सांकेतिक तस्बिर

प्रवास

पोर्चुगलमा सुतेकै अवस्थामा नेपाली युवाको मृत्यु

By खबरहब

May 21, 2023

लिस्बन – वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ। बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो।

साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए। बिहीबार राति कामबाट आएर सुतेका उनी शुक्रबार बिहान ओछ्यानमै मृतावस्थामा भेटिएको अध्यक्ष अधिकारीले बताए।

साराङकोटी पोर्तीमाउस्थित एक होटलमा कार्यरत थिए। विगत आठ वर्षदेखि घर नगएका उनी रोजगारीकै सिलसिलामा दुबई–माल्टा हँुदै आठ महिनाअघि पोर्चुगल आएका थिए। उनको शव पोर्तीमाउस्थित अस्पतालको शवगृहमा राखिएको छ।

परिवारको आग्रहमा उनको शव नेपाल पठाउनका लागि आवश्यक तयारी भइरहेको अध्यक्ष अधिकारीले बताए। उनले शव पठाउनका लागि आर्थिक सङ्कलन सुरु गरिएको बताउँदै सो कार्यमा सहयोग गर्न पोर्चुगलमा रहेका नेपाली समुदायसँग विशेष आग्रहसमेत गरेका छन्।