फाइल तस्वीर

राजनीति

‘राजनीतिमा किसुनजीजस्ता निष्ठावान् नेताको खाँचो छ’

By खबरहब

February 21, 2023

काठमाडौँ- नेपालको प्रजातान्त्रिक आन्दोलनमा कृष्णप्रसाद भट्टराई किसुनजीले पुर्‍याएको योगदान अविस्मरणीय रहेको बुद्धिजीवीहरुले बताएका छन् । स्व. कृष्णप्रसाद भट्टराई किसुनजी प्रतिष्ठानले ७३औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको विचार गोष्ठी एवम् सम्मान कार्यक्रममा स्वामी आनन्द अरुण र संस्कृतिविद डा. जगमान गुरुङले किसुनजीको व्यक्तित्व सरल, सादगी र निष्ठायुक्त रहेको चर्चा गरे ।

वरिष्ठ पत्रकार युवराज घिमिरेले नेपालको राजनीतिमा किसुनजी जस्ता निष्ठावान् नेताको खाँचो रहेको औँल्याए । कार्यक्रममा बागमती प्रदेशसभाका पूर्व सदस्य नरोत्तम वैद्यले किसुनजीले सदाचारी राजनीतिज्ञको परिचय बनाएको बताए ।

सो अवसरमा प्रतिष्ठानका अध्यक्ष एवम् नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले पार्टी सभापतिजस्तो पदमा हुँदासमेत दुईवटा खल्तीको प्रयोग गरी किसुनजीले व्यक्तिगत कामका लागि आफ्नै खर्च र पार्टीको कामका निम्ति मात्र पार्टीको कोष खर्च गर्ने गरेको घटना स्मरण गरे ।

कार्यक्रममा जिउँदो सहिदका रूपमा मुकेश कायस्थको परिवारलाई सम्मान गरिएको थियो । सहिदका रूपमा भीमबहादुर तामाङको परिवारलाई सम्मान पत्र प्रदान गरिएको थियो ।