देश/प्रदेश

राष्ट्रपति भण्डारीद्वारा हेटौँडा अस्पतालको नवनिर्मित भवन उद्घाटन

By खबरहब

February 21, 2023

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालको नवनिर्मित भवनको आज उद्घाटन गरेकी छिन् । आज आयोजित समारोहमा उनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको उक्त भवन उद्घाटन गरेकी हुन् ।

७० शय्या क्षमता रहेको सो भवन ४३ करोड रुपैयाँको लागतमा निर्माण भएको हो । अस्पतालको नवनिर्मित भवनबाट आजैदेखि स्वास्थ्य सेवा सुरु भइसकेको छ । मकवानपुरको हेटौँडामा रहेको यो मुलकुकै पुरानो अस्पतालमध्ये पर्छ । नयाँ र पुरानो गरी उक्त अस्पतालको बिरामी भर्ना क्षमता हाल दुई सय शय्या पुगेको छ ।

सो अस्पतालमा हाल ३८ विशेषज्ञ चिकित्सक, ५० मेडिकल अधिकृत, स्वास्थ्यकर्मी तथा कर्मचारीसहित तीन सय ८७ जना कार्यरत रहेको बताइएको छ । हाल अस्पतालमा २४सै घण्टा सिटी स्क्यान, सघन उपचार कक्ष र प्याथोलोजी सेवा उपलब्ध छ । अस्पतालमा एमआरआई, बालबालिकाका लागि एनआईसीयु सेवा उपलब्ध छ भने पिआईसीयु सेवा थप गर्ने तयारी भइरहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा हेटौँडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँले जानकारी दिए ।

नयाँ भवन निमार्णसँगै हेटौँडा अस्पतालले आफ्नो सेवा र जनशक्ति थप गरी गुणस्तरीय उपचार दिने उनले बताए । अस्पतालबाट हाल दैनिक सात सय ५० जनाले बहिरङ्ग सेवा प्राप्त गरिरहेका अस्पताल व्यवस्थापनले जनाएको छ ।