समाचार

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

By खबरहब

April 21, 2023

दिनभर आज एसीसी प्रिमियर कपमा ओमनमाथि नेपालको शानदार जित,सिंहदरबारको फोहोर उठाउन काठमाडौँ महानगरलाई सर्वोच्चको आदेश, बारा २ मा उपनिर्वाचनका सबै तयारी पूरा, थप १०६ जनामा कोरोना संक्रमण, एकको मृत्युलगायत समाचारले प्रमुख स्थान पाए ।

एसीसी प्रिमियर कपमा ओमनमाथि नेपालको शानदार जित

एसीसी प्रिमियर कपमा नेपालले ओमनलाई पराजित गरेको छ । कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा नेपालले ओमनलाई ८४ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो इनिङमा ३१० रनको विशाल योगफल कायम गरेको थियो । एक दिवसीय अन्तर्राष्ट्रियमा नेपालको यो सबैभन्दा उच्च योगफल हो ।

नेपालका लागि कुशल मल्लले कीर्तिमानी शतक बनाए । उनले ६४ बलमा १०८ रन बनाए । त्यसैगरी, सोमपाल कामीले ६३ रन बनाए । नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमन ४६ ओभर ३ बलमा २२६ रनमा समेटियो ।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान ३ विकेट लिए ।

सिंहदरबारको फोहोर उठाउन काठमाडौँ महानगरलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकालाई सिंहदरबारको फोहोर उठाउन आदेश दिएको छ ।

न्यायाधीश प्रकाशमान राउतको इजलासले काठमाडौं महानगरपालिकालाई सिंहदरबारको फोहोर उठाउन आदेश दिएको हो ।

सर्वोच्चले आदेश प्राप्त गरेको मितिले तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले अधिवक्ता पदम श्रेष्ठले केही दिनअघि दायर गरेको रिटमा सुनुवाई गर्दै यस्तो आदेश दिएको हो ।

बारा २ मा उपनिर्वाचनका सबै तयारी पूरा, धाँधली गर्न खोज्नेलाई सिधै गोली हान्न निर्देशन

यही वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन गइरहेको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

निर्वाचन हुने बारा क्षेत्र नं २ को सम्पूर्ण मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।

मतदान केन्द्रमा खटिसकेका कर्मचारीले मतदानलाई सहज हुने गरी आवश्यक संरचना तयार पार्ने काम सुरु गरिसकेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताए । उनका अनुसार गर्भवती, अशक्त, जेष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने र उनीहरुलाई पहिलो प्राथमिकतामा राखेर मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

उनका अनुसार शनिबार बिहानदेखि मतपत्र पठाउन सुरु गरिने र भोलि बेलुकासम्म सबै मतदान केन्द्रमा पुर्‍याइने छ । निर्वाचन आचारसंहिता पालना गराउन सुरु देखि नै कडाइ गरिए पनि छिटफुट रुपमा आचारसंहिता उल्लङ्घनका उजुरी आएको र त्यसमा आवश्यक छानविन भइरहेको मुख्य निर्वाचन अधिकृत उपाध्यायको भनाइ छ ।

यस्तै बाराको कलैयास्थित शैक्षिक तालिम केन्द्रमा मतगणनास्थल तय गरिएको र मतगणनास्थलमा आवश्यक तयारी भइरहेको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार बारा क्षेत्र नं २ मा एक हजार छ सय ८८ नेपाल प्रहरी, छ सय पाँच सशस्त्र प्रहरी र तीन सय नेपाली सेनालाई निर्वाचनमा परिचालन गरिएको छ । कसैले मतपेटिका चलाउन र धाँधली गर्न खोजेको अवस्थामा त्यस्ता व्यक्तिलाई सिधै गोली हान्न सक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन दिइएको प्रजिअ सापकोटाले बताए ।

निर्वाचनका समयमा जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको पासबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशसान कार्यालयबाट पास लिएको भए पनि त्यसको दुरुपयोग भएको पाइएमा कानून बमोजिम त्यस्तालाई कारवाहीसमेत गरिने प्रजिअ सापकोटाको भनाइ छ ।

