औषधी/उपचार

जीवनशैली परिवर्तन गरेर पीसीओडीको समस्या रोक्न सकिन्छ

By खबरहब

June 20, 2023

नेपाललगायत धेरै देशमा पछिल्लो समय महिलामा प्रजनन समस्या बढ्दै गएको छ। प्रजनन स्वास्थ्य अन्तर्गत समयमा महिनावारी नहुने, बाँझोपनाको समस्या बढ्दै गइरहेका छ। त्यस्तै समस्या हो पोलिस्टिक ओभरियन्स डिजिज (पीसीओडी) को समस्या। के हो त पोलिस्टिक ओभरियन्स डिजिज ? यो के कारणले हुन्छ ? लक्षण के के हुन् ? नियन्त्रण तथा रोकथामका उपाय के हुन् ? नेपालमा यसको उपचार खर्च र अवस्था कस्तो छ ? यी नै विषयमा आधारित रहेर खबरहबका लागि वरिष्ठ गाईनोक्लोजिष्ट डा.निभा ओझासँग गरिएको कुराकानीको सम्पादित अंश :

महिला प्रजनन स्वास्थ्यमा पीसीओडीको समस्या भनेको के हो ? पोलिसिस्टिक ओभरी सिन्ड्रोम भनेको महिलाको अण्डाशय (ओभरी) सँग जोडिएर आउने एक प्रकारको स्वास्थ्य समस्या हो। यसले महिलामा हुने हर्मोनको सन्तुलन बिगार्न सक्छ। जसबाट गर्भधारणदेखि महिनावारी गडबडी हुनेसम्मका समस्या देखा पर्न सक्छन्।

कारणले यो समस्या हुन्छ ? विशेषगरी यो अहिलेको परिवेशमा नयाँ जीवनशैली र खानापानको कारणले धेरै भएको छ। जसले थोरै व्यायाम गर्छन्। मानिस थोरै बाटोमा हिँड्नु परे पनि सवारीको प्रयोग गर्ने गरेकोले व्यायामको कमी देखिएको छ। बाहिरका र प्याकेटका खाने कुरा खाँदा पनि मोटोपना बढेर त्यसले पनि विभिन्न रोग बढाएको छ। यो विशेष गरी २० वर्ष उमेर पुगेपछि मात्र हुने भनेर अनुमान गरिन्छ। तर, पछिल्लो समय १४ वर्षका किशोरीमा पनि हुने गरेको छ।

पीसीओडी समस्या हुँदा कस्ता लक्षण देखा पर्दछन् ? कोही महिलामा महिनावारी समयमा हुँदैन। विस्तारै एक वर्षमा केवल सात वा आठपटक वा सोभन्दा पनि कम महिनावारी हुनसक्छ। महिलामा मोटोपनाको समस्या पनि देखिन सक्छ। महिनावारीको समयमा सामान्यभन्दा बढी रक्तश्राव हुनेगर्छ। पहिलेको दाँजोमा महिनावारी हुन बढी समय लाग्ने भएकाले समेत रक्तश्राव बढी हुन्छ । कसैको समयमा बच्चा नहुने हुन्छ। त्यसैगरी अनुहार, पेट र पिठ्युमा अतिरित्त रौं पलाउनु, अत्यधिक कपाल झर्नु, अनुहारमा बारम्बार डन्डिफोर आउनु, शरीरको तौलमा वृद्धि हुने, मानसिक समस्या डिप्रेसन वा एन्जाइटी देखा पर्ने, मधुमेहको जोखिम बढ्नु, यौन स्वास्थ्यमा समस्या आउने लगायतका लक्षणहरू देखा पर्छन्। त्यसैले आफ्नो उमेर र लक्षणका आधारमा जाँच गरेर समस्याको पहिचान पर्न सकिन्छ। पिसिओडी औषधिको सेवनबाट पनि निको पार्न सकिन्छ।

कुनै पनि महिला पीसीओडीको समस्या लिएर अस्पताल गएपछि उसको उपचार कसरी हुन्छ ? पहिला हामीले अस्पतालमा पोलिस्टिक ओभरीयन्सले के समस्या भएको छ भनेर त्यसको उपचार गर्छौ। यसको कारणले नै महिलामा महिनावारी एकदमै बिग्रिएको छ वा छैन। दुईदेखि ६ महिनाको अन्तरालमा महिनावारी भएको छ भने हामीले समयमा महिनावारी हुने औषधि दिन्छौँ। खानपानमा ध्यान दिने, आफ्नो तौललाई सही राख्ने, दारी रौँहरू आएको छ भने त्यसको उपचार समयमा गर्नुपर्छ। बच्चा बसेको छैन भने उसको त्यहि अनुसार हामीले उपचार गर्छौँ। अल्ट्रासाउन्डको माध्यमबाट पनि पिसिओडी पत्ता लगाइन्छ।

पीसीओडी समस्याले पछि कस्तो जोखिम निम्त्याउँछ ? पिसिओडीको समस्याले महिलामा बाँझोपनाको समस्या निम्तिन सक्छ। गर्भावस्थामा मधुमेह हुने सम्भावना धेरै नै रहन्छ । साथै गर्भावस्थामै उच्च रक्तचाप हुने र गर्भपतन हुने र समय नपुगी बच्चा जन्मिने सम्मको समस्या देखा पर्छन्। मेटाबोलिक सिन्ड्रोम, निन्द्रामा घुर्ने समस्या, इन्डोमट्रियल क्यान्सर र डिप्रेसनको जोखिम बढाउँछ।

पीसीओडीको नियन्त्रण तथा रोकथामका उपायहरू के के हुन् ? अल्ट्रासाउन्डको माध्यमबाट पनि पिसिओडी पत्ता लगाइन्छ। पिसिओडी औषधिको सेवनबाट निको पार्न सकिन्छ । सुरुदेखि नै हाम्रो खानपानलाई ध्यान दिने गर्नुपर्छ। तौललाई मिलाउने गर्यो भने यो समस्याबाट मुक्ति पाउन सकिन्छ। शरीरमा एस्ट्रोजेन र प्रोजेस्टोरोन हर्मोन सन्तुलनमा ल्याउनका लागि औषधिको प्रयोग गरिन्छ । त्यस्तै, शरीरमा इन्सुलिनको मात्रा नियन्त्रणमा राख्न, अनावश्यक रौँ हटाउन र गर्भधारण गर्न सहयोग गर्ने खालका औषधि प्रयोगमा ल्याइन्छ।

पीसीओडीको समस्या मोटोपना र खानपानले ल्याएको छ। पहिला महिला धेरै काम गर्ने गर्दथे। जसले गर्दा शरीरलाई आवश्यक पर्ने सम्पूर्ण व्यायाम पुग्थ्यो। तर, अहिले महिला धेरै पसिना बगाउने खालका काम गर्दैनन्। एक ठाउँमा बस्ने र मोबाइल फोन मात्र चलाउने हुँदा पनि धेरै रोग देखिएका छन्। त्यसैले हामीले खानपान र जीवनशैलीलाई परिवर्तन गर्दा पोलिस्टिक ओभरीयन्स मात्र नभई अरू लामो समयसम्म हुने समस्यालाई पनि रोक्न सक्छौँ।