फाइल फोटो

ब्रेकिङ स्टोरी

सम्झौता कार्यान्वयन नभए फोहोर फाल्न नदिने ककनी र धुनिवेशीको चेतावनी

By खबरहब

April 20, 2023

काठमाडौँ- नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले फोहोर विसर्जन गर्न नदिने चेतावनी दिएका छन् । काठमाडौंको फोहोर विसर्जन हुँदै आएको क्षेत्रका यी दुई पालिकाले १५ दिनभित्र यसअघि भएका सहमति र सम्झौताहरूको कार्यान्वयन नभए फोहोर फाल्न नदिने चेतावनी दिएका हुन् ।

धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र ककनी गाउँपालिकाका अध्यक्ष सुमन लामाले संयुक्त विज्ञप्ति जारी गर्दै गत जेठमा सरोकारवालाहरूसँग भएको सहमति र सम्झौता कार्यान्वयनका लागि १५ दिनको अल्टिमेटम दिएका छन् ।

यसैबीच प्रभावित क्षेत्रको जग्गा अधिग्रहण गरी मुआब्जा दिनुपर्ने, फोहोरमैलाका कारण न्यून प्रभाव पार्ने गरी फोहोरबाट निस्किएको लिक्विडको व्यवस्थापन गर्नुपर्नेलगायतका माग गरेका छन् । 

ककनी र धुनिवेशीका वडाहरूमा वार्षिक १० करोड बराबरको शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकास तथा रोजगारीका योजनाहरू सञ्चालन हुनुपर्ने उनीहरूको माग रहेको छ ।