण अधिकार प्रत्यायोजन गर्ने, सैनिक र प्रहरी कर्मचारी तीन हजार छ सय ८० वा दुई हजारमा राख्ने सामान्य योजना पनि अघि सारिएको छ ।