देश/प्रदेश

बङ्गलादेशको राजदूतावासद्वारा कला कार्यशाला आयोजना

By खबरहब

February 21, 2023

काठमाडौँ- अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपालस्थित बङ्गलादेशको राजदूतावासले कला कार्यशाला आयोजना गरेको छ ।

दूतावासमा आज आयोजित कार्यशालाको उद्घाटनमा बङ्गलादेशी राजदूत सलाहुद्दिन नोमन चौधरीले आफ्नो देशको इतिहास बारेमा अवगत गराउँदै यो दिवसको उद्येश्य सबै भाषाहरूको संरक्षणलाई महत्व दिनु रहेको बताए । ‘भाषा र संस्कृतिको माया’ मुख्य उद्देश्यसहितको कार्यशालामा उनले यो विषय राष्ट्रियतासँग जोडिएको उल्लेख गरे ।

यो दिवस संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन युनेस्कोद्वारा सन् १९९९ मा बङ्गालीहरूले बङ्गलालाई आफ्नो राज्य भाषाका रूपमा स्थापित गर्न गरेको बलिदानको मान्यतामा चयन गरिएको थियो । विश्वका धेरै भाषाहरू अहिले लोप हुने खतरामा रहेको उल्लेख गर्दै राजदूत चौधरीले संरक्षणका लागि सबै सजग हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति किरण मानन्धर, पूर्वप्राज्ञ सुष्मा राजभण्डारी लगायतले देशका लागि भाषिक र सांस्कृतिक कार्यक्रमको महत्व हुने उल्लेख गर्दै नेपाल–बङ्गलादेशबीचको सम्बन्धका विभिन्न आयामका बारेमा चर्चा गरेका थिए । दूतावासको मुख्य आयोजना र आर्टबुमको सहकार्यमा सञ्चालित एकदिने कार्यशालामा करिब ४० कलाकारले विभिन्न चित्र बनाएका थिए । सो अवसरमा नेपाल–बङ्गलादेशबीचको सम्बन्ध जोड्ने वृत्तचित्र प्रदर्शन गरिएको थियो । (((