ब्रेकिङ स्टोरी

शहरमा अल्लो, ठेकी र काठे काँइयोको बखान

By सीता न्यौपाने

December 20, 2023

दाङकी प्रेमकुमारी पुनःले अल्लो निर्मित हस्तकला सामानको व्यवसाय गर्न थालेको २१ वर्ष भयो । उनी सामान बेच्न मात्रै होइन, त्यसको प्रवर्द्धनमा समेत जुटिरहेकी छन् । उमेरले ५५ वर्षकी उनी व्यापारले नै बोल्न सिकाएको बताउँछिन् । 

हस्तकला व्यापार मेला जहाँ लाग्छ, प्रेमकुमारी त्यहाँ झुल्किन्छिन । काठमाडौंमा आयोजित व्यापारमा मेलामा गाँजाबाट निर्मित सामग्रीको निर्माण र यसको उपयोगितामा विषयमा बखान गरिरहेकी थिइन । उनको स्टलमा अल्लोबाट बनेको कि–रिङ, टोपी, साबुनको खोल, नुहाउने जाली, झोला, जुत्ता, पर्स, जुहारी कोट,फाइल ब्याग र स्कुल ब्याग राखिएका थिए । 

ती सामग्री सतप्रतिशत गाँजाबाट मात्रै उत्पादन भएको उनको भनाइ छ । उनी भन्छिन्, ‘गाँजाबाट उत्पादित सामाग्री २ देखि ५ वर्षसम्म टिकाउ हुन्छ ।’ उनले उत्पादन गरेका सामान १५० देखि ६ हजारसम्मका छन् ।

माओवादीको सशस्त्र द्वन्द्वको समयमा रोल्पाबाट विस्थापित भएर उनको परिवार दाङ बसाइसराइ गरेर आयो । यसका कच्चा पदार्थ रोल्पाबाट आउँछ । प्रेमकुमारीको परिवारले रोल्पा हुँदै देखि अल्लोका सामग्री उत्पादन गर्दै आएको थियो । 

सुरुमा परिवारबाट काम थाले पनि यसको व्यवसाय राम्रो हुँदै गएपछि उनले पार्टनरसिप गरेरै अहिले व्यवसाय विस्तार गरेकी छन्  । सुरुमा साढे दुई लाख रुपैयाँ लगानी गरेको व्यवसायबाट अहिले करोडमाथिको आम्दानी गर्न सफल भएको उनले बताइन् । 

रोल्पामा अल्लो निर्मित सामग्री धेरै प्रचलनमा छ । बाल्यकालदेखि आफूले यसैबाट निर्मित सामान प्रयोग गर्दै आएकाले यसको व्यवसायमा उनलाई रुचि बढ्दै गएको प्रेमकुमारी बताउँछिन् । ‘गाउँमा सिरक, डसना पाउँदैनथ्यो । अल्लोबाट बनेकै सामान प्रयोग हुन्थ्यो ।’ तर अहिले बजारमा पाउने सिरक डसनाले यसलाई विस्थापित गरेको उनको गुनासो छ । 

सरकारले पनि स्वदेशी सामाग्रीलाई प्रवर्द्धन गर्न कुनै सहयोग नगरेको बताउँछिन् । ‘कहिलेकाहीँ जिल्ला जाँदा नेताहरूले फोटो खिचाउन मात्रै यसबाट बनेका लुगा लगाउने गर्छन् । त्यति मात्रैले व्यवसायलाई पुग्दैन’ उनले थपिन् ।  

अल्लो निर्मित फाइबरयुक्त लत्ताकपडा हिउँ परेको समयमा पनि भुइँमा एकसरो ओच्छ्याएर सुत्दा पनि चिसो नलाग्ने उनी सुनाउँछिन् । ‘भेडाको उनबाट कम्बल र अल्लोको कपडालाई धागो काटेर कपडा बुनेर बिस्तरा बनाउने, बच्चाबच्ची बोक्ने तन्ना बनाइन्छ ।’ यो धेरै न्यानो हुन्छ, उनले भनिन् ।आफ्नो पालामा सबै स्कुलमा गाँजाबाटै बनेका कपडाको ड्रेस हुने उनी बताउँछिन् । 

प्रेमकुमारीको उद्योगमा निर्मित कपडा देश विदेश पुगेका छन् । दाङमा रहेको उद्योगलाई काठमाडौंमा विस्तार गर्ने योजना रहेको छ । अर्को वर्षदेखि सिलाइ मेसिन नै राखेर काम गर्ने योजना उनको छ । 

त्यस्तै, मकवानपुरको थाहा नगरपालिका राजकुमार पन्थ पनि एक स्टलमा ठेकीको प्रवर्द्धन गर्दै गरिरहेको अवस्थामा भेटिए । उनले प्लास्टिक तथा आलमुनियमबाट बनेका ठेकीले काठबाट बनेका रैथाने ठेकीलाई विस्थापित गरेको बताउँछन् । उनी भन्छन्, ‘पुर्खाहरूले प्रयोग गर्दै आएको ठेकी अहिले लोप हुने अवस्थामा छ ।’ ‘गाउँमा आधुनिक सामान पुग्यो । भन्ने बित्तिकै बजारमा गएर त्यो किन्न पनि सजिलो हुन्छ । तर काठले हातबाट बनाउनु पर्ने ठेकी भन्ने बित्तिकै बजारमा उपलब्ध हुँदैन ।’