सो निर्वाचन क्षेत्रका ८२ मतदान स्थलमा एक सय ३८ मतदान केन्द्र तोकिएको छ । त्यसमध्ये ६५ मतदानस्थल अतिसंवेदनशिल र १७ सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्वाचनलाई दृष्टिगत गरी आजदेखि तीन दिन भारतीय सीमा नाकामा आवतजावत बन्द गरिएको छ ।

वैशाख १० गते राति १२ बजे भारतीय सिमाना बन्द रहने प्रजिअ सापकोटाले बताए । महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाँउपालिकाका ४४ वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी मैदानमा छन् ।

निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी कुनै कानुन बनाउँदैनौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी वा उद्योग-व्यवसायलाई नकारात्मक प्रभाव पर्नेगरि कुनै कानुन नबनाउने बताए । शुक्रबार दिउँसो नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूसँग बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । भेटमा प्रधानमन्त्रीले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाइसमेत दिए ।

भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायराभित्र राख्ने गरी विधेयकको प्रक्रिया अगाडि बढेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

सो क्रममा अध्यक्ष ढकालले निजी क्षेत्रलाई पनि मर्यादाक्रममा समावेश गर्न, नेपाल राष्ट्र बैंकको मौद्रिक नीति सरलीकृत गर्न, पुँजीगत खर्च बढाउनका लागि नीतिगत र संरचनागत सुधार ल्याउन, राष्ट्रिय उद्योग र निर्यात प्रर्वद्धनमा जोड दिने नीति ल्याउन र निजी क्षेत्रसँगको सहकार्यका आधारमा अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

भेटमा प्रधानमन्त्रीले नेपालको संविधानले राज्यको तर्फबाट निजी क्षेत्र र व्यवसायलाई प्रवर्द्धन गर्ने व्यवस्था गरेको भन्दै अर्थतन्त्रमा संकट आएको बेला निजी क्षेत्र संकुचित हुने वा नकारात्मक प्रभाव पर्नेगरि कुनै पनि कानुन नबनाउने बताए ।

प्रधानमन्त्रीले भने, ‘हाम्रो संविधानले निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने व्यवस्था गरेको छ। अर्थतन्त्र संकटमुक्त भइसकेको छैन। यस्तो परिस्थिति सरकार र निजी क्षेत्रबिच बलियो सहकार्य र एक–अर्काको हितलाई सम्बोधन गरेर मात्र अर्थतन्त्रका चुनौती छिचोल्न सकिन्छ। निजी क्षेत्रलाई बेवास्ता गरेर वा नियन्त्रण गरेर राष्ट्रिय चुनौती सम्बोधन गर्न सकिँदैन भन्नेमा म एकदमै स्पष्ट छ’।

‘निजी क्षेत्रलाई बन्देज लगाउने वा नकारात्मक प्रभाव पार्नेगरि कुनै पनि कानुन बनाउँदैनौँ।’ निजी क्षेत्रलाई समेत राज्यको मर्यादाक्रममा समावेश गर्नेगरी सरकारले छलफल अगाडि बढाएको प्रधानमन्त्रीले स्पष्ट पारे । उनले भने, ‘मैले तपाईहरूको साधारणसभामा नै भनिसकेको छु ‘निजी क्षेत्रलाई पनि मर्यादाक्रममा समेटिन्छ ।’ निजी क्षेत्रलाई मर्यादाक्रममा समेट्न कुनै अप्ठ्यारो छैन। मर्यादाक्रम निर्धारण कसरी गर्ने भन्ने विषयमा मात्र हाम्रो ध्यान छ।’

