समाचार

नगरपालिकाद्वारा नगर योजना आयोगमा सल्लाहकार चयन 

By खबरहब

February 21, 2023

दमौली– व्यास नगरपालिकाले नगर योजना आयोगमा सल्लाहकार चयन गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सोमबार बसेको नियमित बैठकले नगर योजना आयोग ऐन, २०७९ अनुसार विभिन्न व्यक्तिलाई सल्लाहकारमा मनोनित गरेको हो ।

सल्लाहकार समितिमा व्यास-१ का हरिसिं गुरुङ, व्यास-२ का मोहनकुमार विश्वकर्मा, व्यास-३ का पुष्परमण वाग्ले, सूर्यनारायण श्रेष्ठ, व्यास-५ का रघुराज काफ्ले, व्यास-६ का डा शेषरमण न्यौपाने, व्यास-९ का उषा पोख्रेल, व्यास-११ का तिलु थापा, राजेन्द्र अधिकारी र थमबहादुर दरैलाई मनोनित गरिएको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए।

यसैगरी नगरपालिकाले पूर्व एवं निवर्तमान जनप्रतिनिधिहरू सम्मिलित परामर्श समितिसमेत गठन गरेको छ । समितिको संयोजकमा तत्कालीन संविधानसभा सदस्य रामचन्द्र पोख्रेल रहनुभएको छ भने सदस्यहरूमा संविधानसभा सदस्य एवं पूर्वनगरप्रमुख ध्रुव वाग्ले, निवर्तमान प्रदेशसभा सदस्यहरू, जिल्ला समन्वय समितिका प्रमुख, नगरपालिकाका पूर्वप्रमुख एवं उपप्रमुखहरू, निवर्तमान वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरू रहेका छन् ।

नगरपालिकाले व्यास नगर प्रज्ञा प्रतिष्ठान ऐन, २०७९ अनुसार प्रज्ञा परिषद् सदस्यका लागि १५ दिने सूचना आह्वान गर्ने निर्णय गरेको छ । बैठकले व्यास-८ को वडा कार्यालय परिसरभित्रको जमिन विभिन्न व्यक्तिको नाउँमा भएकाले कानुनबमोजिम अधिग्रहण प्रक्रिया अगाडि बढाउने र वडा कार्यालयको नयाँ भवन निर्माण गर्ने निर्णय गरेको छ । 

त्यस्तै आगामी फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसका दिन व्यास गुफाबाट तनहुँसुरसम्म महिला हाफ खुला म्याराथन गर्न उपप्रमुख इन्दिरा दरैको संयोजकत्वमा आयोजक समिति गठन गर्ने निर्णय गरिएको छ । 

नगरपालिकाले नगरस्तरीय खेलकुद विकास समिति गठन गरेको छ । व्यास नगर खेलकुद विकास ऐन, २०७८ को दफा ३ अनुसार व्यास-९ का अध्यक्ष सुरेश थापाको अध्यक्षतामा समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा सुशीला दुरा र सदस्यमा जीवन गुरुङ, सुरेश वाग्ले, कमला बिक, कृष्ण पुन, इन्द्र गुरुङ, सानुमाया श्रेष्ठ, चोकबहादुर थापा, मदन वाग्ले र शरण घर्ती रहेका छन् ।