गाउँमा भन्दा शहरमा ठेकीको माग बढिरहेको उनको भनाइ छ । गाइवस्तु नै नपाल्नेहरूले पनि शहरमा घर सजावटको लागि राख्ने चलन बढेको छ । यति बहुउपयोगी सामान लोप हुने अवस्थामा पुगेको छ । थाहा नगरपालिका यसको संरक्षणमा जुटेको छ । स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने आफ्नो उद्देश्य रहेको उनले बताए । 

पुर्खाहरूले बनाएको काठको ठेकी स्वास्थ्यको हिसाबले पनि प्लाष्टिकबाट बनेको सामानभन्दा उपयोगी हुने पन्थ दावी गर्छन । भन्छन्, ‘प्लाष्टिकका भाँडामा भन्दा काठको ठेकीमा दही राम्रो बन्छ । मही पनि यसमा पारेको स्वादिष्ट हुन्छ । तर सहज र सस्तो खोज्ने बानीले हामीले आफ्नो स्वास्थ्यको ख्याल राख्न छोड्यौँ ।’ पुर्खाहरूले प्रयोग गर्ने सामान यसै निर्माण नभएको उनले बताए ।

यो ठेकी दारको काठबाट बन्छ । यो काठ मकवानपुरमै उपलब्ध हुन्छ । मकवानपुरको दारको ठेकी नेपालभरि नै निकै प्रख्यात रहेको उनले बताए । ‘माग अनुसार उत्पादन गर्न सकिएको छैन । त्यो जनशक्ति बढाएर बजारको माग आपूर्ति गर्ने उनको लक्ष्य रहेको छ ।’ 

उनको स्टलमा सानादेखि ठूला ठेकी उपलब्ध छन् । उनीसँग २ हजार देखि ८ हजार रुपैयाँसम्मका छन् । तीन पाथीकोलाई आठ हजार पर्छ । 

अर्का हस्तकला व्यापारी भक्तपुरका गंगाबहादुर सिल्पकारले काठबाट निर्मित काँइयोको उपयोगिता सुनाइरहेका थिए । बजारमा उपलब्ध काँइयोले कपाल झर्ने र टुक्रिने हुन्छ । तर काठबाट बनेको काइँयोले कपाल कोर्दा धेरै झर्ने र नटुक्रिने उनले बताए । उनी भन्छन्, ‘काठको काँइयो निकै पुरानो हो । यो प्लाष्टिकबाट बनेको भन्दा राम्रो हुन्छ ।’

काठको काँइयो नेपालमा लोप भएर गइसकेको थियो । तर, चीनमा अझै पनि धेरै मानिसले काठको काँइयो प्रयोग गरेको उनले इन्टरनेटमा देखेर यसको प्रवर्द्धनमा जुटेको उनी सुनाउँछन् । ‘चिनियाँहरू स्थानीय तथा प्राचीन वस्तुलाई असाध्यै महत्व दिन्छन् ।’ बजारमा अत्यन्त माग हुने रहेछ र त्यही अनुसार व्यवसायीले उत्पादन गर्ने रहेछन् । त्यसको व्यवसाय पनि निकै राम्रो भएको उनले खबरहबसंग सुनाए ।

नेपालमा पनि धेरै पहिले काठकै काँइयो प्रयोग हुन्थ्यो । तर, बजारमा प्लाष्टिकका काँइयो आएपछि यो लोप भएर गयो । तर पनि नेपालमा किन यसको उत्पादन नगर्ने भनेर आफू जुटेको बताउँछन्,  ‘हाम्रो पुर्खौली काम नै काठको काम हो । मेरो  हजुरबुवाको पालादेखि नै काठबाट विभिन्न सामाग्री बनाउने व्यवसाय गर्दै आएका छौं।’ तर काठको काँइयो उनी आफैले सुरु गरेको बताए । 

काँइयो चाहिँ काठकै प्रयोग गर्नुपर्ने उनको भनाइ छ । उनले काँइयो बनाउन थालेको चार वर्ष भयो । सिसौं र लाकुरे भन्ने काठको प्रयोग हुन्छ । फुस्रो सिसाैँ हो , सेतो लाकुरे हो । यो काठ भक्तपुरकै मिलहरुमा किन्न पाइन्छ । उनको परिवारसहित सामानको फिनिसिङको लागि केही सहयोगी पनि राखेका छन् । 

केहीलाई रोजगारसमेत दिन सकिएको छ, भन्दै उनी आफ्नो पेशाप्रति पूर्णरुपमा सन्तुष्ट भएको सुनाउँछन् । ‘बुवाआमाहरुले गरेको देखेरै हस्तकला सिकियो । यो हेर्दाहेर्दै पनि सिकिन्छ ।’ उनीहरुले आफ्नो सामान बेलायतमा समेत निर्यात गरेका छन् । क्रिसमसका लागि मात्रै १५ सय पिस काँइयो पठाइएको उनले बताए । ‘काँइयो मात्रै वार्षिक ७ लाख रुपैयाँ बराबरको कारोबार हुन्छ ।’अन्य देशमा निर्यात गर्ने वातावरण मिलाउँदै गरेको उनले सुनाए ।