भेटमा प्रधानमन्त्रीले भर्खरै सम्पन्न साधारणसभाबाट कुशल नेतृत्व आएको र नयाँ कार्यसमितिले अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न सरकारसँग बलियो सहकार्य गर्ने विश्वाससमेत व्यक्त गरे । ‘तपाईहरूले राम्रो नेतृत्व छान्नुभएको छ। नयाँ नेतृत्वले सरकार र अन्य क्षेत्रसँग बलियो सहकार्य गर्नेछ। हामी सबै मिलेर अर्थतन्त्रका चुनौतीहरू छिचोल्दै सुशासन र समृद्धिको लक्ष्य हासिल गर्नेछौँ’ प्रधानमन्त्रीले भने ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र रुसी तल्लो सदन डुमाका अध्यक्ष भोलोडिनबीच भेटवार्ता

रुसको भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसी तल्लो सदन डुमाका अध्यक्ष व्याचेस्लाभ भोलोडिनबीच भेटवार्ता भएको छ ।

रुसी उपल्लो सदनको निमन्त्रणामा रुसको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिना र डुमाका अध्यक्ष भोलोडिनबीच आज भेटवार्ता भएको हो ।

भेटवार्तामा उनीहरूबीच दुई देशबीच अन्तर–संसदीय सहयोगलाई प्रवर्द्धन गर्ने तथा प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गरी सांसद, समिति, आयोग र कार्यालयबीच निकट अन्तक्र्रियामार्फत अन्तर–संसदीय सम्बन्धलाई सुदृढ गर्ने विषयमा छलफल भएको अध्यक्षको सचिवालयले जनाएको छ ।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले दुई देशको बीचमा विश्वासको वातावरण बढाउन तथा आपसी सहयोग अभिवृद्धि गर्न भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले अन्तर–संसदीय सहयोग बढाउँदै नेपालमा मलखाद तथा गहुँको निर्यात गर्नका लागि रुसले देखाएको रुचिप्रति कृतज्ञता ज्ञापन पनि गरे । उनले नेपालले अन्तर्राष्ट्रिय मामिलामा स्वतन्त्र दृष्टिकोण अवलम्बन गर्दै आएको स्पष्ट पारेका थिए ।

डुमाका अध्यक्ष भोलोडिनले संसदीय अनुभव आदनप्रदानका लागि यस्ता भ्रमणलाई निरन्तरता दिँदै जाने र भविष्यमा निम्तो पाएमा नेपालमा पनि रुसी प्रतिनिधिमण्डल आउन इच्छुक रहेको बताएका थिए ।

यसैगरी अध्यक्ष तिमिल्सिनाले आजै रुसका विभिन्न राजनीतिक दलका नेतृत्वसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । मस्कोस्थित अन्तर्राष्ट्रिय सम्बन्ध संस्थानका विद्यार्थीलाई सम्बोधन गर्ने र रुसमा रहेका गैरआवासीय नेपालीको कार्यक्रमसमेत सहभागी हुनेछन् ।

थप १०६ जनामा कोरोना संक्रमण, एकको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मात्रै थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ८८३ नमुनामध्‍ये ५८१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १ हजार ३०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्‍यु भएको छ ।

यस्तै कोरोना सक्रिय सङ्क्रमितको संख्या ४१४ पुगेको छ भने संस्थागत आईशोलेशनमा २५ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।

राष्ट्र बैंकद्वारा ९ वटा वाणिज्य बैंकलाई कारवाही

नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकहरूलाई कारबाही गरेको छ । राष्ट्र बैंकको नियम विपरीत काम गर्ने कुल ९ वटा वाणिज्य बैंकहरूलाई बैंक सुपरीवेक्षण विभागले कारवाही गरेको छ । जसअनुसार तोकेको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) लाई कायम नगर्दा जरिवानामा परेका छन् ।

राष्ट्र बैंकले सीडी रेसियो कायम गर्न नसकेको सेन्चुरी बैंक (हाल प्रभु बैंक)लाई २ करोड ८४ लाख रुपैयाँको जरिवाना तिराएको हो । यसैगरी, नेपाल बैंकलाई १८ लाख ५९ हजार रुपैयाँ र नबिल बैंकलाई ६ करोड ४६ लाख ४५ हजार रुपैयाँ, सीडी रेसियो कायम नगर्दा ग्लोबल आइएमई बैंक ४ करोड ४२ लाख ४६ हजार रुपैयाँ, कृषि विकास बैंक ६९ लाख ५८ हजार रुपैयाँ र हिमालयन बैंक ७१ लाख ७२ हजार रुपैयाँ कारवाहीमा परेका छन् ।

