देश/प्रदेश

द्वन्द्वकालमा १३ वर्षकै उमेरमा आफूलाई जेल हाल्नेविरुद्ध अदालत जाने तयारीमा राधिका

By खबरहब

February 20, 2023

काठमाडौँ- भेरी नगरपालिका ६ की राधिका चन्द समय समयमा झस्किने गर्छिन् । सुतिरहेको अवस्थामा उनी एक्कासि ब्युँझिने, कराउने गर्दै आएकी छिन् । उनी निन्द्रमा समेत बर्बराउने गरेको उनका श्रीमान् युद्धवीर सिंह बताउँछन् ।

चन्दलाई कुनै रोग लागेर नभई द्वन्द्वकालमा पाएका यातनाका कारण अहिले पनि बसिनसक्नु छ । तत्कालीन राज्य पक्षद्वारा २०५७ मा सुर्खेतको घुमखरे गाविस वडा ९ भेराबारीबाट पक्राउ गरी ८ वर्ष बढी लामो समय हिरासत र जेलमा राखेको घटनाले उनलाई अहिले पनि समय समयमा झस्काउने गर्दछ ।

१३ वर्षीया बालिकालाई माओवादीको आरोपमा पक्राउ गरी ८ वर्षसम्म जेल जीवन बिताउन बाध्य भएपछि बाल मष्तिष्कमा परेको असरले अहिले समस्या हुने गरेको छ ।

अदालतको आदेशपछि राधिका खुला आकाशमा आएर अहिले दैनिक रुपमा जीवनयापन गरिरहेको भएपनि द्वन्द्वकालमा पाएको दुःखले गर्दा मानसिक रुपमा तनाव हुँदै आएको छ । ८ वर्ष २ महिना ५ दिनसम्म बन्दी भएर कारागार र हिरासतमा पाएको यातना सँगै पीडाले अहिले पनि झस्काइरहेको उनको भनाइ छ ।

आठ वर्ष सम्म बालिका भएको समयमा पनि राज्यले दिएको यातनाविरुद्ध राधिका अब अदालत जाने बताएकी छिन् । जाहेरीवालाको माग दाबीलाई अदालतले खारेजी गरिसकेको आधिकारिक प्रमाण रहेको भन्दै राधिकाले बिनाकसुर आफूलाई ८ वर्ष जेल जीवन बिताउन बाध्य पार्ने राज्यविरुद्ध क्षतिपूर्ती माग गर्दै अदालतमा मुद्दा दायर गर्ने उनको भनाइ छ ।