अन्तर्राष्ट्रिय

इटाली पठाइदिने भनी लिबिया पुर्‍याइएका सत्र भारतीय युवा स्वदेश फिर्ता

By खबरहब

August 21, 2023

नयाँदिल्ली– ट्युनिसियास्थित भारतीय दूतावासले लिबियामा थुनामा रहेका पञ्जाब र हरियाणाका १७ जना भारतीयलाई सकुशल स्वदेश फर्काएको जनाएको छ । 

ट्युनिसियास्थित भारतीय दूतावासले आफ्नो सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत दिइएको जानकारीमा भनिएको छ, ‘लिबियास्थित भारतीय दूतावासले पञ्जाब र हरियाणाका १७ जना भारतीय नागरिकलाई आइतबार सकुशल स्वदेश फर्काएको छ ।

२० अगस्ट २०२३ मा गल्फ एयरको उडानबाट उनीहरू २०ः३० बजे सकुशल भारत पुगेका थिए । आम आदमी पार्टी (आप) का राज्यसभा सांसद विक्रमजीत सिंह साहनीले गत महिना त्रिपोली जेलबाट रिहा भएपछि पञ्जाब र हरियाणाका १७ जना युवालाई लिबियाबाट स्वदेश फर्काउन पहल गरेका थिए। 

ट्राभल एजेन्टले इटाली पठाइदिने भन्दै ठगी गरेका कारण उनीहरु विगत छ महिनादेखि लिबियामा थिए ।

सामाजिक सञ्जाल एक्समा विक्रमजीत सिंह साहनीले पञ्जाबका मुख्यमन्त्री भगवन्त मान र हरियाणाका मुख्यमन्त्री मनोहर लाललाई इटाली जाने योजना बनाएका तर लिबिया पठाइएका यी युवाहरूलाई ठग्ने एजेन्टहरूविरुद्ध तत्काल कारबाही गर्न आग्रह गरेका छन् ।