राष्ट्र बैंकका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन निर्देशन उल्लंघन गरेको राष्ट्रिय वाणिज्य बैंकलाई १० लाख रुपैयाँ नगद जरिवाना गरिएको हो ।

त्रिविले एक साता पछि सार्‍यो स्नातक तहको परीक्षा

त्रिभुवन विश्वविद्यालयले यही वैशाख १० गते निर्धारित स्नातक तह प्रथम वर्षको परीक्षा एक साता पछाडि सारेको छ।

यही वैशाख १० गते तीन क्षेत्रमा उपनिर्वाचन हुने भएकाले त्यो दिनको परीक्षा वैशाख १६ गतेका लागि सारिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

त्रिविले वैशाख १० गते बिहान ७ बजे व्यवस्थापन संकायको फाइनान्स र दिउँसो १२ बजे मानविकी संकायको अंग्रेजी, नेपाली, हिन्दी, नेपाल भाषा, मैथिली र संस्कृतको परीक्षा तोकेको थियो ।

सारिएका परीक्षा यसअघि तोकिएकै समय र सेन्टरमा सन्चालन हुने कार्यालयले जनाएको छ। तनहुँ १, चितवन २ र बारा २ निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ ।

सेनामा जागिर खुल्यो, एकै पटक ४५ सय आवेदन माग

लामो समय पछि नेपाली सेनामा जागिर खुलेको छ । नेपाली सेनाले आज गरेको बिज्ञापन अनुसार चार हजार पाँच सय जनाका लागि जागिर खुलाएको हो ।

जसअनुसार सैनिक परिवारका लागि २ सय २५ जनालाई आरक्षण दिइएको छ भने खुल्लातर्फ २ हजार दुई हजार ३ सय ५१ जनाको माग गरिएको छ ।

भर्ना छनौट निर्देशनालय कार्यरथी बिभाग, जंगी अडडाका अनुसार महिला कोटामा ३ सय ९०, आदिवासी जनजाति कोटामा ६ सय १७, मधेशी कोटामा ५ सय ४०, दलित कोटामा २ सय ८७ र पिछडिएको क्षेत्रबाट ९० संख्यामा आरक्षण छुटाएर नेपाली सेनाले जागिर खुलाएको हो ।

सुचना अनुसार आवेदकले अनलाइनमार्फत फारम भर्न सक्ने र त्यसको हार्ड कपी बोकेर सबन्धित छनौट स्थलमा बुझाउनु पर्ने नेपाली सेनाले जनाएको छ ।

सेनाले १८ वर्ष पूरा भई २२ वर्ष ननाघेकाले मात्र फारम भर्न मिल्ने ब्यवस्था गरेको छ भने बहालवाला सैनिकको हकमा भने उमेरको हदबन्दी २६ बर्ष राखिएको छ ।

फाराम भर्ने अन्तिम मिति जेठ १४ गते तोकिएको भर्ना छनौट निर्देशनालय कार्यरथी बिभाग, जंगी अडडाले जनाएको छ ।

अनुगमन टोली खटाउँदै निर्वाचन आयोगको ५ बुँदे निर्देशन

वैशाख १० गते सम्पन्न हुन गइरहेको उपनिर्वाचनका लागि निर्वाचन आयोगले अनुगमन विशेष टोली खटाएको छ ।

आजबाट लागू भएको मौन अवधिमा हुन सक्ने आचारसंहिता विपरीतको कार्य बुझ्‍नका लागि विशेष टोली खटाएको हो ।

प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिसकेका समेत जनाएको छ ।

आयोगले पाँच बुँदे निर्देशन गरी मौन समयमा प्रचार प्रसार गरेको तथा मतदातालाई प्रभावित पार्न रकम बाँडेको भेटिएमा कारबाहीसमेत गर्ने उल्लेख गरेको छ ।