देश/प्रदेश

कपिलवस्तुको विजयनगरमा आगलागी हुँदा २६ घरगोठ जलेर नष्ट 

By खबरहब

April 20, 2023

चन्द्रौटा– कपिलवस्तुको विजयनगर गाउँपालिकामा आगलागी हुँदा २६ घरगोठ जलेर नष्ट भएका छन् । गाउँपालिको वडा नं ५ सिसवामा आज बिहान ११ बजेदेखि सुरु भएको आगो तीन घन्टापछि नियन्त्रणमा आएको वडाध्यक्ष अनवर मुसलमानले बताए। फुसका नौवटा घर पूर्ण, १७ वटा आंशिक गरी २६ वटा घरगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

आगोले खाद्यान्न, लत्ताकपडा, कागजपत्रलगायतको सामग्री जलेर नष्ट भएको प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए । आगलागीमा परी एउटा पाडो जलेर मरेको बताइएको छ । मानवीय क्षति नभएको प्रहरी निरीक्षक रानाले बताए । स्थानीय कुसुम पासीको घरबाट सुरु भएको आगोले गाउँमा भएका फुसका घरगोठ जलेका हुन् । आगलागीका कारण रु एक करोडभन्दा बढीको क्षति भएको वडाध्यक्ष मुसलमानले बताए । आगलागीका कारण अहिले खुल्न सकेको छैन ।

शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, प्रहरी सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा तीन घन्टापछि आगो नियन्त्रण आएको हो । आगलागीस्थलमा लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात व्यवस्थामन्त्री जानकी यादव पुगेकी छन्। अग्निपीडितका लागि राहत व्यवस्थापन गर्ने यादवले जनाइन् । गाउँपालिकाका अध्यक्ष गोपाल थापाले पालिकाले पीडितहरूलाई राहतको व्यवस्थापन गर्ने बताए।