राजनीति

किराँत याक्थुङ चुम्लुङको २४औँ राष्ट्रिय बैठक सम्पन्न

By खबरहब

February 21, 2023

काठमाडौँ- किराँत याक्थुङ चुम्लुङको २४औँ राष्ट्रिय चुम्लुङ बैठक २५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । चुम्लुङको बैठक यही फागुन ७ र ८ गते भरतपुरमा भएको थियो ।

चुम्लुङका सङ्घीय अध्यक्ष प्रेम येक्तेन लिम्बूको अध्यक्षतामा सम्पन्न बैठकले पवित्रस्थल पाथीभरको पुरानो नाम मुक्कुम्लुङ राख्न माग गरेको छ ।

प्रदेश नं १ मा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागू गर्न, निर्माण भएको मस्यौदा विधेयकलाई प्रदेश सरकारले अविलम्ब पारित र कार्यान्वयन गर्नुपर्ने, नेपाली भाषा सरह मातृभाषामा अध्ययन अध्यापनका लागि पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यसामग्री आदि स्रोतसाधनको व्यवस्था गर्न, शिक्षा नियमावली परिमार्जन गरी लिम्बू÷याक्थुङ आदिवासीका लागि पाठ्यक्रम पाठ्यपुस्तकमा एकरूपता ल्याउनसमेत बैठकले माग गरेको चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले जानकारी दिए ।

बैठकमा १३ जिल्लाका दुई सय ८८ जना प्रतिनिधिको सहभागिता रहेको चुम्लुङका जिल्ला अध्यक्ष जनक लिम्बूले बताए । नेपालमा लिम्बू समुदाय तीन लाख ८७ हजार तीन सय रहेको छ । चितवनमा आठ सयदेखि एक हजार बीचमा सो समुदायका जातिको बसोबास रहेको छ ।