फाइल फोटो

समाचार

भ्रष्टाचार गरेको आरोपमा गाउँपालिका इन्जिनियर, कर्मचारीविरुद्ध मुद्दा दायर

By खबरहब

February 20, 2023

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनाउँदै नबनाएको सडक बनाएको भन्दै गलत प्रतिवेदन बनाएर भ्रष्टाचार गरेको अभियोगमा दैलेख गुराँस गाउँपालिकाका इन्जिनियर लगायतका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार स्थानीय निगालपानी रेग बगौरा सडक निर्माण योजनाको सम्झौतामा रहेको निर्धारित सर्त र मापदण्ड विपरीत नक्कली नापी किताब बनाएको, उपभोक्ता समितिसम्बन्धी बिल, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार पारी मापदण्डअनुसार सडक निर्माण भएको भनी गलत प्रतिवेदन बनाएको पाइएपछि मुद्दा दायर गरिएको हो।

मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६/७७ को सो परियोजनामा यसरी अनियमितता गर्नेमा तत्कालीन इन्जिनियर सरोजकुमार दाहाल र तत्कालीन सव इन्जिनियर नवीनकुमार विसीको संलग्नता रहेको आयोगको ठहर छ। उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीको माग गरिएको छ ।