काठमाडौँ– नेपालमा पहिलो पटक राष्ट्रिय नवप्रवर्तन सम्मेलन आयोजना हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले यूके एड र द एसिया फाउन्डेसनसँगको सहकार्यमा आउँदो मार्च १० गते सम्मेलन आयोजना गर्न लागेको हो ।
सम्मेलनका क्रममा विज्ञान, प्रविधि र नवप्रवर्तन नीति, राष्ट्रिय नवप्रवर्तन प्रणालीसम्बन्धी फ्रेमवर्क र विश्व नवप्रवर्तन सूचकाङ्का तथा राष्ट्रिय नवप्रवर्तन सूचांक जस्ता विषयमा छलफल हुनेछ । यो कार्यक्रमले प्राज्ञिक क्षेत्र, सरकार र सेवा क्षेत्रमा क्रियाशील अभ्यासकर्तालाई एक ठाउँमा ल्याउने अपेक्षा गरिएको छ । देशमा अनुसन्धान र विकासलाई बढवा दिन, दिगो विकास लक्ष्य हासिल गर्न, नवप्रवर्तनका प्रतिभाहरूलाई एक स्थानमा ल्याउन तथा उनीहरूको भूमिकालाई विस्तार गर्न र विश्व नवप्रवर्तन सूचकाङ्कमा नेपालको स्थान सुधार गर्ने बाटो पहिल्याउनका लागि राष्ट्रिय नवप्रवर्तन सम्मेलन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
मुलुकको अर्थतन्त्रको विकासका लागि आवश्यक क्षेत्रहरू पहिचान तथा उजागर गर्ने कार्यका लागि सम्मेलनले एउटा माध्यमको रूपमा काम गर्ने छ। जसले प्राविधिक जनशक्ति र नीति निर्माताहरूलाई एउटै स्थानमा ल्याएर नवप्रवर्तनका लक्ष्य प्राप्ति गर्ने दिशामा विद्यमान रहेका समस्या पहिचान गरी समाधानको बाटो समेत पहिल्याउने आशा गरिएको छ ।
सम्मेलनका क्रममा नवप्रवर्तनको क्षेत्रमा क्रियाशील प्रतिभा प्रदर्शनका साथै नवप्रवर्तक र लगानीकर्ताहरूलाई प्रोत्साहन गरिने छ । एक दिने यो सम्मेलन भर्चुअल तथा भौतिक उपस्थिति दुवै मिश्रित ढाँचामा सञ्चालन हुने छ। सम्मेलनका क्रममा प्यानल छलफल, विज्ञ प्रस्तुति र प्रदर्शनीहरू रहने छन् । सम्मेलनको उद्घाटनमा देशका सातै प्रदेशका नवप्रवर्तक तथा आविष्कारकहरूलाई निम्त्याइएको छ ।
जसबाट उनीहरूले आफूलाई उजागर गर्न र राष्ट्रिय स्तरका नेतृत्व तथा सरकारी प्रतिनिधिसँग आफ्नो नवप्रवर्तन साझेदारीको अवसर समेत प्राप्त गर्ने छन्। सम्मेलनमा नास्ट, एसिया फाउन्डेसनका साथै नक्सा र रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्यान) समेत आयोजकको रूपमा रहेका छन्। जसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय नेपाल उद्योग वाणिज्य महासङ्घ र यूएसएआईडीको साथ रहेको छ भने टेकपाना मिडिया पार्टनरको रूपमा रहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यता रहने कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि माननीय मन्त्री शिशिर खनाल रहने छन् । जसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमीला देवी बज्राचार्य, काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. भोला थापा, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा. नन्द बहादुर सिंह, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा राम कुमार फुँयाल, रिकास्टका प्राध्यापक डा. रामेश्वर अधिकारी वक्ताको रूपमा रहने छन्।
अन्तराष्ट्रिय वक्ताका रूपमा एसिया फाउन्डेसनका अध्यक्ष डेविड अर्नाल्ड, आर. रामानन, प्रथम मिसन डिरेक्टर, अतुल्य मिसन इनोभेसन, नीति आयोग इन्डिया र ओलिभर शान, उपाध्यक्ष, ग्लोबल रोबोटिक्स क्लस्टर रहेका छन् । यसका साथै अन्य वक्तामा योङ्ग इनोभेसन ल्याबका सिइओ विभूषण विष्ट, राष्ट्रिय योजना, आयोगका एवं नाष्टका प्रज्ञा पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेल, महिला उद्यमी महासंघकी अध्यक्ष निरू रायमाझी खत्री, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्राध्यापक डा. गोविन्द नेपाल, उद्योग वाणिज्य महासंघका स्टार्ट अप एन्ड इनोभेसन कमिटी अध्यक्ष रञ्जित आचार्य, नास्टका प्राज्ञ डा. रमेशकुमार मास्के, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन, एफवान सफ्टका सिइओ सुवास शर्मा, नास्टका प्रविधि संकाय प्रमुख रवीन्द्र ढकाल लगायत रहेका छन्।
सम्मेलनको उद्देश्य
पहिलो राष्ट्रिय नवप्रवर्तन सम्मेलनले सरकार, उद्योग र शैक्षिक क्षेत्रका व्यक्तिहरूलाई एकै स्थानमा ल्याउने उद्देश्य राखेको छ।
सम्मेलनले सिकाइ आदानप्रदान गर्नुका साथै छलफल तथा संवाद वृद्धि गर्न र सरोकारवालाबीच नीतिगत सल्लाह सुझाव लेनदेनको मौका दिने छ, जसले मुलुकमा सामाजिक र आर्थिक विकासमा योगदान पुग्ने छ, यसका साथै देशमा विज्ञान तथा प्रविधि क्षेत्रको विकासलाई सही दिशा प्रदान गर्ने उद्देश्य समेत सम्मेलनले लिएको छ । सम्मेलन स्थलमा सातै प्रदेशबाट प्रतिनिधित्व गरेका विभिन्न २० वटा नवप्रवर्तनको प्रदर्शनी समेत हुने छ ।