राजनीति

हामीले हाइड्रोजन गाडी दियौँ, स्टार्ट नहुँदै प्रधानमन्त्री हाम फाल्नुभयो : अध्यक्ष लिङ्देन

By खबरहब

March 20, 2023

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गाडी फेरिरहने ड्राइभरको संज्ञा दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै आफूहरुले हाइड्रोजन गाडी दिएपनि प्रधानमन्त्री प्रचण्डले स्टार्ट नहुँदै हाम फालेको टिप्पणी गरे ।

अनुभव पनि भएको र पहिले पनि गाडी हाँकेको देखेर आफूहरुले गाडी हाँक्न दिएको भएपनि प्रचण्डले गाडीबाट हाम फालेको बताए । उनले केही दिनअघि मात्र सरकारबाट अलग्गिएको दल राप्रपाले अहिले नै विश्वासको मत दिने अवस्था आइनसकेको बताए ।

अध्यक्ष लिङ्देनले भने, “विकास, सुशासन र सेवा प्रवाहमा एकाकार भएर काम गर्ने अठोट गरिएकामा सत्ता घटकलाई समेत जानकारी नदिइ बाटो फेर्नुभयो, प्रधानमन्त्रीजीलाई अर्को यात्राका लागि शुभकामना छ ।”

उनले देशको अर्थतन्त्रको अवस्था बाहिर देखिएको जस्ता सजिलो नरहेको बताए ।