ब्रेकिङ स्टोरी

‘१२ बुँदे समझदारी पक्षधर एकै ठाउँमा उभिनुपर्छ’

By खबरहब

February 20, 2023

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन्।

मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेको र राजनीतिमा दुषित हावा देखा पर्न थालेको उल्लेख गर्दै प्रधानमन्त्रीले १२ बुँदे समझदारी पक्षधर एकै ठाउँमा उभिनुपर्नेमा जोड दिए।

कास्कीको पोखरामा पार्टीको गण्डकी प्रदेश समितिले सोमबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन-जुन शक्तिहरू एक ठाउँमा उभिएका थिए ती शक्तिहरू पुन: एक ठाउँमा उभिनुपर्ने बेला आएको बताए।

‘१२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन जुन शक्ति एक ठाउँ उभिएका थिए। फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ । राष्ट्रिय सहमतिमार्फत् मुलुकका समस्या समाधान गर्नुपर्छ। राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्त्य पनि यही हो’ उनले भने ।

आफूहरुले राष्ट्रपतिमा कुनै व्यक्तिको कुरा नगरेको भन्दै तीन ठूला दल एक ठाउँमा रहनुपर्ने धारणा राखेको बताए ।