तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

भारतीय साझेदारसँग मिलेर चिप्स र विद्युतीय गाडी उत्पादन गर्ने ताइवानी कम्पनी फक्सकनको इच्छा

By खबरहब

March 21, 2023

काठमाडौँ- ताइवानको प्रविधि कम्पनी फक्सकनले चिप्स र विद्युतीय गाडी उत्पादन गर्नका लागि भारतीय साझेदारसँग मिलेर काम गर्ने इच्छा प्रकट गरेको छ ।

अमेरिकी टेलिभिजन केबल न्युज नेटवर्क (सीएनएन) ले जनाएअनुसार फक्सकनको होन हाई प्रविधि समूहका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकारी योङ लिउले भारतको भ्रमण गरेपछि यस्तो इच्छा जाहेर गरेका हुन् ।

गत वर्ष चीनमा आपूर्ति क्षेत्रमा समस्या आएपछि फक्सकनले चीनको विकल्पका रुपमा भारतमा आफ्ना गतिविधिलाई विस्तार गर्न चाहेको बताइएको छ ।

भारतमा ठूलो जनसङ्ख्या रहेको र आफ्नो भारत भ्रमणबाट सेमिकन्डक्टर र विद्युतीय सवारीका क्षेत्रमा साझेदारी गर्ने प्रयास थप सुढृढ भएको योङ लिउको भनाइ छ ।

उनले यसका लागि भारत सरकारसँग नियमित सम्पर्कमा रहने समेत जानकारी दिएका छन् । भारतमा यस कम्पनीले तामिल नाडु र आन्ध्र प्रदेशमा कारखाना स्थापना गरेको छ भने कर्णाटकमा पनि आफ्नो कारखाना विस्तार गर्ने लक्ष्य राखेको छ ।