प्रवास

यूएईमा नेपाली युवाले जिते ७० करोडको चिठ्ठा

By योगेन्द्र योगी

April 20, 2023

दोहा  – रोजगारीको लागि संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका एक नेपाली युवालाई २० मिलियन दिराम (नेपाली झण्डै ७० करोड रुपैयाँ)को चिठ्ठा परेको छ।

पदम नाम गरेका नेपाली नागरिकले ‘महजुज ड्र’ मार्फत पहिलो विजेता हुँदै यो रकम प्राप्त गरेका हुन् । स्थानीय पत्रिका खालिज टाइम्स्का अनुसार यूएईमा हरेक हप्ता हुँदै आएको ‘महजुज ड्र’ को १२४औं संस्करणमा पदमले यो रकम जितेका हुन् ।

पदमले ५,१०,४१, ४६ र ४९ नम्बरमध्ये पाँच वटै मिलाएर यति ठूलो रकम जितेका हुन् । बुधवार आफूले जितेको रकम बुझ्दै पदमले भने ‘मलाई अझै विश्वास लागिरहेको छैन ।’

विगत २३ वर्षदेखि यूएईमा सवारी चालकको काम गर्दै आएका पदमले अहिले यूएईमा गाडी चलाएर ५७ सय दिर्हाम अर्थात् २ लाख रुपैयाँ बराबर प्रत्येक महिना कमाउँदै आएका छन् ।

यसअघी गुल्मीका भरत विकले महजुजको लक्की ड्र् मार्फत ३५ करोड (१० मिलियन दिराम) चिट्ठा उपहार पाएका थिए ।